काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ८ महिनामा केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । २०७६ जेठ ३ मा संयोजकमा ऐन महर र सहसंयोजकमा रंजित तामाङ घोषणा भएका थिए । संयोजक र सहसंयोजक तोकिएको ८ महिनामा ३ सय ३५ सदस्यीय केन्द्रंीय कमिटी घोषणा भएको छ । साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना केन्द्रीय सदस्यमा परेका छन् भने साविक माओवादी केन्द्रबाट १ सय ५५ सदस्य छन् ।
८ महिनापछि केन्द्रीय कमिटी पनि विवादरहित हुन सकेन । २०७६ पुस १८ मा केन्द्रीय कमिटीको सूची सार्वजनिक भएपछि साविक एमाले र माओवादीनिकट दुवै अखिलभित्र असन्तुष्टीको लहर नै छाएको छ । साविक एमाले निकट केन्द्रीय कमिटीमा निर्वाचितहरूमध्येबाट सुदीप शर्मालाई पूर्वअध्यक्ष नवीना लामा निकट भएकै कारण हटाइएको छ ।
अखिलको केन्द्रीय कमिटी घोषणामा संयोजक महर र सहसंंयोजक तामाङले गुटगत प्रतिशोध साँधेको आरोप छ । पार्टीभित्र आफ्नै गुटका कास्कीका विवेक देवकोटामाथि पनि संयोजक महरले न्याय गर्न सकेनन् । विद्यार्थीबीच लोकप्रिय देवकोटालाइै केन्द्रीय कमिटीमा राख्ने आश्वासन दिएर पनि नराखेपछि विद्यार्थी राजनीतिबाट सन्यास लिएको घोषणा सामाजिक संजाल फेसबुकबाटै गरेका छन् । उनले लेखेका छन्–‘दिर्घ अनेरास्ववियूका सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई एकमुष्ट बधाई ज्ञापन गर्दै, आफ्नो डेढ दशक लामो अखिल यात्राबाट बिदा लिने घोषणा गर्दछु । अबको यात्रा सूर्यको झण्डा बोकेर गाउँ तिर । जनताको बहुदलीय जनवाद जिन्दावाद ।’
केन्द्रीय कमिटी घोषणापछि साविक एमाले निकट गुट उपगुटमै विवाद निम्तिएको छ । पूर्व एमाले निकट अखिलको तर्फबाट २७ जना नयाँ केन्द्रीय सदस्य थपेकोमा महरले माधव नेपाल निकट भनेर चिनिएको गुटलाई १३ जनाको कोटा दिएका थिए । त्यो कोटा माधव नेपाल पक्ष भनेर चिनिएका तत्कालीन अखिलका सचिवत्रय सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई महरले सहमतिका साथ नाम दिनुपर्ने थियो । १३ वटामा आरतीले दिएका तीन मध्ये प्रदीप थापमात्र परेपछि उनी आक्रोसित भएकी छन् । लामाले स्याङ्जाका विश्वनाथ अर्याल र ललितपुरका प्रदीप शर्माको नाम दिइएकोमा ती नाम सूचीमा परेनन् । केन्द्रीय कमिटी घोषणा हुनासाथ लामाले सामाजिक संजाल फेसबुकमै असन्तुष्टी प्रकट गरेकी छन् । उनले आफ्नै गुटलाई विश्वासघात गरेको भन्दै लेखेकी छन्–‘गिर्नु त गिर्छ तर यति तलसम्म गिर्छ भन्ने कल्पनासम्म भएको भए आज फरक हुन्थ्यो । बिश्वासघातको पराकाष्टा ।’
पूर्वमाओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीभित्र पनि रन्जित तामाङले एक्लौटी नाम दिएको भनेर चर्को बिरोध भएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्षत्रय पञ्चा सिंह, दीपक देवकोटा र रविकिरण यादवसहितको टोलीले अखिलको केन्द्रीय कमिटी घोषणामा अन्याय भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नै गुनासो गरेका छन् ।
तत्कालीन अखिल क्रान्तिकारीका प्रदेश १ संयोजक मदन भट्टराई, प्रदेश २ संयोजक सूर्यनारायण साह, प्रदेश ४ संयोजक क्षितिज सापकोटा, प्रदेश ५ संयोजक नारायण खनाल र कर्णाली प्रदेश संयोजक अम्मराज शाहीले पनि केन्द्रीय कमिटी चयनप्रति असन्तोष प्रकट गर्दै अध्यक्ष प्रचण्डसमक्ष गुनासो दर्ज गरेका छन् । अखिल क्रान्तिकारीमा रन्जित तामाङले आफ्ना गुट बिरोधीलाई ठेगान लगाएका छन् । पंजा सिंह, देवकोटा लगायतका विद्यार्थी नेताहरू तामाङको कार्यशैलीका आलोचक थिए ।
उनीहरूलाई तामाङले केन्द्रीय कमिटीबाटै आउट गरिदिएका छन् । असन्तुष्टहरूले नेकपा अध्यक्ष प्रचण्डसँग गरेको गुनासोबारे तामाङले ‘महाधिवेशनको तुस’ र ‘अमूक नेताको इन्ट्रेष्ट’ भनेर भनेर टिप्पणी गरेका छन् ।
साविक एमाले निकट अखिलमा यसअघि निर्वाचित केन्द्रीय कमिटीका करिब ३५ जना कोही जनप्रतिनिधिमा निर्वाचित भएको र कोही सरकारी सेवामा प्रवेश गरेका र निस्क्रिय भएका कारण बिदा दिइएको छ ।



