• शुक्रबार-बैशाख-७-२०८१

अवैध उत्खननका कारण तमोर नदीको पुल जोखिममा


 

फिदिम, २४ वैशाख   :  लकडाउनको मौका छोपेर गरिएको अवैध उत्खननले पाँचथर–तेह्रथुम जोड्ने तमोर नदीको माझीटारस्थित पुल जोखिममा परेको छ । 

 

पक्की पुलको ५०० मिटर आसपासबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानूनी व्यवस्था भए पनि पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने माझीटारस्थित पुलको मुनि तथा आसपासबाट ठूलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरिएपछि पुल जोखिममा परेको हो । पुलका तीन वटा पिलरको आसपासबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको पाइएको छ । उत्खननले पुल जोखिममा परेपछि पाँचथरस्थित सरोकारवाला तथा सुरक्षा निकायले उत्खनन रोकेर कारवाहीको प्रक्रिया अघि बढाएका छन् ।
 


पुलको मध्यभागमा रहेको पिलरमा पानीको बहावले क्षति पु¥याएपछि गत फागुन दोस्रो साता मर्मत गरिएको थियो । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालयले मर्मतको जिम्मा एपेक्स निर्माण कम्पनीलाई दिएको थियो । यही क्षेत्रमा तमोर करिडोर सडक निर्माण गरिरहेकाले कार्यालयले उक्त कम्पनीलाई मर्मतको जिम्मा दिएको थियो । मर्मतका क्रमका शुरु भएको नदीजन्य पदार्थ उत्खननको कार्य नियन्त्रण नहुँदा पुल नै जोखिममा परेको पाइएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 

“मर्मतका क्रममा पुलको मुनिबाट केही नदीजन्य पदार्थ निकाल्नैपर्ने भएको रहेछ । तर मर्मतपछि अवैध उत्खनन गरिएपछि पुल नै जोखिममा पर्ने अवस्था आएको पाइयो”, उहाँले रासससँग भन्नुभयो, “सम्वद्ध कार्यालय तथा स्थानीय तहले नियमित रेखदेख र अनुगमन नगर्दा समस्या आएको हो ।” मङ्गलबार जिल्ला अनुगमन समितिको अगुवाइमा प्राविधिकसहित सरोकारवाला निकायका प्रतिनिधिले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । 

 

अनुगमनका क्रममा पुल जोखिममा परेको पाइएपछि मङ्गलबार नै समितिको आकस्मिक बैठक बसी कारवाहीको प्रक्रिया अघि बढाइएको समन्वय समितिका प्रमुख सापकोटाले बताउनुभयो । पुल आसपासबाटै नदीजन्य सामग्री उत्खनन भएपछि पुलको पिल्लरको धेरै भाग जमिनभन्दा बाहिर निस्किएको छ । उत्खनन नरोकिए वर्षायामको बाढीले पुल भत्कनसक्ने प्राविधिकहरुले बताएपछि अनुगमन समितिले अनुगमन तथा कारवाहीको प्रक्रिया अघि बढाएको हो ।


 
तमोर करिडोर सडक निर्माण गरिरहेको उक्त कम्पनीबाटै अवैध उत्खनन भएको समितिको निष्कर्ष छ । समितिले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिम तथा पुल मर्मतको जिम्मा पाएको एपेक्स कम्पनीलाई बुधबारदेखि जोखिममा परेको क्षेत्रलाई नदीजन्य पदार्थले पुर्न निर्देशन दिएको छ ।

 

“भविष्यमा समेत जोखिम नहुने गरी पुलको संरक्षणको कार्य अघि बढाउन निर्देशन दिइएको छ”, समन्वय समितिका प्रमुख सापकोटाले भन्नुभयो, “यसपटक सचेत गराइ पुलको संरक्षण गर्न लगाउने र भविष्यमा यस प्रकारका गल्ती दोहो¥याए कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।” लोकमार्ग आयोजना कार्यालयले उक्त कम्पनीलाई पुल मर्मतको जिम्मा दिएको बताए पनि अवैध उत्खनन गर्नेको यथेष्ट प्रमाण नरहेकाले कारवाहीको प्रक्रिया अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । 

 

अवैध उत्खनन्को कार्यमा नदी छेउका जग्गाधनी, स्थानीय तह, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालयसमेतको संलग्नताको आशङ्का गरिएको छ । माझीटारका स्थानीयवासी कुमार तामाङले भन्नुभयो, “पुलकै आसपासबाट दैनिकजसो नदीजन्य सामग्री उठाइन्छ । हामीले सोधिखोजी गर्दा प्रक्रिया मिलाएको बताइन्छ । तर पुल भने जोखिममा परिसकेको छ ।” लकडाउनमा सबै सरकारी निकायको ध्यान कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा गएका बेला अवैध उत्खनन गरिएको हो । उक्त पुलदेखि करिब २०० मिटर माथिसम्म नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । उत्खनन गरिएको केही सामग्री नदी किनारमा रहे पनि अधिकांश सामग्री बाहिर भण्डारण गरिएको स्थानीयवासीको भनाइ छ ।


 
पक्की पुलको ५०० मिटर तलमाथिबाट नदीजन्य सामग्री उत्खनन गर्न नहुने, नदीजन्य सामग्रीको भण्डारण गर्न तथा सवारीमा लोड–अनलोड गर्न नहुने कानूनी व्यवस्था छ । तर पाँचथरको फिदिम नगरपालिका तथा तेह्रथुमको आठराइ गाउँपालिकाको सीमामा पर्ने यो पुलको आसपासबाट विगत तीन वर्षदेखि अवैध उत्खनन तथा भण्डारण जारी छ । गत वर्ष अनुगमन समितिको निरन्तरको अनुगमनका बाबजुद पनि नदीको भङ्गालो नै बदलेर नदीजन्य सामग्री उत्खनन भएको थियो । यस वर्ष पुलसँगै नदीजन्य सामग्रीको भण्डारण गरिएको छ । यसपटक मर्मतको नाममा पुलको मुनि तथा पुलभन्दा करिब २०० मिटर माथिसम्मको क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस