विराटनगर, ४ पुस। विगत २३ दिनदेखि बेपत्ता भएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा कार्यरत कर्मचारी कुलबहादुर थापालाई खोजबिन गरिदिन हुन सम्बन्धित निकायलाई उहाँकी श्रीमतीले आग्रह गरेकी छिन ।
थापाकी श्रीमती रेवतकुमारी अधिकारी (थापा)ले पुस ३ गते यहाँ पत्रकार सम्मेलन गरी कार्यालयको कामको सिलसिलामा २०७४ मंसिर ६ गते उदयपुर र सप्तरी गएको थापा मंसिर ९ गते बिहानदेखि सुनसरीको भण्टाबारीबाट सम्पर्कविहीन भएको बताइन् ।
भण्टाबारीस्थित नारायणी लजमा मंसिर ८ गते बसेकामा ९ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएको भन्दै उनले सोको जानकारी सुनसरी र मोरङ प्रहरीलाई गराएको तथा खोजबिनका लागि सम्बन्धित कार्यालयमा आग्रह गरेको भएपनि हालसम्म उनी फेला नपरेको बताइन् ।
श्रीमती थापाले सम्बन्धित कार्यालय र प्रहरीले खोजबिनमा तदारुकता नदेखाएको आरोपसमेत लगाएकी छिन् । रासस



