युद्धमा दुश्मनको हमलाबाट बच्नका लागि मुलुकहरूले विभिन्न उपायहरू अपनाउने गर्दथे । विगतको युद्धकालमा पनि विभिन्न देशहरूले विभिन्न तौरतरिका अपनाएका थिए । यस्तैमा मुलुकमा १३ हजार बंकर निर्माण गरेर चर्चामा आएको मुलुक थियो अल्बानिया । यो त्यही मुलुक हो जहाँ मदर टेरेसाको जन्म भएको थियो । मुलुकका वामपन्थी तानाशाह एन्वर होक्साले दुश्मनहरूको डरले पुरै देशभरी नै बंकर बनाएका थिए । अल्बानियाका एकजना गाइडले व्यंग गर्दै भनेका छन् अहिले यी बंकर मुलुकमा पर्यटन विस्तारको माध्यम बनेको छ ।
अल्बानियाका एड्रियाटिक तटबाट मुलुकभित्र प्रवेश गर्ने हो भने हरेक क्षेत्रमा बंकर देख्न सकिन्छ । होक्साले सन् १९७० को दशकमा यी बंकर बनाएका थिए । उक्त समय अल्बानिया विश्वबाट पूर्णरुपमा बाहिर थियो । तानाशाह होक्साको बंकर बनाउने निर्णयप्रति तत्कालीन सोभियत संघ रुष्ट पनि बनेको थियो । छिमेकी मुलुक योगोस्लाभिया तथा युनानदेखि लिएर अमेरिका र सोभियतजस्ता मुलुकबाटै डरत्रास भोग्नु परेपछि मुलुकको रक्षार्थ होक्साले बंकर बनाउन सुरु गरेका थिए ।
यी बंकर भ्लोरको खाँडीबाट राजधानी तिरानाको पहाडसम्म बनाइएको थियो । एउटा बंकर निर्माण गर्नका निम्ति दुई बेडरुम बराबर घर निर्माण गर्ने रकम खर्च हुन्थ्यो । त्यसैकारण पनि अल्बानिया युरोपको सबैभनदा गरिब मुलुक बनेको थियो । मुलुकका लागि यी बंकर आर्थिक बोझ बन्न पुगेका थिए । अहिले ठूलो संख्यामा विदेशी नागरिकहरू यी बंकरहरूकै अवलोकन गर्नका लागि अल्बानिया आउने गर्दछन् ।




