• शुक्रबार-चैत-१६-२०८०

सङ्क्रमण फैलन नदिन बज्रयोगिनी उग्रताराको खटयात्रा स्थगित

 

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण स्थगित गरिएको छ । राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा चलाउँदा भीडभाड भई कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले स्थगित गर्ने निर्णय गरेको व्यवस्थापन समितिका संयोजक मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बज्रयोगिनी उग्रतारा, चैत्यभराद ९बुद्धमूर्ति०, सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ । 

 

     तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा यसपटक समेत तीनपटक रोकिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको थियो । यसपटक भने विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको हो । 

 

     शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष धुला टोलमा खट राखेपछि अर्को वर्ष चलाखु टोलमा राख्ने यहाँको परम्परा छ । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले राससलाई जानकारी दिनुभयो । 

 

     बज्रयोगिनीबाट खट ल्याएर टोलमा राखेको चौथो दिनमा नाथ सम्प्रदायका योगीले पूजा गरेपछि मूल जात्रा शुरु गरिन्छ । मूलजात्राका दिन खटलाई बोकेर साँखु क्षेत्र घुमाइन्छ । मूल जात्राअघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन पूजा आराधना र दर्शन गर्ने चलन छ ।

 

जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाचलगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत हुन्छ । यस वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिने संयोजक श्रेष्ठले सुनाउनुभयो । जसअनुसार पूर्णिमा अघि पुजारीबाट गरिने विधि शुरु भइसकेको छ । खटयात्रा गर्न नसकिएकामा भने पूर्णिमाका दिन क्षमापूजा गरिनेछ ।
 

प्रतिकृया दिनुहोस