काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण देशमा उथलपुथल भएको छ । लकडाउन भएको दुई महिना नाघिसकेको छ । दैनिकी ज्यालादारी गरेर खानेहरु भोकै परेका छन् ।सरकारले राहतका नाममा पनि करोडौं रुपैयाँ खर्च गरिसकेको छ । तर सम्बन्धित पीडितले राहत नपाएको गुनासो आइरहेको छ ।
कतिपय दैनिक ज्यालादारी गर्नेहरु राहत नपाएर भोकले छट्पटाइरहेका छन् । संघीय सरकारदेखि स्थानीय सरकारले राहत बाँडेको बाँड्यै छन् । तर सम्बन्धित पीडित केहीले पाएका छन् केहीले पाएका छैनन् ।
स्थानीय तहमा को कति पीडित छन् र कसलाई राहतको खाँचो छ भन्ने कुरा स्थानीय जनप्रतिनिधिलाई जानकारी हुनुपर्छ । तर त्यसो हुन सकेको छैन ।
मागेर खाँदा गाह्रो भयो – प्रदीप घिमिरे
सडक पाइलट प्रदीप घिमिरेलाई अहिले अप्ठेरो परेको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन लगायो । त्यसपछि २६ वर्षे दोलखाका बा ५ ख २७२ नम्बरको गाडीका चालक प्रदीपका कठिनका दिन सुरु भए ।
उनको रोजगारी ठप्प भयो । लोकल गाडी चलेनन् । उनको सोर्सफोर्स पनि थिएन । भएको भए उनले भनसुनमा यात्रु ओसार्न पाउँथे । उनी दैनिक भत्ता कमाएर खाने मानिस । अलपत्रै परे । साँघुसंग उनले भने, ‘लकडाउनपछि त मेरो कामै ठप्प भयो ।’
कसैले उनलाई काम दिएनन् । दुःखको कुरा उनी गाउँ पनि गएनन् । भक्तपुरको डेरामै बसे । भक्तपुर नगरपालिका १० ब्यासीमै अड्किए । किन गाउँ नगएको त ? भन्ने प्रश्नमा उनले भने, ‘भोलि भोलि खुल्ला छैन पर्सी खुल्ला छैन । लकडाउन लगाएको अर्को हप्ता त खुलिहाल्छ नि भनेर यतै बसियो । त्यसपछि त यतै अड्कियौं ।’
कति जनाको परिवार छ र समस्या भयो ? भन्ने प्रश्नमा उनले भने ‘चार जनाको परिवार छ । केटाकेटीहरुलाई बुझाउनै गाह्रो । मागेर कति खाने ?’ उनले स्थानीय तहबाट राहत पाएनन् । राहतका लागि जानकारी नगराएर त हैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘वडा कार्यालयमा गएका थियौं । तर खोइ दिएनन् । बोलाएनन् । अब बर्वाद छ ।’
अहिलेसम्मलाई खान पुग्यो त ? भन्ने प्रश्नमा उनले भने, ‘आफ्नो संगठन नेपाल यातायात मजदूर स्वतन्त्र संगठनले केही राहत दियो । त्यसैले चल्यो । अब चल्नेवाला छैन । दैनिक गाडी चलाएर भत्ताले गुजारा गर्ने मलाई समस्या पर्यो ।’
उनले फेरि गुनासो गरे, ‘वडा कार्यालयमा गएका हौं । केही पनि दिएन । काम गर्ने संगठनले दिएर अहिलेसम्म बाँचियो । दैनिक गाडी चलाएर खाने हामीलाई समस्या भयो । मालबाहक चले पनि हामीलाई अप्ठेरो भयो । राहत केही पनि दिएको छैन ।’
उनी निरन्तर आफ्नो गुनासो पोख्दै भने, ‘सरकारले हप्ता थप्यो खुल्ला भन्दै बस्यौं । केही समयमा खुलिहाल्छ किन घर जानु भनेर फेरि बस्यौं । अब त सारै गाह्रो भयो । सबैभन्दा बढी मागेर खाँदा गाह्रो भएको छ ।’
हातका ठेला उठाएर खानेलाई मागेर खान गाह्रो हुन्छ । तर सरकारले पटक्कै बुझेको छैन । कहीं राहतको दूरुपयोग भएका समाचार आउँछन् । तर घिमिरेले राहत नपाउँदा उनको मुख अमिलो भएको छ ।
आखिर राहत गएको छ कहाँ ? के यस्तो विपदमा पनि कार्यकर्ता र आफ्ना मान्छे मात्र हेरिएको हो त ? प्रदीपले उल्टै भन्छन्, ‘राहत नदिने भए लकडाउन खुलाइदे ।’



