• बिहीबार-बैशाख-१३-२०८१

अनि मात्र देश हामी सबैको साझा हो

 


प्यारा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु :-


संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउँछ। भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृति  हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृति हो, आफ्ना सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो।


जीवन स्थिर पोखरी होइन, जो सधै एकै ठाउँमा रहिरहोस, जीवन त गतिशील नदी  हो। सुख दु:ख भएको जीवन नै जीवन हो, सुख दु:ख नै नभएको जीवन त विफल हो  ।


दु:खको अनुभूति  भएपछि नै त्यसलाई छाडेर सुखमय जीवनको इच्छा हुन्छ। जबसम्म मानिसमा आफ्नो कष्टप्रति  जिज्ञासा उत्पन्न हुँदैन। जबसम्म उसलाई कष्ट भोग्नुभन्दा कष्टबाट मुक्त हुने उपाय खोज्नुमा अभिरुची जाग्दैन, तबसम्म त्यसलाइ पूर्ण मानवका रुपमा सम्झनु पनि हुँदैन।


आज हामीमा साझा समस्या छ, एउटा विग्रेको अर्कोले हेर्ने बेला छैन। सबैको हृदयमा एउटै उद्देश्य हुनुपर्दछ, आज हामी हार खान सक्दैनौ, सबै मिलेर जित्नै परेको छ। हामी सबैलाइ थाहा छ सेवा नै जीवको चीर सहचर हो र सेवा गर्नु नै जीवको सनातन धर्म हो।


आशक्ति रहित निष्काम भावले कर्मगर्नेलाई र असली आत्मावोधको स्थितिमा स्थिर भएकाहरुलाई यो साक्षात्कार सम्भव छ। नारी हाम्री जननी हुन र जननाको जहाँ आधार, सम्मान र पूजा हुन्छ देवताहरु पनि त्यहीँ रमाउँछन। तर, आज स्वयम देवताहरु देवलोकबाट धपाइएको, अशान्ति, अपराध र अमानुसिक क्रियाकलाप पराकाष्ठामा पुगेको सबै माझ सर्ववितिदै छ। यस्तो अवस्था देखेर आफूभन्दा बढी जाल बुन्न सक्ने मानिस देखेर माकुरा स्वयम आश्चर्यमा पर्न सक्छ।


नेपालको हित नै हामी सबैको हित हो, जसको निमित्त सबैबाट अनुशासन प्राप्त हुनु अत्यन्त आवश्यक छ। आज आफ्नो देशलाई  त्यागेर आफ्नै देशलाई क्षति पुर्याउने कुचेष्टामा परेकाहरु पनि झस्केर सोच्ने स्थितिमा पुगेका छन। यस्तो सुवर्ण अवसर गुमाउनु हामी सबै नेपालीको लागि मात्र नभै भावी नेपाली सन्तानको लागि समेत पछुताउनु शिवाय अरु हुन सक्तैन।

 

यो हामी सबैको सामु स्पष्ट भएको पनि छ। यसमा कसैको दुई मत रहन सक्तैन। यसकारण हामी सबैले अब हाहामा लाग्ने, तर्सने वा हच्कने बेला छैन र अवश्य समयलाइ चिनेर समयको साथ मिहेनत गर्नु छ, उद्योग चलाउनु छ र प्रगति  गर्नु परेको छ। किनकि  आजको समयमा केही व्यक्तिमात्र धनी भएर त्यो समाज सप्रियो  भन्न सकिन्न, केही ठाँउमा निर्माण हुँदैमा देश बन्यो भन्न सकिन्न र धर्मको नाममा आडम्बर मात्र हुन्छ भने मानिसलाइ छकाएर स्वर्ग पुग्छ भनेर भन्न गाह्रो पर्दछ।

 

आज हामी कसैले पनि आफू मात्र होइन नेपाल र नेपाली समाजको समान उत्थान र प्रगतिको महत्वलाई बुझ्नु पर्दछ र समान दृष्टिले सन्तुलन ल्याउँन सक्नु पर्दछ। किनभने हामी प्रत्येक प्राणी ईश्वर कै सन्तान हौ र आजको समाजमा कानूनी दृष्टिमा हामी सबै बराबर हुन्छौ, अनि मात्र देश हामी सबैको साझा हो भन्न सक्ने हुन्छौ।

 

अन्याय र अनाचारसँग सम्झौता गर्नु जस्तो अपराध अरु कुनै छैन भन्ने तथ्यलाई कसैले कदापी नविर्सनु, एवं प्रत्येक अन्याय र अनाचारसँग ठीक तरिकाले भिड्नु नै सर्वोत्तम धर्म हो भन्ने तथ्यलाई पनि सबैले सदा सम्झनु। आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्न कहिल्यै नविर्सनु।

 

''आचरण हराए संस्कार हाराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै कसैले नकार्न सक्तैन।''

 

मुलुकभरका नेपालीबाट आज मप्रति  यस्तो सहृदयता देखाई देश र जनताको सेवा गर्ने एक मात्र लक्ष्य र उत्साहलाई प्रोत्साहित गरिएकोमा म अत्यन्तै खुसी छु र सम्बन्धित सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु !

 

जुन देशमा जन्मेँ, हुर्के, त्यसै देशको माटो र नेपालीको भलाइमा नै मरिमेट्न पनि सकुँ यही  नै मेरो आरध्यदेव श्री पशुपतिनाथमा प्रार्थना छ। आरध्यदेव श्रीपशुपतिनाथले सबैको कल्याण गरून्
जय नेपाल।”

 

जय जननी।
जय नेपाल।
जय होस सबको मंगल होस ।

(२०७६ चैत १७   गतेको फेसबुकबाट)  

प्रतिकृया दिनुहोस