• शुक्रबार-चैत-१६-२०८०

अपाङ्गमैत्री आकाशेपुल निर्माण शुरु

 

रत्ननगर । कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण शुरुआत गरेको छ । 

 

    सो आकाशेपुल जिल्लामै पहिलो पटक बन्न लागेको हो । बढ्दो शहरीकरणसँगै यहाँ दुई स्थानमा यस किसिमका पुल बन्न लागेका हो । 

 

    नगरपालिकाका प्रमुख नारायण वन र उपमेयर विमला दुवाडीले  बिहीबार संयुक्त रुपमा सो पुलको शिलान्यास गर्नुभयो । बहुवर्षीय योजनाअनुसार रु दुई करोड ४२ लाख चार हजार लगानीमा निर्माण सम्पन्न हुने नगर प्रमुख वनले जानकारी दिनुभयो । 

 

    गत फागुन महिनामा सम्झौता गरिएको सो पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य शुरु गरिएको हो । प्रदेश सरकारको रु एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुनेछ । सरकारले आन्तरिक जनशक्ति र स्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि नगरपालिकाले आकाशेपुल निर्माण शुरु गरेको हो । 

 

    नगरपालिकाले पुल निर्माण हुने स्थान वरपर बिजुलीको तार भूमिगत गर्नेछ । त्यसका लागि रु ४० लाख विनियोजन गरिएको छ ।  निर्माणका लागि भरतपुरस्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले ठेक्का पारेको छ ।

 

    दुवैतर्फबाट आवतजावत गर्न मिल्ने गरी ४० मिटर लम्बाइ र साढे पाँच मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुनेछ । यहाँ नेपालमै पहिलो पटक स्टिलका सामग्री प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो । सो पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस