• शनिबार-बैशाख-८-२०८१

कोरोनाबाट १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी (अपडेट)

 

जेनेभा, ९ चैत : महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

 सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । 

 

हाल कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो । हाल ४२ हजार ६८१ जना सङ्क्रमित रहेको इटालीमा ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

 

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिनु भएको छ । करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

 

कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । तर चीनमा ७२ हजार ४४० जना निको भएका थिए ।

 

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।  

 

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४१५ जना सङ्क्रमित रहेका छन् । सात हजार ६०० जना उपचारपछि घर फर्किएका बताइएको छ । 

 

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमणका कारण एक हजार ३८१ जनाको मृत्यु भएको छ । हाल २१ हजार ९९० जना सङ्क्रमित रहेका छन् । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार सङ्क्रमित रहेका छन् । 


 
संयुक्तराज्य अमेरिकामा ३४८ जनाको मृत्यु भएको छ । हाल अमेरिकामा २६ हजार सङ्क्रमित रहेका छन् भने १७८ जनाको उपचार गरिएको छ । फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । हाल १२ हजार ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८८४ जनामा अझै पनि सङ्क्रमण छ । (रासस/एएफपी)
 

प्रतिकृया दिनुहोस