काठमाडौं । मधेशको राजनीतिमा सक्रिय तर कमजोर उपस्थिति देखिन थालेपछि मतदाता आकर्षित गर्न संघीय समाजवादी फोरम र राजपाले पार्टी एकीकरणको हल्ला चलाएका छन् । मधेश केन्द्रित दलहरूबीच एकता अनिवार्य भएको भन्दै उनीहरूले निर्वाचनपछि एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । कांग्रेससंगको गठबन्धनले राजपा र फोरमलाई अपेक्षित फाइदा हुन सकेको छैन जसले गर्दा निर्वाचन परिणाम कमजोर हुने आंकलन पनि एकीकरणको चर्चा चलाएको बताइन्छ ।
महोत्तरीमा महन्थ ठाकुरलाई सहयोग गर्न कांग्रेसले उम्मेदवार फिर्ता गराए पनि स्वतन्त्र उम्मेदवार चन्द्रेश्वर झाले चुनौती दिएका छन् । झा पहिला स्वतन्त्रबाटै निर्वाचित भएका थिए । त्यसैगरी सप्तरीमा उपेन्द्र यादवलाई पनि समस्या देखिएको छ । संसदमा ‘कुुर्सी प्रहार’ प्रकरणका माओवादी सांसदकारुपमा चर्चा कमाएका उमेश यादवले उपेन्द्रलाई कडा चुनौती दिएका छन् । कांग्रेसको उम्मेदवार नभए पनि कांग्रेसीहरू उपेन्द्र यादवको पक्षमा खुलेर समर्थनमा आइसकेका छैनन् । यता, धनुषा ३ मा राजेन्द्र महतो र विमलेन्द्र निधिको प्रतिस्पर्धाले महोत्तरी र सप्तरीमा केही असर देखा परेको छ । जसले गर्दा राजपा र फोरमलाई असर गरेको छ ।
फोरम र राजपाको एकता हुने चर्चाले जनकपुरमा निधिलाई हराउन महतोलाई सजिलो हुनेछ भने महोत्तरीमा ठाकुरलाई जिताउन पनि सहज हुनेछ । सर्लाही छोडेर महोत्तरी पुगेका ठाकुरप्रति राजपाकै कतिपय नेताहरू असन्तुष्ट छन् । महोत्तरीका नेता शरतसिंह भण्डारी नै ठाकुरसंग खुशी छैनन् ।
यता, राजपा र फोरमले मधेश आन्दोलनका विभत्स फोटो देखाएर मत मागिरहेका छन् । सामाजिक सद्भाव खल्बलिने शैलीले उनीहरूले पहाडी समुदाय र राष्ट्रिय दलविरुद्ध निरन्तर घृणा फैलाउने काम गरिरहेको खबर छ । निर्वाचन आयोगले औपचारिकरुपमा सद्भाव नभा“ड्न र मृतकको फोटो, भिडियो देखाएर मत नमाग्न निर्देशन दिइसकेको छ ।



