प्रसिध्द लेखक पुरुषोत्तमशमशेर ज. ब. राणाका अनुसार, जंगबहादुरको वास्तविक नाम वीरनरसिंह कुँवर हो। उनको जन्म वि. सं. १८७४ असार ७ गते, तदनुसार जून १८ तारिख सन् १८१७ दिन मावलीको घर थापाथली(हाइट) मा भएको हो। काजी बालनरसिंह कुँवरकी दुई पत्नीहरूमध्ये कान्छी कजिनी(पत्नी) गणेशकुमारी (रक्षकुमारी)का सात भाइ छोरा र दुई बहिनी मध्ये वीरनरसिंह कुँवर जेठा सन्तान हुन्। गणेशकुमारी माथवरसिंह थापाकी सहोदर बहिनी हुन्, तसर्थ, माथवरसिंह थापा जंगबहादुरको सहोदर मामा हुन्। बाल्यकालमा 'जंगे स्वभावका' वीरनरसिंह कुँवरलाई मामा माथवरसिंह थापाले 'जंगे जंगे' सम्बोधन गर्दागर्दै वीरनरसिंह कुँवर त औंठा छाप भए पनि 'जंगबहादुर' मा रुपान्तर भएर नेपाल राज्यको शासन सत्तामा १०४ वर्ष राज्य गरेर ऐतिहासिक रेकर्ड राख्न सफल भए ।
नेपालको रक्तरंजित इतिहासमा घटेका कोतपर्व, भण्डारखालपर्व र अलौपर्वजस्ता पर्वहरुको सामना गरेर 'जंगबहादुर'ले शक्ति आफ्नो हातमा लिएपछि नेपालको शासन पध्दतिलाई क्रमबध्द र संगठित बनाउने प्रयास गरे भन्ने दावी प्रसिध्द लेखक पुरुषोत्तमशमशेर ज. ब. राणाको रहेको छ। 'जंगबहादुर' को हातमा शासनको बागडोर आएपछि नेपालको राजनैतिक रङ्गमंच पनि पूर्णरुपले बदलियो। जंगबहादुरको उदय हुनु अघि प्रधानमन्त्री अथवा मुख्तियारीको पद राजा या रानीद्वारा भारदारहरुमध्येबाट छानिन्थ्यो, जसले गर्दा थापा, पाँडे, चौतारिया, ब्राम्हण इत्यादि सबै प्रधानमन्त्री भए। वि. सं. १९०३ असोज १ गते, सन् १८४६ सेप्टेम्बर १५ तारिखका दिन महारानी लक्ष्मीदेवीले जनरल कुँवरलाई प्रधानमन्त्री र प्रधानसेनापतिको पद दिएर शक्तिशाली प्रधानमन्त्री बनाइन। 'जंगबहादुर'(वीरनरसिंह कुँवर)को उदयपछि सारा शक्ति नै प्रधानमन्त्रीमा निहित हुन गयो।
यिनै शक्तिशाली प्रधानमन्त्री 'जंगबहादुर' (वीरनरसिंह कुँवर)ले 'श्री ३ महाराज' पदवी चाहिं आफैंले लिए । कुँवर खलकका 'जंगबहादुर'ले शासन सत्ता एकछत्र रुपमा सम्हालेपछि कुँवरहरु 'जंगबहादुर' कसरी भए त्यो चाहिं इतिहासमा स्पष्ट नै छ । तर, यो 'राणा' भन्ने पुच्छर के कारणले जोडियो भन्ने खुल्दुली मेरो मनमा लामो समयदेखि रहेको थियो। २०७६ चैत ११ गते बिहान ६ बजेबाट 'नेपाल लकड़ाउन' भएपछि मलाई अति नै मनपर्ने धेरै ऐतिहासिक पुस्तकका प्रसिध्द लेखक पुरुषोत्तमशमशेर ज. ब. राणाको 'श्री ३ हरुको तथ्य वृत्तान्त' पढ्दै जाँदा 'कुँवर'हरुको नामको पछाडि 'राणा' पुच्छर झुण्डिएको तथ्य फेला पारें। 'श्री ३ हरुको तथ्य वृत्तान्त' मा उल्लेख भए अनुसार, 'कुँवर'हरुको नामको पछाडि 'राणा' पुच्छर यसरी जोडिन पुगेछ।
वि. सं. १९०५ वैशाख सुदी १३ अर्थात् सन् १८४८ मे ५ ता. का दिन राजा सुरेन्द्रले प्रधानमन्त्री जंगबहादुर र उनका वंशजहरु भारत चित्तौडगढका राजपूत राणा हुन् भन्ने प्रमाण हुनाले प्रधानमन्त्री जंगबहादुर र उनका वंशजहरुलाई 'राणाजी' भन्नु भन्ने ''लालमोहर'' भयो। लालमोहरको सारांश यस प्रकार छ-
''तिमी प्रधानमन्त्री जंगबहादुरले मेरो, मेरो बुबाज्यूको र भाइ साहेबज्यू उपेन्द्रको जीवन बचायौ, हाम्रा महारानीहरुका इज्जत राख्यौ, गौरब जोगायौ तिमीले धोखेबाजहरुलाई निकाला गरिदियौ र मारिदियौ। साथै हाम्रो मुलुकको परम्परा र चलनलाई कायम राखिदियौ। यसको खातिर तिमीले प्रधानमन्त्री तथा मुख्तियारको अधिकार र प्रधानमन्त्री मान मात्र पायौ तर तिम्रा भाइहरुले जर्नेल र कर्नेलक दर्जाहरु हाम्रा कान्छी मुमाज्यू महारानी राज्यलक्ष्मीदेवीबाट पाए।''
''मुमाज्यू जेठी महारानी साम्राज्य लक्ष्मीदेवीले पुण्यको बाटो लिइबक्सेको हुनाले मैले नेपालको राजगद्दी लिएँ। हाम्रा बुबाज्यूले गुहेश्वरीमा मेरो उमेर १६ वर्ष पुगेपछि मात्र राजगद्दी लिने छ भनेर प्रतिज्ञा गरिबक्सेको थियो। यस आकांक्षालाई पूरा गर्न मुमाज्यू काशी बनारस सवारी भइबक्स्यो, तर कर्रा नदी हेटौंडा पुग्नेबित्तिकै औलो ज्वरोले उहाँको मृत्यू भयो । मेरो इच्छा पूरा हुन् सकेन। त्यसपछि मेरो निर्देशन अनुसार स्व. प्रधानमन्त्री माथवरसिंह थापाले ढुकुवाबासमा १६ जना मानिसलाई मार्न लगाए। त्यति गरेअर पनि उनले मलाई राजगद्दी दिलाउन सकेनन् तैपनि मेरो निमित्त उनले गरेको कार्यबाट खुशी भई मैले सवा लाखमा खरिद गरेको उब्जाउ भूमि र दुई लाख रुपैंयाँ नगद खिलातको रुपमा दिएँ। तिमीले हाम्रो जीवन बचायौ र राजगद्दीको सुरक्षा र महिमा कायम गरायौ। त्यसकारण कुनै पनि पुरस्कार तिमीलाई पर्याप्त छैन। यतिसम्म कि हामीले तिमीलाई माथवरसिंह थापालाई दिएसरहको खिलात ''उपहार'' दिंदा पनि तिमीले ''हामीसँग हाल भएका सम्पूर्ण कुराहरु मबाट नै प्राप्त भएको हो, त्यसकारण योविना नै सन्तुष्ट छु'' भनी लिन अस्वीकार गरेका थियौ। जब तिमीले हामीसँग कुनै पनि खिलात नदिनको लागि अनुरोध गरेका हुनाले देहायका निम्नलिखत कुराहरु दिदै छु-''
(तिम्रा पूर्वजहरूमा एक भाइ चित्तौगढ़ भारतमा शासन गरिरहेका थिए। अरु तीन भाइहरु चाहिं त्यहाँ आफ्नू उन्नतिको पर्याप्त सम्भावना नदेखी पहाडतर्फ लागे। तिनीहरुमध्ये एकजना ''कत्लाखर''-उत्तर-पश्चिम नेपालको एक ठाउँ-हाल तिब्बत चीनको इलाकाको राजा भए। अर्का चाहिं जुम्लामा गई बसोबास गरे। बाँकी रहेका तेस्रो यहाँ आएर कास्कीमा बसोबास गरे। तिम्रा बराजु अहिराम कुँवर हाम्रा पूर्वज नरभूपाल शाहको समयमा गोर्खामा आइ बसे। तिम्रा पूर्वजहरु राजपूत-राजपरिवारका भएकाले आजसम्म 'कुँवर' कहलिएका छन्। अहिले म तिमीसँग प्रसन्न छु र यो देखिन आयो कि तिम्रा पूर्वजहरु कुँवर राणाजी हुन्। हामीहरुको अतिरिक्त हाम्रो गाथ-गादी र मुलुकको हितमा बाहेक अर्काको ज्यान लिने मान्छे मृत्यूदण्डको भागी हुन्छ, तर तिमीहरु ''कुँवर राणाजी'' ले त्यस्तो कार्य गरेमा पनि मृत्यूदण्डबाट वन्चित हुनेछ। त्यस्तै तिमीहरुलाई देश निकाला र सम्पत्ति अपहरण गरिने छैन। राजपुत परिवारसँग आफूखुशी वैवाहिक सम्बन्ध कायम गर्न सक्दछौ। तिमी राजपुतहरुले आफ्नो संस्कार, परम्परा चलनअनुसार आचरण गर्नेछौ। जसले माथि लेखिएका कुराहरुलाई पालन गर्दैन ईश्वर पशुपतिनाथ र देवी गुहेश्वरीको अगाडि पंचखत गरेसरह हुनेछ। जसले माथि लेखिएको सरह पालन गर्दछ । तिनले देवताहरुको आशीर्वाद पाउने छन्) ।




