• शनिबार-बैशाख-८-२०८१

 तपाइँलाई देशकाे दुरावस्थाले पाेल्छ भने अब यसाे गराैं  

हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको विकल्प छैन

 


एउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मूर्खता हुन्छ। जब राज्य कमजाेर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तराष्ट्रिय साख गुमाउँछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भयग्रस्त हुन्छ। हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने "दुईसय वर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ।" अब अन्डाले ढुङ्गा होइन फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ। 

 

१. सन १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो। हामीले जमिन गुमायौं। त्यसपछि  हाम्रा नागरिकहरुलाई उपनिवेशी शासकले दास झैँ उसकाे सेनामा प्रयोग परम्परा थोपर्यो। राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो। बृटिस उपनिवेशीले नेपालको राजनीतिलाई फोहोर बनाइदियो। तर, हाम्रा नेता र कर्मचारी बेलायतसङ्ग दुईसय वर्षको इतिहास छ भन्छ्न् । अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कूटनीतिको साँघु भन्ने गर्छन्।

 

नेपालीलाई  आमू अपमानित भएको भान पनि छैन । सन् १९४७मा भारत स्वतन्त्र भयो, तर उसले गर्ने व्यवहार  उपनिवेशको भन्दा फरक थिएन। वीपी काेइरालालाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रिका कोइराला दिल्ली पुगेको इतिहास हामीसङ्ग छ। स्वाभिमान हामीले बेच्यौं। 


 क्युवामाथि अमेरिकाले के के मात्र अत्याचार गरेन। तर, क्युवालीले शिर पनि झुकाएनन, स्वाभिमान पनि बेचनन्। उनीहरुले आफूलाई उन्नत बनाए। शिक्षालाई आधुनिक बनाए। विज्ञानलाई उन्नत बनाए। नागरिकले देशको अस्तित्वलाईनै आफ्नो अस्तित्व बनाए। क्युवालाई अमरिकाले दमन गर्न सकेन। क्युवाको जस्तो कठिन अवस्था हाम्रो होइन। तर, हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए।

 

२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन हिले पनि कुद्छन् । ऊसङ्ग ५० तर्क छ्न् आफ्नो गलत काम पुष्टि गर्ने तर आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सीप सिक्ने जाँगर छैन। लाहुरे संस्कृति राष्ट्रकाे अपमानका रुपमा हुर्केको छ। जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न अरुले हेप्छन। त्यसैले भारतले हाम्रो भूमिमा आफूखुसी बल पाएकाे छ। 

 

३. देशका वकिल विदेशीको गुलामी गर्छ्न, विदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार हुन्छन् । उनीहरु विदेशीका लागि जासुसीगर्ने संस्थालाई सहयोग गर्छन्। हाम्राे देशका पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छ्न्। त्यस्ताका पछाडि नेता लाग्छ्न्। देशका इन्जिनियर सिमानामा पिलर राख्दा व्यक्तिगत स्वार्थमा लागेर आफ्नो भूमि त्याग्न तयार छ्न् ।

 

देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छ्न। देशका नेता आफू मन्त्री हुन विदेशीका पाउमा शिर राख्न तयार छ्न। देशका जनता चौकीदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छ्न्। यी सबै अपमानित इतिहास र राष्ट्रका मानिसका प्रवृत्ति हुन् । राष्ट्र कमजोर भए पछि यस्तै दुर्गति भाेग्नु पर्ने हुन्छ।

 

३. हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए। चीनमा आफ्नो स्वतन्त्रता लागि कतिले ज्यान दिए सबैलाई थाहा छ। किनकि उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो। हामीलाई राष्ट्रको अपमान पीडा हुँदैन,हामीलाई पीडा डिभी नपर्दा, विदेशी सेनामा भर्ती हुन नपाउदा, र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ। हामीलाई विदेशीको चाकडी गर्न औधी मन पर्छ।

 

४. हाम्रोमा केही मानिसलाई सँधै प्रधानमन्त्री हुने धोको रहन्छ। कसैलाइ त एक दर्जन पट्क प्रधानमन्त्री हुन मन छ। मसङ्ग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन् । हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छ्न् ।

 

उनीहरुलाई आफ्नो विचारको मायाँ लाग्दैन, उनीहरुलाइ घुस दिने माफियाको बढी मायाँ लाग्छ। राष्ट्रघातीहरुप्रति रिश उठ्दैन उनीहरुलाई, बरु देशलाई मायाँ गर्नेप्रति रिस उठ्छ। लुट्नेहरु आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छ्न। केही मानिस राजनीतिका नाममा छ्लकपट मात्र गर्छन् ।

 

५. देशका कानून विदेशीका लागि बन्छन्। सन्धि र संझौता विदेशीकै हितका लागि बन्छ्न्। हाम्रो दराजका कागजपत्र विदेशीले निकालेर लैजान्छन् । देशको नक्सा फेरिन्छ। विदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन, राष्ट्रको रक्षाका लागि होइन। विदेशीले मन पराएका मानिस मात्र संवैधानिक र अन्य  आयोग र  सरकारी कार्यदलमा रहन्छ्न् ।

 

त्यसैले  विदेशीले हामीलाई अपमान गरिरहन्छ्न् । उनीहरु हामीलाई राष्ट्र नै मान्दैनन् । त्यसैले हेप्ने आँट गर्छन् । हाम्रो आफनै चिज हामीसङ्ग छैन। हाम्रा कागज बृटिस म्युजियममा छ्न। हामीसङ्ग हाम्रै सन्धि हामीसँग  छैनन। हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ। हामीसङ्ग तर्क होइन गालीगलौज छ। देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ। दोग्ला मानिस विज्ञ बनाइएका छ्न।

 

हामीले अब राष्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको विकल्प छैन।


१. हाम्रो साम्राज्यवाद विरोधी इतिहासलाई हरेक व्यक्तिमा पुर्याउनु आवश्यक छ, अब । हाम्रो इतिहासको बधगर्नेहरुको खोजी हुनुपर्छ। २०० वर्ष अगाडि हामीले उपनिवेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नु पर्ने भएको छ ।

 

२. हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बदल्ने, देशघाती संझौता गर्ने, र विदेशी एजेन्सीका लागि काम गर्ने बिखारीहरुको नकाब खोल्नु पर्छ अब ।

 

३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नु पर्छ।

 

४. विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवश्यक छ।

 

हामीले हाम्रो स्वाभिमानका लागि भारतसङ्ग कुरा गर्ने हिम्मत गर्नुपर्छ। अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनु पर्छ। अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको  विकल्प छैन। हिजो पनि देश विदेशीको कठ्पुतली थियो। आज पनि कठ्पुतली छ। अब देश कठ्पुतली हुनुहुँदैन।

https://www.facebook.com/yubaraj.sangroula.7

प्रतिकृया दिनुहोस