काठमाडौंं । त्रिभुवन विश्वविद्यालयको शिक्षक–कर्मचारी सेवासम्बन्धी नियम–२०५० मा शिक्षक वा कर्मचारीको आचरणसम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ । यसमा शिक्षक तथा कर्मचारीले त्रिभुवन विश्वविद्यालय सम्बन्धी कामबाहेक कुनै प्रकारको अन्य रोजगारी कार्यकारी परिषद्बाट तोकिएको पदाधिकारी वा समितिको पूर्वस्वीकृति बेगर गर्नुहुँदैन भन्ने उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा एकैसाथ पूरा वा आंशिक समयमा समेत कुनै नियुक्ति लिई वा नलिई काम गर्नुहुँदैन भन्ने व्यवस्थासमेत शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा प्रष्टसंग उल्लेख गरिएको छ । नियम अनुसार त्रिविका शिक्षक तथा कर्मचारीले कुनै परामर्श वा अनुसन्धान सम्बन्धी प्रतिष्ठान खोल्न वा सञ्चालन गर्न चाहेमा उपकुलपतिको स्वीकृति लिनुपर्छ । तर, त्रिभुवन विश्वविद्यालयको यस्तो नियम यहीँभित्रका शिक्षक तथा कर्मचारीले कागजको खोस्टो बनाउँदै आइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसमा पूर्णकालीन जागिरे भइसकेपछि निजी क्याम्पस सञ्चालन गरी त्यसको पदाधिकारी हुन पाइँदैन । तर त्रिविका कैयन शिक्षक नियमविपरीत निजी कलेज खोलेर बसेका छन् ।
त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक रमेश सिलवाल गोल्डेन गेट कलेजको सीईओकारुपमा कार्यरत छन् । उनले गोल्डेन गेट कलेजको वेबसाइटमा गर्वका साथ आफूलाई सीईओका रुपमा चिनाएका छन् ।
सिलवाल त एक उदाहरण मात्रै हुन् । विश्वविद्यालयको नियम मिचेर निजी क्याम्पस सञ्चालन गर्ने धेरै प्राध्यापकहरू त्रिभुवन विश्वविद्यालयमा छन् ।
त्रिचन्द्र क्याम्पसकै सह–प्राध्यापक लक्ष्यबहादुर केसी लामो समयदेखि निजी कलेज सञ्चालन गर्दै आइरहेका छन् । उनी एसएबी स्कूल र एनआईसी कलेजका सञ्चालक हुन् । सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्गका सह–प्राध्यापक कृष्णप्रसाद न्यौपाने पनि त्रिविको नियमलाई धोती लगाएर निजी कलेजमा रमाउने व्यक्ति हुन् । स्रोतका अनुसार उनले लामो समयदेखि काष्ठमण्डप कलेज सञ्चालन गर्दै आइरहेका छन् ।
थापाथली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मनोजकुमार थापा काठमाडौं मोडेल उच्च माविका संस्थापक सदस्य हुन् । पाटन संयुक्त क्याम्पस, पाटनढोकाका सह–प्राध्यापक ध्रुवराज श्रेष्ठ पनि निजी कलेज चहार्ने शिक्षकका रुपमा परिचित छन् । अमृत साइन्स क्याम्पस, ठमेलका उप–प्राध्यापक जयप्रकाश हमालले पनि विना स्वीकृति मनमोहन मेमोरियल हेल्थ इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टर, सोल्टीमोडमा पढाइरहेका छन् ।
सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्गका शिक्षक सहायक जनक पौडेल, त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक वामदेव झा, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका प्राध्यापक प्रदीपकुमार भट्टराई, अमृत साइन्स क्याम्पस लैनचौरका सह–प्राध्यापक डा. सुरेन्द्रप्रसाद सिंह पनि निजी कलेजमा पढाइरहेका छन् ।
दिँदैनन् स्पष्टीकरण
त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक रमेश सिलवाललाई त्रिविले कैयन पटक स्पष्टीकरण सोधेको छ । सिलवाल मात्रै होइन, अन्य शिक्षकहरूलाई पनि नियमविपरीत निजी कलेज पढाएको बारे बुझ्ने त्रिविले स्पष्टीकरण पत्र काटेको छ । तर, अधिकांश शिक्षकहरूले त्रिविलाई स्पष्टीकरण दिन आवश्यक ठानेका छैनन् । स्रोतका अनुसार, त्रिविले स्पष्टीकरण सोध्ने र नियमविपरीत निजीमा काम गर्नेहरूले स्पष्टीकरण पत्र बुझेर चुप लागेर बस्ने क्रम लामो समयदेखि चल्दै आइरहेको छ ।




