भक्तपुर, १३ वैशाख । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनेका घरटहरा हटाउने क्रममा झडप हुँदा २२ सुरक्षाकर्मी घाइते भएका छन् ।
साँझ परेपछि डोजर प्रयोग गरी सातवटा पक्की घर भत्काउन थालेपछि बस्तीका केही बासिन्दाले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगा, इँटा र बोतल प्रहार गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मनोहराका करिब ८० प्रतिशत बासिन्दाले दिउँसै सामान सारिसकेका थिए । थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती खाली गराएर डोजरसहितको टोली मनोहरा पुगेपछि संरचना हटाउने काम सुरु गरिएको थियो ।
“प्रहरीले कुनै बल प्रयोग गरेको थिएन । सामान सार्नेलाई सहयोग गर्दै संरचना हटाउने काम भइरहेको थियो । तर पक्की घर भत्काउने क्रममा राति सुरक्षाकर्मीमाथि एकसाथ ढुंगा, इँटा र बोतल प्रहार भयो,” प्रहरी उपरीक्षक खड्काले भन्नुभयो ।
आक्रमणमा मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानासहित ११ प्रहरी घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरी बल नं. २२ दुवाकोटबाट खटिएका ११ सशस्त्र प्रहरी पनि घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहानदेखि पुनः संरचना हटाउने काम अघि बढाइनेछ ।
मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घरटहरा रहेको बताइएको छ । बस्तीका सुनिल लामाले आफूहरू टहरा किनेर १५ वर्षदेखि बस्दै आएको बताउनुभयो । “यहाँ अधिकांश घर भाडामा लगाइएका छन् । सुरुमा टहरा बनाएर एक समूहले तीन लाखदेखि सात लाख रुपैयाँसम्ममा बेचेको थियो । पक्की घर १८ लाख रुपैयाँसम्ममा बिक्री भएका छन्,” उहाँले भन्नुभयो, “सरकारले हामीजस्ता वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरिदिए पुग्छ ।”
स्थानीयका अनुसार बस्तीका केही घरधनीले घरटहरा भाडामा लगाएका छन् भने भाडा उठाउन नियमित रूपमा मानिस आउने गरेका छन् ।
११ लाखभन्दा बढी परिवार भूमि समस्यामा
भूमि समस्या समाधानसम्बन्धी पछिल्लो आवेदन तथ्यांकअनुसार नेपालमा ११ लाख २३ हजार ६७० परिवारले लालपुर्जाका लागि आवेदन दिएका छन् । तीमध्ये अव्यवस्थित बसोबासी ८ लाख ६७ हजार ३५५, भूमिहीन सुकुम्वासी १ लाख ६७ हजार ८०६ र भूमिहीन दलित ८८ हजार ५०९ परिवार रहेका छन् ।
यो तथ्यांक आवेदनमा आधारित हो । अन्तिम प्रमाणीकरण प्रक्रिया भने अझै जारी छ । भूमि समस्या समाधान केवल कागजमा सीमित होइन, व्यवहारमै देखिनुपर्ने चुनौती फेरि एकपटक मनोहरा घटनाले उजागर गरेको छ ।




