• शुक्रबार-बैशाख-७-२०८१

भक्तमानका अपहरणकारी पालिवाल:जेलभित्रैबाट लागूऔषधको कारोबार (भिडियोसहित)

 

 

काठमाडौं । कुख्यात अपराधीहरूलाई जेल पनि कमाउने माध्यम बन्ने गरेको छ । जेलभित्रका कैदीहरू त्यस्ता अपराधीहरूले शासन गरिरहेका छन् । जेल प्रशासनसँगको मिलेमतोमा कुख्यात अपराधीहरूले कैदीहरूमाथि शासन गर्ने गर्दछन् । जेलको नाइके, भाइ नाइके उनीहरू नै हुने गर्दछन् । असल चालचलन भएका कैदीलाई नाइके भाइ नाइके बनाउनुपर्नेमा जेल प्रशासनले घुस लेनदेन गरी कुख्यात अपराधीलाई त्यस्तो जिम्मेवारी दिने गरेको गुनासो प्राप्त भएको छ । 

 

 अपहरण तथा शरीर बन्धक मुद्दामा कैलालीको जेलमा संजाय काटिरहेका रोहित पालिवालले कैलाली कारागारमा जुवातास खेलाउने, लागूऔषधको कुलतमा लाग्ने र लगाउने, मदिरा समेत खाने गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । तर, पनि गृहमन्त्रालयले जेल प्रशासनका अधिकारीलाई सरुवा गरेको छ । तर पनि जेलमा जुवातास खेल्ने क्रम रोकिएको छैन । जेल प्रशासनको मिलेमतोमा पालिवालले यस्तो छुट पाएको पुष्टि भइसकेको छ । 


 पालिवाललाई कैलाली जेलमा जुवातास खेलाउने, लागू औषध र मदिरा सेवनको छुट दिइएको भिडियो सार्वजनिक भइसकेपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनअघि कारागारको निरीक्षण गरेका थिए । कारागार निरीक्षणका क्रममा तलासी लिन लगाउँदा ३९ वटा मोवाइल भेटिएको थियो । यसरी मोवाइल नै चलाउने छुट जेलमा कैदीलाई हुँदैन । तर, कैलाली कारागारमा पालिवाललाई मोवाइल चलाउन छुट दिइएको प्रजिअले निरीक्षण गर्दा नै खुल्यो । 


  मोवाइल नै चलाउन छुट पाएका पालिवालले बाहिरबाट लागूऔषध भित्र्याउने गरेको आरोप छ । २०७६ माघ १ मा तेण्डी भन्ने निराजन शाहले मगाएको भनी एक ब्यक्तिले भित्र पठाएको सामानमा खैरो हिरोइन भेटिएपछि जेलमा लागूऔषध भित्रने गरेको कुरा पुष्टी गरेको छ । खैरो हिराइन भित्र्याउन खोजेको देखिएपछि बसन्त खत्री पक्राउ परेका छन् । जेल प्रशासनकै मिलेमतोमा पालिवालको समूहले लागूऔषध भित्र्याउने गरेको खैरो हिरोइन बरामद भएपछि प्रष्ट भइसकेको छ । 


  भरतपुर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठको अपहरण गर्ने रोहित पालिवाललाई काठमाडौंका जेलमा राख्दा उनले गिरोह परिचालन गर्ने संभावनालाई ख्याल गरी कैलाली कारागारमा चलान गरिएको थियो । तर त्यहाँ पनि उनले लागूऔषध खाने, खुवाउनेदेखि जुवातास खेलाउने गरेको भिडियो नै सार्वजनिक भएको छ । 


जेलभित्रैबाट अपराधको साम्राज्य चलाउनेमा निर्माण व्यावसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यासम्बन्धी अभियोगमा कैद भुक्तान गरिरहेका गुण्डानाइके समीरमान बस्नेत पनि रहेको जेल स्रोत बताउछ । उनले श्रीमतीका माध्यमबाट धम्की दिने र असुली गर्दैआएको कुरा सार्वजनिक भएको थियो । बस्नेतको गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापासँगै कनेक्सन देखियो । बस्नेतसँग कनेक्सन देखिएका गृहमन्त्रीका भाइ नरेश थापालाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसो त जेलभित्र लागूऔषध मुद्दामा सजाय काटिरहेका बाहुन डनले पनि श्रीमतीमार्फत् असुली गर्ने गरेको प्रहरी स्रोत बताउँछ । 


सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यावसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको थियो ।  व्यावसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि २०७५ चैतमा नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियोरु। उनीहरूले इन्टरनेटमार्फत् कल गरी धम्की दिने र असुली गर्ने गरेका थिए । 


गोलघरभित्रै मिलेर व्यावसायीलाई धम्की दिएको खुलेपछि रमेश, समीरमान र रिगललाई गोलघरबाट अलग्याइएको थियो । 

 


 

प्रतिकृया दिनुहोस