• शुक्रबार-बैशाख-७-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

शरीरमा पाहुना मृगौलाले सामान्य हर्कत देखाउन
लगभग तीन महिनाको अब्जर्भेशन समय बिताउँछ ।
डाक्टरहरू त्यसो भन्छन् ।
सामान्य भाषामा पनि शरीरमा अन्यत्रको मृगौला प्रत्यारोपणलाई
संस्थापन शरीरले स्वीकारे पनि
कहीँ कतै कुनै तुषमा संस्थापन शरीर र आगंतुक मृगौला बिच फसाद पर्न सक्तछ । 
यै एडजस्टमेन्ट समयावधिका लागि डाक्टरहरू तीन महिनाको समय रोज्छन, बुझ्न सकिन्छ ।
मृगौला प्रत्यारोपको यो कार्यविधि देखेर नै होला ।
सत्तारुढ पार्टी नेकपाले प्रत्यारोपणलाई आन्तरिक जीवन बनाएको छ ।
पार्टीसित वामदेव छ, सहअध्यक्षसित सरकार ।
पार्टी वामदेवको प्रत्यारोपण खोज्छ, सरकार प्रमुख तर्सिन्छ ।
दुबै चिरा परेका पनि होइनन, न त चिरा पर्ने मनसाय व्यक्त गर्दछन् ।
तर, दुबै आआफ्नो तहमा पत्रु ।
केबल पाहुना अंगले संस्थापन शरीरसित एडजस्टमेन्ट खोज्दो छ । 
पार्टीको केन्द्रीय तहमा संस्थापन र इतर बिचको एडजस्टमेन्ट विधिको यै खैलाबैलालाई
धनकुटाको भीर गाउँको फेदीतिर प्रिटेस्ट गर्दा रमाइलो हुन्छ ।
तपाई पत्याउनै सक्नु हुन्न, देशमा दुई तिहाईको शक्तिशाली पार्र्टीको तल्लो कमिटीमा संविधान 
संशोधन किन चाहिएको छ भने
‘तँलाई पोल्दिउँ ?’ भनेर थर्काउनेलाई तह लगाउन सकियोस् ।
पोल्दिउँ भन्ने अरु कोई नभएर आफ्नै पार्टी कमिटीका कमरेड हुन्छन् ।
ती घरि कुघरि एक बटुको जाँड थप्दा ध्वाँस फाल्छन् । 
राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउने कसरतको रमाइलो तिनमा कति छ भने
ती भन्छन वामदेव आए, ‘सोलिड’ ।
हन, माइला यो सोलिड भन्या के ?
माइला भन्छ, हामी जनप्रतिनिधिको बढ्दो तलब पक्का ।
र, त्यसमा संघीय जाँचबुझ अस्वीकार्य ।
हाम्रा प्रधानमन्त्री सपनाहरूलाई अलपत्र नपार्ने भनेर जस जसलाई आश्वस्त पार्नु हुन्छ नि ।
ती सपना देख्ने दरिद्र नेपाली हुँदैहोइनन् ।
ती बिचौलिया ठेकेदार, बिचौलिया पत्रकार र बिचौलिया टेक्नोक््रयाट हुन ।
त्यो पनि संघीय सरकारको वरिपरि रहने, स्थानीय तहका होइनन् ।
नत्र, अर्थशाश्त्र बुझ्ने आठ कक्षाका विद्यार्थीहरूलाई पनि थाहा छ ।
उच्च आर्थिक वृद्धिदरका सपना मिसक्यारेज भएको छ ।
हाम्रो समाजमा सन्तान तुहिएकि महिलाप्रति चुकचुकाउने मात्रै हो ।
दुःख फेरि चेलिले नै बेहोर्नु पर्ने हुन्छ ।
हाम्रा प्रधानमन्त्रीको जाँगर, उत्साह र उत्प्रेरणा सबै प्रशंसित छन ।
सिवाय, गोरुको एउटा आँखा फुटेको जस्तो बानी ।
एउटा आँखा फ्टेको गोरुको बानी किसानको लागि हत्तु हुने खालको हुन्छ । 
वहाँले कोरलेका सपनाहरूका लागि चाहिने युद्धस्तरको टिम
वहाँसित थिएन, र हुनेवाला पनि छैन, दुईवर्ष पछि वहाँले पत्तो पाउनु भएको छ ।
पाँच वर्ष पछि वहाँ आफैले आफ्ना सपनाहरू मिसक्यारेज भएको सुनाउनु हुनेछ ।
सबैभन्दा भाग्यशाली कुरा त, 
हाम्रा प्रधानमन्त्रीले नेपाली समाजबाट पाउनु भएको ‘फसल’ स्वभाव ।
यो बिछट्टै रैथाने स्वभाव हो, मुलुकको । 
जस्तोसुकै दुर्दिन भए नि, जस्तो सुकै प्रकृतिबाट यातना सहे पनि ।
फसल पाक्ने बेला नेपाली समाज फसल समयप्रति धन्य हुने गर्दछ ।
जस्तोसुकै फसलमा धन्य भएर विनम्र शैली देखाउँछ ।
यो मुलुकको यै नै फसल स्वभाव हो ।
नेपाली समाजले आफ्नो फसल स्वभाव देखाउँदै बिर्सने छन् ।
र, मेरो विचारमा, त्यो नै सबभन्दा ठूलो आशिष हाम्रा प्रधानमन्त्रीका लागि हुनेछ ।
शताब्दी बाँच्नुस् ।
तर, जति बाँच्नु हुन्छ, नयाँ जीवनले
नेपाली फसल स्वभावप्रति झुकेर अभिवादन गर्ने बनाओस् ।

 

प्रतिकृया दिनुहोस