सदिक अधिराज्यका जनताले बगावत गर्दै राज प्रसाद घेरे र कुर्लिकुर्लि राजा विरोधी नारा लगाए | यो सुनेर राजा राज भवनबाट बाहिर निस्के। उनको एउटा हातमा श्रीपेच र अर्को हातमा राजदण्ड थियो। उनको राजप्रताप देख्ने बित्तिकै धेरैको होस् हवासै रहेन। प्रजाको सम्मुखमा उभिएर राजाले भने, 'मेरा मित्रजनहरु, अब तिमीहरु प्रजा होईनौ। म तिमीहरुलाई नै यो श्रीपेच र राजदण्ड सुम्पदै छु। अब म तिमीहरुकै कोटीको एक साधारण सदस्य हुँ। म एक्लो मानिस हुँ तर यति हुँदाहुँदै पनि म तिमीहरुसंगै मिलेर काम गर्न चाहन्छु। यसो भएमा हामी सबैको भलाई नै होला। अब उप्रान्त राजाको कुनै दरकार छैन। यसर्थ हामी सबै हातेमालो गर्दै खेतखलियान र बगानमा जाऔं र दश नंग्रा खियाऔं। तिमीहरु यति मात्रै बताओ कि मैले कुन खेत या कुन बगानमा खटिनु पर्ने हो। अब उप्रान्ततिमीहरु सबै नै राजा हौ।'
राजाको कुरा सुनेर जनता चकित परे र अवाक भए। जुन राजालाई आफ्ना सारा असन्तुष्टीको जड मानेको उ नै उल्टो आफ्नो श्रीपेच र राजदण्ड सुम्पेर प्रजा सरह भएको छ।
अनि भने सबै आ-आफ्नो दर्गादिशा लागे | राजा चाहिं एकजनाको साथ लागेर खेततिर लागे।
तर, राजा बिनाको सदिक अधिराज्यको हालतमा कुनै सुधार भएन। देशमा भित्रभित्रै असन्तुष्टी कायमै थियो। मानिसहरु शहर बजारका गल्ली र चोक उँधो आवाज उठाउन थाले, 'हामीलाई शासन गर्ने राजा चाहिन्छ।' बुढापाका र युवायुवती समेत एक स्वरमा भन्न थाले, 'हामीलाई हाम्रो राजा चाहिन्छ। '
उनीहरु राजाको खोजीमा निस्के। अन्ततः राजालाई फेला पनि पारे, खनजोत गर्दै गरेको। उनलाई त्यहाँबाट उठाएर राजसिंहासनमा राखे र श्रीपेच र राजदण्ड सुम्पे। तिनले राजालाई बिन्ति बिसाउदै भने, 'महाराज, अब पराक्रम र न्यायका साथ राज गरी बक्स्योस्। '
प्रत्युत्तरमा राजाले भने, 'सारा पराक्रम लगाएर राज त गर्छु नै, आकास पतालका देवी देउताले मलाई न्यायका साथ राज गर्ने सदबुद्धि पनि दिउन ।'
अलिक पछिको कुरो हो, एक हुल नर नारीहरु ताल्लुकदारले आफूमाथि गरेको ज्यादतिको विरुद्धमा उजुरी लिएर राजा कहाँ आए। 'उ हामीमाथि दास झैं व्यवहार गर्दछ।'
तुरुन्तै ताल्लुकदारलाई राजाको सम्मुख उपस्थित गराईयो। राजाले भने, 'ईश्वरको श्रेस्तामा सबै मानिस समान महत्वका हुन्छन्। तिमीलाई आफ्नै खेत खलियान र बगानमा काम गर्ने मानिसहरुको कसरी मानमनितो राख्नु पर्छ भन्ने चेत छैन भने तिमीले यो मुलुकमा बस्नुको कुनै तुक छैन। यसर्थ तिमीलाई देश निकालाको हुकुम दिईन्छ । तिमीले यो मुलुक सदा सर्वदाको निम्ति छोड्नु पर्दछ।'
अर्को दिन डाडा पारीकी बेगमको नृशंसतालाई लिएर फिराद गर्दै अर्को हुल आयो। तिनले उनीहरुलाई दिन सम्म दुःख दिएकी थिइन्। बेगमलाई पुर्पक्षको निम्ति तुरुन्त झिकाईयो र राजाले उनलाई पनि देश निकालाको सजाय सुनाउदै भने, 'जसले हाम्रो खेतबारी खनजोत गरेका छन्, जसले हाम्रो बगानको हेरविचार गरेका छन् र तिनीहरुले तैयार गरिदिएको दाल, भात, डुकु खाने हामीहरुभन्दा ती कता हो कता उम्दा छन्। तिमीलाई यति जाबो कुरा पनि हेक्का नभएको हुँदा तिमी यो देशमा बस्न लायक छैनौ। यसर्थ यो देश छाडेर तिमी कतै टाढा भागि हाल। '
यसै क्रममा नर नारीहरुको अर्को हुल आयो। उनीहरुको के शिकायत थियो भने उनीहरुलाई त्यहाँको मठाधीशले मठ निर्माणको निम्ति ढुङ्गा ल्याएर कुद्न लाउथ्यो। त्यस बापत उनीहरुलाई उ फुटेको कौडी पनि दिदैनथ्यो। मठाधीशको खजाना भने सुनाचांदीले भरिपूर्ण हुन्थ्यो, उनीहरु आफै भने भोक भोकै तड्पिनु पर्दथ्यो।
राजाले मठाधीशलाई झिकाए र उसको सातो लिदै भने, 'तिमीले आफ्नो घाँटीमा लगाएको जनैको अर्थ जीवनमा प्राण भर्नु हो | तर तिमी जीवनबाट प्राण हर्ने उल्टो काम गरिरहेका छौ | तिमीले त कुनै पुण्य कर्म गरेका छैनौ। त्यसै कारण तिमीले यो देश कहिल्यै नफर्कने गरी छोड्नु पर्दछ |'
यसरी हरेक दिन जसो राजाकहाँ हुलका हुल मानिसहरु आउथे र फिराद गर्दथे | अनि हरेक दिन जसो कोही न कोही उत्पीडक देश निकलामा पर्दथ्यो |
यसरी सदिकका जनता दंगदास थिए, उनीहरु दिलखुश थिए |
एक दिनको कुरो हो | बुढापाका र युवा युवती राज प्रसादको प्रांगणमा भेला भए र राजालाई आमन्त्रण गरे | राजा एउटा हातमा श्रीपेच र अर्को हातमा राजदण्ड लिएर उनीहरुलाई भेट्न आए |
राजाले उनीहरुलाई सम्वोधन गरे, ' अब तिमीहरु मलाई केको निम्ति लतार्न चाहन्छौ ? हेर, यो तिमीहरुको नासो म तिमीहरुलाई नै फिर्ता गर्न चाहान्छु |'
तर उनीहरुले बिन्ति बिसाए, ' त्यसो होईन, मौसुफ नै हाम्रो असली राजा होईबक्सिन्छ। मौसुफले मुलुकलाई दुर्जनहरुबाट मुक्त गरीबक्सेको छ | ब्वाँसाहरुलाई भागा-रे-भाग बनाईबक्सेको छ | यस सुकर्मको स्वस्ति गाउन हामी यहाँ भेला भएका छौं। श्रीपेच मौसूफको वीरगाथालाई सुहाउँछ र राजदण्ड मौसुफको गौरवलाई |'
राजाले प्रत्युत्तरमा भने, ' म राजा हुँदै होईन, म कदापि होईन। तिमीहरु स्वयं नै राजा हौ। जब तिमीहरु मलाई कमजोर र खराव शासक ठान्थ्यौ उ बेला तिमीहरु आफै नै कमजोर र अराजक थियौ। अब मुलुकमा राम्रो थिति बसेको छ, त्यो पनि तिमीहरुको चाहना बमोजिम। म त तिमीहरु सबैको मनको तरना मात्रै हुँ |
तिमीहरुको कर्म विना मेरो केको अस्तित्व रहनु र ?! अब शासक जस्तो त्यस्तो कुनै कुरा हुने छैन | शासितहरु स्वयंले आफूलाई शासन गर्ने छन् |'
राजा श्रीपेच र राजदण्ड लिएर आफ्नो खोपीमा पुनर्प्रवेश गरे। बुढापाका र युवा युवति पनि दिल खुश हुँदै आ-आफ्नो दर्गा दिशा लागे।
तब भने त्यहाँको हरेक बासिन्दा आफूलाई राजै ठान्दथ्यो, एउटा हातमा श्रीपेच र अर्को हातमा राजदण्ड लिएको।




