• शुक्रबार-चैत-१६-२०८०

एक लाख बढीलाई काठमाडौं महानगरको खाना

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदूर गरेर एक लाख बढीलाई खाना खुवाएको छ भने ८१ हजार बढीलाई राहत वितरण गरेको छ । ‘लकडाउन’ भएको दोस्रो साताबाट राहत सामग्री वितरण र खाना खुवाउने कार्य महानगरले लकडाउन अवधिभर निरन्तरता दिने भएको छ ।  

 

    लक्षित वर्गलाई महानगरले आफ्नै स्रोत र केही विभिन्न सहयोगी सङ्घसंस्थाको पहलमा अहिलेसम्म ८१ हजार ५१८ जनालाई राहत वितरण गरेको छ । महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारले आआफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायत सहयोगको काम गरिरहेका जानकारी दिनुभयो ।

 

    प्रमुख ढकालले लकडाउनको अवधिमा कोही पनि भोकभोकै पर्नुपर्ने अवस्था नआओस् भनेर समस्यामा परेकालाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिनुभयो । राहत वितरण र खाना खुवाउने दुवै कार्यका लागि नगरप्रमुख विद्यासुन्दर शाक्य आफैँ पनि अनुगमनका लागि पुग्ने गर्नुभएको छ । केही दिनअघि निरीक्षणका लागि चमती पुग्नुभएका प्रमुख शाक्यले जनतासँगै बसेर खाना खानुभएको थियो । 

 

    केन्द्रलाई पठाएको तथ्याङ्कअनुसार अहिलेसम्म वडा नं ६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ । सिद्धार्थ हल कुमारी गाल, चुच्चेपार्टी चोकलगायतका स्थानमा खानाको व्यवस्था गरिएको छ । त्यसैगरी वडा नं १४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । जागरण बस्ती सुधार सङ्घ, सामूदायिक टोल सुधार समितिलगायतको समन्वयमा खाना खुवाउने काम भइरहेको वडाले जानकारी दिएको छ ।  

 

    वडा नं ३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ । वडासँग समन्वय गरे बोधिसतुवा विहारले अव्यवस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । 

 

    महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले पनि आफ्नो वडामा दैनिक एक हजार ६०० को हाराहारीलाई एक छाक खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो । “अहिले वडा नं १५ का भूँइखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भइरहेको छ”, प्रवक्ता डङ्गोलले भन्नुभयो, “भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट शुरु गर्ने तयारी भएको छ ।” 

 

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा पनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरका १६ वडाअन्तर्गत बाइपासको तरुण मावि, गङ्गा हल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्वीमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै वनस्थली खरिबोट, सानोभ¥याङ, मैपी मन्दिरको प्राङ्गण र नयाँ बजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस