काठमाडौं । काठमाडौं महानगरपालिकास्थित न्युरोड पाकोको सडक अस्तव्यस्त बनेको छ । ढल निर्माणका लागि भन्दै भत्काइएको सडक निर्माणले गति नलिएपछि यो क्षेत्र अस्तव्यस्त बनेको हो ।

१ महिनाअघि पिपलबोटदेखि आरबी कम्प्लेक्ससम्मै भत्काइएको थियो । सडक खण्डमा उतिबेलैदेखि एक डोजरसमेत स्ट्यान्डबाई अवस्थामा छ ।

तर, ह्युम पाइप राख्ने भन्दै भत्काइएको सडक अझै अस्तव्यस्त अवस्थामा छ ।
सडक निर्माणमा गतिरोध हुँदा आवागमनमा असजिलो भएको गुनासो सर्वसाधारणको छ भने व्यापार क्षय भएको गुनासो व्यापारीको छ ।
‘१ महिनादेखि महानगरपालिकाले सडक भत्काएपछि आवागमनमा असर परेको छ’, पाकोका एक मोबाइल पसल सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने , ‘अझै कति दिन यस्तो कष्ट झेल्नुपर्ने हो ।’
भत्किएको सडकमा पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ थालेको छ । सर्वसाधारणसँग चर्को शुल्क असुलेको भन्दै महानगरपालिकाको आलोचनासमेत हुँदै आएको छ । व्यस्त र साँघुरो क्षेत्रमा समेत महानगरले पार्किङ गराएपछि स्थानीय र सर्वसाधारण क्रुद्ध छन् ।
पार्किङबाट शुल्क असुल्न यो क्षेत्रको कुनाकाप्चासमेत नछाडेको महानगरपालिकाका लागि पाको क्षेत्रमा भत्किएको सडक थप आम्दानीका निम्ति सहयोगी बनेको छ । महानगरपालिकाले भत्किएको सडक कब्जा गरेर त्यही पार्किङ गराउन थालेको हो । भत्किएको सडक नबनाएर सर्वसाधारणलाई सास्ती कटाउँदै आएको महानगरले त्यही भत्किएको सडकसमेत नछाडी पार्किङस्थल बनाएपछि यो क्षेत्रमा पस्नै मुस्किल हुने गरेको छ ।

‘भत्किएको सडक कैयन दिन बित्दा पनि नबनाएर सास्ती दिएको छ । त्यसमा पनि फेरि खुट्टोसमेत हाल्ने ठाउँ नछाडी पार्किङ गरिएको छ । महानगरको प्राथमिकतामा पैसाभन्दा जनता कहिले पर्लान्’, बाटो नपाएर अल्मलिएका एक सर्वसाधारण गुनासो गर्दै दिए ।
वडाध्यक्ष भन्छन्– अब एक सातामा सक्छौं
काठमाडौं महानगरपालिका २२ वडा कार्यालयले १ महिनाअघि ठेक्का दिएर ढल मर्मत थालेको हो । २२ वडा कार्यालयका अनुसार, यसको बजेट २७ लाख रुपैयाँ छ ।
कामनपा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनसँग हामीले सोध्यौं भत्किएको सडकलाई पार्किङस्थल बनाउँदा भएको मुनाफाले पाकोको सडक निर्माणमा गतिरोध आएको हो ? वडाध्यक्ष महर्जनले जनताको सहजताका लागि ढल निर्माण कार्य भइरहेको दाबी गर्दै अबको १ सातामा काम फत्ते हुने दाबी गरे ।
‘जनताको सहजताका लागि हामीले फेरि–फेरि ढलको समस्या यो क्षेत्रमा नआओस् भन्नका लागि ह्युम पाइप राखिरहेका छौं’, उनले भने, ‘ अबको एक सातामा सडक पूर्ववत अवस्थामा फर्कन्छ ।



