• शनिबार-बैशाख-८-२०८१

JTUCC : ‘श्रम सम्मेलन’मा अवैधानिक संगठन 

 


काठमाडौं । विभिन्न नौवटा श्रमिक सम्बद्ध व्यावसायिक संगठनहरूको छाता संगठनका रूपमा रहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र   (JTUCC) ‘श्रम सम्मेलन’ आगामी २०७६ साल पौष ११–१२ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । तर, यस सम्मेलनमा तीनवटा विभिन्न राजनीतिक दलसम्बद्ध ट्रेड युनियनको वैधानिकतालाई लिएर मजदूरहरुले प्रश्न उठाएका छन् । ती संगठनहरूले एक वर्षभन्दा बढी समयदेखि श्रम कार्यालयमा दर्ता नवीकरण नगरेका कारण आगामी श्रम सम्मेलनमा सहभागितालाई लिएर श्रमिकहरूले प्रश्न उठाएका छन् ।  


श्रम संगठन सम्बद्ध स्रोतका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त समर्थित लालकाजी लामा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक ट्रेड  युनियन महासंघ, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाल समर्थित नवराज दाहाल अध्यक्ष रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी समर्थित इन्द्रदेव मिश्र अध्यक्ष रहेको नेपाल समावेशी युनियन महासंघको दर्ता नवीकरण नभएकाले सम्मेलनमा सहभागितालाई लिएर मजदूर वर्गले प्रश्न उठाएका हुन् । सम्मेलनको तिथि नजिकै आउँदै गर्दा वैधानिकतालाई लिएर प्रश्न उठेपछि सहभागिताको विषयले अन्योल सिर्जना भएको बताइन्छ ।


यस सम्बन्धमा  (JTUCC) का अध्यक्षसमेत रहेका नेकपा समर्थित नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको ध्यानाकर्षण गराउ“दा उनले  (JTUCC) आबद्ध सबै श्रम संगठनहरूको ‘श्रम सम्मेलन’मा सहभागिता रहने बताए । “पुष्टि नभएसम्म सम्मेलनमा सहभागिता रहन्छ नै,” उनले संक्षेपमा प्रतिक्रिया दिए । 


त्यसैगरी आगामी ‘श्रम सम्मेलन’बाट अध्यक्षका लागि चर्चामा रहेका नेपाली काँग्रेस समर्थित राष्ट्रिय ट्रेड युनियन महासंघका अध्यक्ष पुष्कर आचार्य  (JTUCC) आबद्ध संगठनको वैधानिकताका विषयमा जानकारी नआएसम्म ‘श्रम सम्मेलन’मा सहभागिता रहने बताउँछन् ।

 

आचार्य भन्छन्, “आबद्ध भएका संगठनहरूको दर्ता नवीकरण नभएको सम्बन्धी कुनै उजुरी हालसम्म प्राप्त भएको छैन । त्यसैले दर्ता नवीकरण नभएको सम्बन्धी चर्चामा आएका भनिएका संगठनहरूको समेत श्रम सम्मेलनमा सहभागिता रहन्छ ।”   
 

प्रतिकृया दिनुहोस