• मंगलबार-बैशाख-११-२०८१

वर्ल्ड भिजन नेपालद्वारा सरकारलाई एक हजार पीपीई र १२० आई.आर सहयोग

 

 

काठमाडौँ, २०७७ वैशाख १० । देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने कुराबारे चासो बढी रहँदा वर्ल्ड भिजन इन्टरनेशनल नेपालले नेपाल सरकारलाई १००० पीपीई र १२० इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । पीपीई सेट तथा सरसफाई प्रयोजनका सामग्रीहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  हस्तान्तरण गरिएको छ । वैशाख ९ गते हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायत अन्य चिकित्सा प्रयोगका गरी १९ सामग्रीहरु रहेका छन् । 


  उक्त पीपीई सहयोग वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजनाअन्तर्गत गरेका हो जसकोे उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्नुका साथै कोभिड—१९ प्रभावित बालबालिका, महिला तथा अति जोखिममा रहेका समुदायहरुलाई सहयोग रहेको बताइएको छ । 

 

हस्तान्तरण समारोहमा आफ्नो भनाई राख्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङले भने, “ हालै नेपाल सरकारले गैरसरकारी संस्थाहरुलाई कोभिड १९ फैलिने जोखिम नियन्त्रण गर्नका लागि परिचालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा कोभिड १९ रोकथामको लागि सरकारको तत्कालका आवश्यकताहरुमा सहयोग गर्ने वर्ल्ड भिजन इन्टरनेशनल नेपाल स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समाज कल्याण परिषदको सहजीकरणमा सो निर्णय पश्चात यति ठूलो संख्यामा स्वास्थ्य सामाग्री प्रदान गर्ने वर्ल्ड भिजन सम्भवत पहिलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।'' 

 


''अहिले सबैभन्दा जटिल अवस्थामाा रहेको जिल्ला उदयपुर लगायत १३ जिल्लामा तत्काल समाग्रीहरु पुग्ने छन् । म अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरुलाई पनि मन्त्रालयको समन्वयमा सरकारका तत्कालीन आवश्यकताहरुलाई मध्यनजर गरी प्रतिकार्य कार्यक्रम अघि बढाउन आग्रह गर्दछु ।”  

 

सोही समारोहमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक जेनिस गिन्टिङ्गले भने, “नेपाल सरकारको सक्रिय साझेदार भएकाले हामी नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्न प्रतिबद्ध छौँ । सन् २००१ देखि नेपाल सरकारलाई वर्ल्ड भिजन इन्टरनेशनल नेपालले राष्ट्रिय विकासका प्राथमिकता तथा मानवीय सङ्कटहरुलाई संबोधन गर्न सहयोग गर्दै आएको छ । सन् २०१५ को विनासकारी भूकम्पको प्रतिकार्यमा पनि वर्ल्ड भिजनले नेपाल सरकारलाई सक्रिय रुपमा सहयोग गरेको थियो ।''

 

''तत्कालका लागि हाम्रो कोभिड—१९ प्रतिकार्य योजना १४ जिल्लामा मात्र संचालन हुने भएतापनि आवश्यक अनुरुप अन्य ठाउँ/जिल्लाहरुमा सहयोग बिस्तार गर्न हामी प्रतिबद्ध छौ ।  बालबालिका केन्द्रित संस्था वर्ल्ड भिजन, नेपालका बालबालिकाको सम्बृद्धिकाे लागि योगदान गर्न पाएकोमा गौरव महसुस गर्दछ र आगामी दिनमा नेपाल सरकारको सामाजिक तथा आर्थिक विकासका प्राथमिकताहरु र दिगो विकासका लक्ष्यहरुलाई आधार मानेर विकासका अन्य मुद्दाहरुलाई सम्बोधन गर्न प्रतिवद्ध छ ।”

 

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्रतिकार्य योजनामार्फत पहिलो ३० दिन वल्र्ड भिजनले सार्वजनिक स्वास्थ्य संस्था तथा प्रशासनलाई अत्यावश्यक उपकरणहरु वितरण गर्नुका साथै परम्परागत मिडिया र सामाजिक संजालको प्रयोग गरि नेपाल सरकारलाई कोरोना भाइरस रोकथाम बारे सूचना तथा सन्देश प्रवाह गर्न मद्दत गर्नेछ । ३० दिन पश्चात भने कोभिड—१९ प्रभावित परिवार तथा समुदायहरुको तत्काल आवश्यकताहरु परिपूर्ति गर्दै बहुक्षेत्रगत कार्यक्रमहरुमार्फत उनीहरुलाई आफ्नो जीविकोपार्जन पुनर्स्थापना गर्न मद्दत गर्नेछ । बालबालिकालाई केन्द्रमा राखेर तयार पारिएको उक्त प्रतिकार्य योजना वर्ल्ड भिजनको कार्यक्रम रहेको १४ जिल्लाहरुमा संचालन हुनेछ । 


 

प्रतिकृया दिनुहोस