काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश सिटमा टिकट लिलाम गरेका कारण पनि हार ब्यहोर्नुपरेको निष्कर्ष नेता कार्यकर्ताहरूले निकाल्न थालेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जीवनभर कांग्रेसको राजनीति गरेका कृष्ण न्यौपानेहरूलाई बलि दिएर तातोपानीबाट बैध अवैध धन्दा गरेर मालामाल भएका विष्णुबहादुर खत्री र राजेन्द्र श्रेष्ठलाई टिकट दिएपछि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा पराजित हुनुपरेको दृष्टान्त समेत दिन थालिएको छ । सिन्धुपाल्चोक कांग्रेसका नेता मोहनबहादुर बस्नेतले तस्करको बलमा पैसा खर्च गरेर चुनाव जित्ने सपना देखेका थिए । जुन ठ्याक्कै उल्टो भएको छ ।
विवादास्पद पूर्वसहसचिव भरतराज सुवेदीले रामचन्द्र पौडेललाई समेत दक्षिणा दिएर खत्री र श्रेष्ठलाई सिन्धुपाल्चोक १ को प्रदेशसभामा उम्मेदवार बनाएका थिए । पौडेलले आफ्नो गुटमा लागेका इमान्दार कार्यकर्ता न्यौपाने र भूपेन्द्र थापालाई बलि चढाएर थैली भेट्टाएपछि बद्नामहरूलाई टिकट दिने कुरामा सहमति जनाएका थिए ।
विगतमा तातोपानीको धन्दा चलाएर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका डनहरूलाई उम्मेदवार बनाएर पैसाको बलमा चुनाव जित्ने सपना देखेका मोहन बस्नेत करीब १० हजार बढी मतले हारेका छन् । स्वच्छ राजनीति गर्ने कांग्रेसका इमानदार कार्यकर्तालाई लत्याएर बद्नामहरूलाई टिकट दिएर राजनीतिमा विकृति भित्र्याउने, गुण्डागर्दी, कुटपिट गर्ने, डनगिरी गर्ने, धम्की दिने फोहोरी राजनीति गर्दै आएका बस्नेतलाई मतदाताले तिरस्कार गरेका छन् ।
सिन्धुपाल्चोकमा फोहोरी राजनीति गरेका कारण बस्नेत पराजीत भएको निष्कर्ष निकालिएको छ । मत पैसाले किन्ने संस्कृतिको विकास पनि कांग्रेसले गरेकाले सिन्धुपाल्चोकबासीले बस्नेतलाई पराजयको स्वाद चखाइदिएका छन् ।



