• शुक्रबार-बैशाख-७-२०८१

प्रधानमन्त्री पैसा नदिने, सदस्यसचिव हिसाब नदिने ! 

 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका एक वरिष्ठ कर्मचारीका अनुसार, अहिले नेपाली खेलकुदमा प्रधानमन्त्री र राखेप सदस्यसचिवले खेलाडीलाई निराश पार्ने काम गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १३  औं दक्षिण एसियाली खेलकुद ‘साग’का पदकधारीलाई दिने भनेको रकम अहिलेसम्म दिएनन् । अनि सदस्यसचिव रमेशकुमार सिलवालले पनि साग आयोजनाको हिसाब चार महिना भयो अहिलेसम्म दिएनन् । 


राखेपका एक प्रशिक्षकका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको पुरस्कार पटक पटक ताकेता गर्दासमेत रकम नदिनु खेलाडीलाई निराश बनाउनु सरह हो । उनले साँघुसंग भने, ‘खेलाडीहरु मसंग आएर सोध्छन् गुरु पैसा कहिले आउँछ भनेर । मैले के जवाफ दिने ? सरकारले खेलाडीलाई खुलेआम ढाँटेको अनुभूति भएको छ ।’


उनले थप भने, ‘अहिले सुन्दैछु कोरोनाका कारण खेलकुद ठप्प भयो पैसा पनि आउँदैन रे तत्कालै ।’ त्यतिमात्र हैन सदस्यसचिवले सागको खर्च विवरण नदिएपछि पैसा आउन अझै ढिलाइ हुने बुझिएको छ । 


साग प्रतियोगिता  २०७६ मंसिर २४ गते सकिएको थियो । मंसिर २५ गते नै प्रधानमन्त्रीले बालुवाटर बोलाएर खेलाडीलाई रकम पुरस्कार दिने बताएका थिए । तर, अहिलेसम्म दिइएको छैन । सदस्यसचिवले ९० दिनभित्र सबै हिसाबकिताब बाहिर ल्याउने र ९० दिनपछि १३ औं सागका बारेमा कुरा नगर्ने बताएका थिए । 


अहिलेसम्म दुवै काम हुन सकेका छैनन् । खेलाडी, प्रशिक्षकमात्र हैन खेलप्रेमीहरु नै निराश भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले भने सागमा सहभागी खेलाडी, प्रशिक्षक, अफिसियल तथा संघहरूले पेस्की फछ्र्यौट गरेपछि मात्र सरकारले घोषणा गरेको पुरस्कार रकम पाउने जनाएको छ । आफूले लिएको पेस्की रकम पूर्ण रूपमा फछ्र्यौट नहुँदासम्म उनीहरुले पुरस्कार रकम नपाउने मन्त्रालयका प्रवक्ता डा. मानबहादुर बिकले बिहीबार (२०७६ चैत ६ गते) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

यसबाट पुष्टि हुन्छ कि खेलाडीहरुले अझै केही समय रकम पाउन कुर्नुपर्नेछ । एक स्वर्णपदकधारीले नाम नभन्ने सर्तमा भने, ‘विरोध गरौं करियर नै डुबाइदेलान् भन्ने डर नगरौं घात भइसक्यो ।’


प्रधानमन्त्री ओली आफैले सागमा ऐतिहासिक प्रदर्शन गरेकालाई नगद पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री आफैले घोषणा गरेको रकम चार महिनासम्म खेलाडीले नपाउँदा सरकारको आलोचना भइरहेको छ । १३ औँ सागमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै ५१ स्वर्ण, ६० रजत र ८६ कास्यपदक जितेको थियो । पौडी खेलाडी गौरिका सिंह एक्लैले चार स्वर्ण जितेकी थिइन् । यसैगरीकराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान दुई–दुई स्वर्णपदक जितेका थिए । 


संशोधित कार्यविधिअनुसार स्वर्णविजेतालाई नौ लाख, रजतलाई छ लाख र कास्यलाई तीन लाख दिइनेछ । दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख रुपैयाँका दरले दिइने छ भने टिम इभेन्टमा स्वर्ण जित्नेलाई पाँच लाख, रजतलाई तीन लाख र कांस्य जित्नेलाई दुई लाख दिने उल्लेख छ ।  


एकातिर सिलवालले रकम फछ्र्यौट नगर्ने र अर्कातिर सरकारले त्यसलाई नै आधार मानेर फछ्र्यौट नभएसम्म खेलाडीले रकम नपाउने बताइरहँदा यसको चाबी प्रधानमन्त्री ओलीसंगै भएको आरोप लागेको छ । खेलाडीलाई उत्साह छर्न माहिर ओलीले आफैले ठूलो खेल खेल्दै खेलाडीको अपमान गर्नुलाई भने खेल क्षेत्रले नराम्रो मानेको छ । 


रकम नदिनेहरु र काम नगर्नेहरुलाई अहिले आएर कोरोना भाइरस एक बहाना बनेको छ । राखेपले २०७६ चैत ४ गते मंगलबार विज्ञप्ति जारी एक साताका लागि सबै खेलकुद कार्यक्रम रोक्न निर्देशन दिएको छ । परिषद्ले दोस्रोपटक विज्ञप्तिमार्फत सम्बन्धित खेलका संघ तथा संस्थालाई प्रतियोगिता रोक्न निर्देशन दिएको हो । 


यसअघि २०७६ फागुन २२ गते पनि सम्भव भएसम्मका सबै कार्यक्रम रोख्न राखेपले निर्देशन दिएको थियो । बी डिभिजन लिग दर्शक बिना खेलाउँदा अन्य खेलका पदाधिकारीलाई चिसो पसेपछि राखेपले दोस्रो पटक कडा निर्देशन दिएको हो । अब खेल्न भन्दा राजनीति गर्न रुचाउने नेपालका खेलकर्मीका लागि कोरोना भाइरसबाट बच्ने उपायका नाममा खेलकुद गतिविधि गर्न नपर्ने भएपछि ‘के खोज्छस्...आँखो’ जस्तो भएको छ । 

प्रतिकृया दिनुहोस