काठमाडौ । पत्रकार र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ला भनेर कान्तिपुर प्रकाशन गृहले नयाँ फण्डा ल्याएको छ । नियमित दिंदै आएको तलब केही समय ढिलो गर्ने र प्रकाशनलाई संकट परेको देखाउने रणनीतिमा कान्तिपुर रहेको पत्रकारले जानकारी दिए ।
कान्तिपुरले वर्षौंदेखि हरेक महिनाको ४ गते नियमित तलब बैंकमा पठाउने गर्छ । सधै झैं यो पुस महिनाको ४ गते पनि मंसिरको तलबका लागि पत्रकार, कर्मचारीहरू नजिकका बैंकका एटीएममा पुगे । पाँचै बजेसम्म ढुकेर बस्दा पनि पैसो कुनै एटीएमबाट नआएपछि उनीहरू दुखी भई फर्किएका थिए । पछि उनीहरूले तलब अलि पछि पाइने जानकारी सम्बन्धित विभागीय प्रमुखबाट थाहा पाए ।
सरकारलाई झुक्याउन र नजिकै आइरहेको फागुन ७ को वार्षिकोत्सवमा नाफाको बोनस समेत लुकाउन व्यवस्थापनले गत साता यो चलाखीपूर्ण निर्णय गरेको गुनासो कर्मचारी र पत्रकारहरूको रहेको छ । न्यूनतम पारिश्रमिक आफूहरूले दिन नसक्ने, दिएमा पत्रिका बन्द हुन सक्ने भन्दै व्यवस्थापनको भनाई सरकारका मन्त्रीहरूले सुनेका छैनन् । कान्तिपुरको आम्दानीलाई नजिकबाट बुझेका यो सरकारका मन्त्रीहरूले केएमजी र प्रधान सम्पादक सुधीर शर्माका कुरा त सुनेनन् नै, आफ्नो निर्णय चाँडो कार्यान्वयन नभए कान्तिपुरलाई संकट पर्न सक्ने चेतावनी समेत दिइरहेका छन् । यहीबीचमा आफूहरूलाई आर्थिक संकट परेकोले नियमित तलब नै दिन नसकेको देखाउन कान्तिपुरले यो नाटक रचेको दावी त्यहाँ कार्यरत पत्रकारहरूको रहेको छ ।
२०७६ भदौ ९ गते सोमबार सम्पादक भएर आउनु अघि प्रधान सम्पादक शर्माले न्यूनतम पैसा पनि नदिई के रोइलो गरिरहेको भनी कान्तिपुर व्यवस्थापन र तत्कालीन प्रधानसम्पादक नारायण वाग्ले विरुद्ध ट्वीट गरेका थिए । संयोगले त्यसको केही महिनामै वाग्लेको पोष्टमा सुधीरले प्रवेश पाए । प्रधान सम्पादकमा सुधीरको प्रवेशपछि सबैले अब त पैसा बढ्ला भनी आशा गरे । तर पैसा बढ्नुको साटो न्यूजरुमको नियमित बैठकमा न्यूनतम रकम बढाउने छलफलै नगरौं भनी आक्रोशपूर्ण अभिव्यक्ति मात्रै दिएनन्, आफूले पहिले गरेका ट्वीट समेत कहिले नभेटिने गरी डिलीट गरे । तर, आजकाल सोसल मिडियामा हुने यस्ता विवादास्पद अभिव्यक्ति स्क्रिनसट हुन्छन् भन्ने हेक्का सुधीरले किन राखेनन् भनेर सहकर्मीहरू प्रश्न गर्न थालेका छन् ।
‘अब त पत्यारै लाग्न छाड्यो । काम गर्ने जाँगर चल्नै छाड्यो । मिटिंगमा पैसाको कुरै नगर्नु भनी थर्काउँछन् । हुँदाहुँदा तलब समेत नियमति आउन छोड्यो, सुधीर शर्मालाई भन्न नसकेपनि केही पत्रकारले समाचार सम्पादक श्रीश भण्डारीलाई सुनाउन थालेको एक पत्रकारले बताए । पत्रकार बलराम बानियाँलाई साइड लगाई भण्डारी प्रधान सम्पादक वाग्लेकै पालामा त्यो पदमा पुगेकोमा पत्रकारहरू उत्तिकै आक्रोशित रहेको पनि एक पत्रकारले बताए ।
पुराना पत्रकार निकाल्दै कान्तिपुर
चिट्ठा परेर समाचार सम्पादक बनाइएको भन्दै हाँसोको पात्र बनेका श्रीष भण्डारी र सम्पादक शर्माको गलत नीतिका कारण कान्तिपुर मुख्यालय र बाहिरका अनुभवी एवं पुराना पत्रकार हट्ने क्रम जारी छ । २०७६ पुस १ गते देखि नै समाचार डेस्कका अनुभवी पत्रकार शम्भु रेग्मीले जागिर छाडेका छन् । भण्डारी र शर्माले आफूलाई टिकिखानै नदिएको, जति काम गरेनि नदेखेको, तलब सुविधा कहिले नथपेको, विहानदेखि उनको चाकडीमा जुट्ने प्रदीप खतिवडाहरूलाई भने माया गरेको जस्ता आरोप उनले छोड्ने बेला न्यूजरुममै लगाएको चर्चा पनि पत्रकारहरूले गर्दैछन् ।
रेग्मी कान्तिपुरको भन्दा बढी नै तलब बुझेर एक अनलाइनमा जाने टुंगो लागिसकेको जानकारी हुन आएको छ । उनी भन्दा पहिले सोही डेस्कका रामरञ्जन पौडेल र वरिष्ठ पत्रकार गोपाल तिवारीले जागिर छोडेका थिए । तीनै जना पत्रकार आफूहरूलाई भण्डारीले गरिखान नदिएको भन्दै गुनासो गर्न थालेका छन् । प्रधान सम्पादक शर्माले पछिल्लो समय नेकपाभित्र प्रचण्ड विचार समूहका पत्रकारलाई भित्र्याउने र स्पेस दिन थालेपछि पत्रकारहरू रुष्ट छन् । रेग्मी र पौडेल प्रजातान्त्रिक विचारधारामा आस्थावान हुन् भने तिवारी तत्कालीन एमालेप्रति आस्था राख्ने पत्रकार हुन् ।
केएमजीमा नयाँ भित्रिएकामा विचार समूह जताभएपनि केही प्रतिभाशाली युवा पत्रकारहरू पनि परेका छन् । कोसेली हेर्ने गरी आएका दीपक सापकोटा कहलिएका साहित्यिक विधाका युवा पत्रकार हुन् भने विनु सुवेदी, मात्रिका दाहाल, बबिता शर्मा, फणिन्द्र संगमको क्षमताका विषयमा पनि हालसम्म कुनै प्रश्न उठेको सुनिएको छैन ।
जिल्लाबाट पनि ठूलै समूहलाई विदाई गर्ने तयारी केएमजीले गरेको खबर छ । टार्गेटमा स्थायी बनी सुविधा दिनुपर्ने पत्रकार पर्ने बताइन्छ । हेटौंडाका प्रताप विष्ट, धरानका हर्ष सुब्बा, महेन्द्रनगरका चित्रांग थापा, महोत्तरीका रवीन्द्र उप्रेती, भैरहवाका माधव ढुंगानासहितलाई केएमजीले टार्गेटमा राखेको चर्चा छ । ती सबै कान्तिपुरका स्थापनाकालदेखि कार्यरत वरिष्ठ पत्रकार हुन् । उप्रेतीले त आफूलाई तलमाथि गरे शर्मालाई सम्पादक, सम्पादक केही नभन्ने महोत्तरीको हाइवे मै बसेर उनलाई झापा जानबाट रोक्ने भन्दै जिल्ला ब्यूरोका सहकर्मीसँग खानेखुशी गरिसकेको पनि चर्चा छ ।
उनीहरूलाई हटाई आफू निकट जुनियर पत्रकार भित्र्याउने योजना प्रधान सम्पादक शर्माको गरिरहेको चर्चा छ । उता, शर्मा आउनु अघि भण्डारीले हटाउनै लागेका वरिष्ठ पत्रकार गणेश राई भने जोगिएका छन् । चाकडी नगरेकै कारण राईलाई ‘अब विकल्प सोच्नुहोला गणेशजी’ भन्न भण्डारीले भ्याएका थिए । त्यस्तो खप्कीपछि राई तनावमा परेका थिए । आजकाल उनी भण्डारीको कोठामै नछिरी दिएको जिम्मेवारी फत्ते गर्दै आएको बताइन्छ ।
जागिर खोस्ने क्रममा प्रधान सम्पादक शर्माले रौतहटका प्रतिनिधि पवन यादवलाई अर्को तनाव दिएको गुनासो केएमजी हेडक्वार्टरमा पुगेको बताइन्छ । २०७६ मंसिर २८ गते यादव थापाथलीस्थित कान्तिपुर कार्यालयमा पुगी शर्मालाई भेटेका थिए । ‘तपाई अब समाचार नपठाउनुस् है पवनजी, १३ वर्षदेखि नियमित काम गरिरहेका पत्रकार यादवलाई जागिर थमाउनुको साटो शर्माले त्यस्तो दवाव दिएपछि उनी विलोना गर्दै कान्तिपुरबाट बाहिरिएको एक पत्रकारले बताए । तर, उनले प्रधान सम्पादक शर्मासहित केएमजीविरुद्ध मुद्दा हाली अन्याय विरुद्ध लड्ने उद्घोष गरेको थाहा भएको छ । विराटनगरका पुराना पत्रकार वेदराज पौडेलको हालत पनि त्यस्तै रहेको बताइन्छ । विराटनगरकै अर्का पत्रकार लिलाबल्लभ घिमिरे पनि शर्मा विरुद्ध मुद्दाको तयारीमा लागेको खबर छ । (साँघु साप्ताहिक, पुस ७)




