काठमाडौं । जनशक्तिसँगै उपकरणको प्रयोग गरी सवारी परीक्षण गर्ने उद्देश्यले सरकारले सवारी परीक्षण केन्द्र शुरुआत गरे पनि स्थापना भएदेखि नै यो सञ्चालनमा आउन सकेको छैन । सडक दुर्घटनाको प्रमुख कारणका रुपमा सवारी साधनको अवस्थालाई लिने गरिएकाले त्यो कम गराउन केन्द्रको स्थापना भएको हो । सवारीसाधनको सबै भागको आवश्यक जाँच गरी कुनै समस्या देखिएकामा त्यो पहिचान गर्ने काम केन्द्रले गर्छ । तर, केन्द्रमा रहेको उपकरण बिग्रिएकाले अहिले प्रयोगमा आउन सकिरहेको छैन ।
लामो समयदेखि बिग्रिएर थन्किएको उपकरण मर्मत गर्न नसकिँदा त्यसलाई पुनःप्रयोगमा ल्याउन नसकिएको हो । सरकारले विसं २०६८ मा स्थापना गरेको केन्द्र लामो समयसम्म आवश्यक कानूनको अभावलगायतका कारणले सञ्चालन हुन सकेको थिएन । विसं २०७२ देखि उपकरण सञ्चालनको प्रयास गरिए पनि त्यति बेलासम्म बिग्रिएकाले त्यो पूर्णरुपले प्रयोगमा आउन नसकेको हो । उपकरण (प्लान्ट)ले काम नगरेकाले केन्द्रमा मानिसले नै गर्नसक्ने जाँच मात्रै भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अहिले यहाँबाट साना सवारीसाधनको जाँच भइरहेको छ ।
ट्याक्सी, माइक्रो, ट्याम्पोेलगायतका साना सार्वजनिक सवारीसाधनको मानिसबाटै (म्यानुअल) जाँच भइरहेको छ । काठमाडौँ महानगरपालिकाले सवारीसाधनको जाँचपास गराएर हरियो स्टिकर टाँसेपछि मात्रै चल्न दिने नियम बनाएको छ । त्यसैले पनि सवारीसाधन छ÷छ महिनामा आउने गरेका छन् । एकपटकमा आएर पास नभएका सवारीसाधनले आवश्यक मर्मत गरेर पुनःजाँचका लागि आउने गरेको केन्द्रको भनाइ छ । केही समय पहिलेसम्म लामो दूरीका बसको पनि जाँच हुने गरेकामा हाल त्यो रोकिएको केन्द्रले जनाएको छ । ठूला बस जानका लागि सो स्थानमा जाम हुने भएकाले हालका लागि रोकिएको छ । निकट भविष्यमा चक्रपथ बाहिर पनि केन्द्र स्थापना गरेर ठूला सवारीसाधनको समेत जाँच गर्ने केन्द्रको योजना छ ।
जनशक्ति अभाव
हालका लागि १४ मात्रै दरबन्दी भए पनि भविष्यमा सो दरबन्दी अपर्याप्त हुनसक्ने केन्द्रको भनाइ छ । केन्द्रमा हाल प्रमुखसहित तीन जना मेकानिकल इञ्जिनियरको दरबन्दी रहेको छ । सीमित प्रकारका र उपत्यकामा चल्ने साना सवारीसाधन मात्रै हुँदा पर्याप्त भए पनि आगामी दिनमा सबै सवारीसाधन जाँच हुँदा सो दरबन्दीसमेत अपर्याप्त हुनसक्ने देखिएको छ ।
केन्द्रमा दैनिक ९० देखि एक सयसम्म सवारीसाधनको जाँचपास हुने गरेको छ । अहिले मान्छेले नै हेर्दाभन्दा उपकरण समेत प्रयोगमा आउने हो भने दैनिक कम सवारीसाधनको जाँच गर्न सकिन्छ । एउटा सवारीसाधनको जाँच गर्न २० देखि २५ मिनेट लाग्ने हुँदा कार्यालय समयमा एउटा प्यान्टबाट दैनिक २०÷२५ वटासम्म सवारीसाधनको जाँच गर्न सकिन्छ । सवारीसाधनको जाँचअन्तर्गत सवारीसाधनको बत्तीको अवस्था, टायर, डेन्टपेन्ट र नम्बर प्लेट हेर्ने काम अहिले भइरहेको छ ।
उपकरणबाट भने ‘ब्रेकिङ फोर्स’, ‘च्यासिस’, ‘हेडलाइट’ को उज्यालो पर्याप्त भए÷नभएको र ‘हर्न’ को आवाज पर्याप्त भए÷नभएको कुरा हेर्नुपर्ने भए पनि त्यो हेर्न सकिएको छैन । सो प्लान्टमा ठूला सवारीसाधन र साना सवारीसाधन जाँचका लागि छुट्टाछुट्टै लेन रहेको छ । प्लान्ट मर्मत भएर सञ्चालनमा आउनसके एउटा लेनबाट सवारीसाधन प्रवेश गरेपछि यो कुरा ठीक छ÷छैन भन्ने डिस्प्लेमा नै देख्न सकिन्छ । साना सवारीसाधनलाई उचालेर माथिल्लो तहमा पु¥याएर त्यसको सबै भाग हेर्न सक्छन् । त्यस्तै, ठूला सवारीसाधन प्राविधिक नै तल्लो भागमा गएर हेर्न मिल्ने व्यवस्था प्लान्टमा छ ।



