काठमाडौं । नेपाल आर्मीको हेलिकप्टर खरिदबाट कुस्ता कमिसन निकाल्ने दाउमा ठेस पुग्ने देखिएपछि आर्मीका उच्च अधिकारी तथा दलालहरू चोर बाटो अपनाएर कमिसन चप्काउने दाउ रच्न थालेका छन् । महँगो मूल्य तिरेर रसियाबाट दुई थान एमआई–१७–भी फाइभ हेलिकोप्टर सप्लाइ गर्ने प्रक्रिया अघि बढाइए पनि प्राविधिक समस्याले खरिद गर्न नमिल्ने भएको छ ।
तर, सेनाका केही उच्च अधिकारी तथा दलालहरू नियममिच्दै त्यही कम्पनीबाट जसरी पनि हेलिकोप्टर खरिद गर्न कम्मर कसेर लागेको रक्षा स्रँेतबाट थाहा भएको छ ।
जीटुजी भनिएतापनि नेपाली सेनाले दलालमार्फत रोजो बरन कम्पनीबाट हेलिकप्टर खरिद गर्न लागेको थाहा भएको छ । रोजो बरन रसियाको सरकारी स्वामित्वको कम्पनी हो । अनेक जालझेल गरी कागजपत्र मिलाएर यही कम्पनीबाट हेलिकोप्टर खरिद गर्न लागिपरेका दलाल तथा सेनाका अधिकारी एलसी रसियामा पठाउन नमिलेपछि तिल्मिलाएका छन् । स्रोतका अनुसार, नेपाली सेनाले दुई थान हेलिकोप्टर खरिद गर्न रसियाभित्रैको बैंकमा एलसी पठाउनु पर्छ । तर, अमेरिकी सरकारको रसियामाथिको आर्थिक नाकाबन्दीले त्यहाँ डलरमा एलसी भुक्तानी गर्न सम्भव छैन । ‘नेपालले डलर बाहेकमा भुक्तानी गर्न नमिल्ने र रसियाले डलरमा रकम बुझ्न नमिल्ने भएपछि हेलिकोप्टर दलालहरूलाई ठूलो समस्या आइपरेको छ’, स्रोतले साँघुलाई भन्यो ।
एलसी भुक्तानी समस्याले एमआई–१७ भी–फाइभ, दुई थान हेलिकोप्टर सप्लाई गर्न समस्या परेपछि शक्तिशाली मानिएका एजेण्ट दीपक भट्टले चलाखीपूर्वक नयाँ दाउ रचेको खबर छ । आर्मी स्रोतका अनुसार, दुनियाँलाई गुमराहमा राखेर दलाल भट्टले यही नामको नक्कली प्राइभेट कम्पनी युरोपमा खडा गर्दै रसियाबाट जहाज खरिद गरि छाड्ने प्रण आफूनिकटहरूसँग गरेको स्रोतले बताएको छ । ‘डलरमार्फत कारोबार गर्न सकस परेपछि रोजो बरन भन्ने नाम गरेको कम्पनी युरोपको कुनै मुलुकमा प्राइभेट कम्पनीको रुपमा रजिष्टर गरेर कागज पत्र मिलाएर नक्कली धन्दा सञ्चालन गर्ने दाउ चतुर कमिशन एजेण्ट भट्टले गरेका छन्,’ आर्मी स्रोतले साँघुलाई भन्यो, ‘नेपालको सार्वजनिक खरिद ऐन अनुसार, पनि जीटुजी भने पनि जे भने पनि यसरी शंकास्पद रुपमा कारोबार गर्न रोजो बरन पनि मान्दैन र ऐन नियम अनुसार पनि मिल्दैन । तर, भूषण राणा, आर्मीका केही उच्च अधिकारी र भट्ट नक्कली कम्पनी खडा गरेर त्यहीँबाट जहाज खरिद गर्ने ध्याउन्नमा लागेका छन् ।’
स्रोतका अनुसार, दुई थान एमआई–१७ भी–फाइभ लगभग रु. ४ अर्बको हेलिकोप्टर खरिदमा भूषण राणाको शक्तिको बलमा सुरुदेखि नै चासो राख्दै आइरहेका भट्ट कमिसनको खेल खत्तम हुने भएपछि केही दिनदेखि शक्ति केन्द्रमा समेत दौडधुप गर्न थालेको खबर छ । साँढे ३ अर्बभन्दा बढीको दुई थान एमआई–१७ भी–फाइभ आर्मीलाई सप्लाई गराउँदा पचासौं करोडौं कमिसन हात पर्ने भएकाले यो खेलमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा र उनका साला भूषण राणा लागेको नेपाल आर्मीभित्रै चर्चा छ । स्रोतका अनुसार, देउवा पत्नी आरजू र उनका भाइ भूषण राणाले रक्षा मन्त्री र नेपाल आर्मीको नेतृत्व दुवैलाई हेलिकोप्टर खरिदका लागि दबाब बढाइरहेका छन् ।
आरजू र भूषण ठेक्का पट्टा, सरुवा, बढुवालगायतमा चलखेल गरेको भन्दै पछिल्लो समय बद्नाम छन् । ‘शक्तिको दुरुपयोग गरेर कमिसन बटुल्ने धन्दामा लागेका आरजू र उनका भाइ भूषणलाई समातेर अर्बौंका ठेक्काको पछि लाग्ने दलालहरू यो काम फत्ते गर्न मरिहत्ते गरेर लागेका छन्’, आर्मीका एक उच्च अधिकारीले साँघुसँग भने । यस्तो गैरकानूनी काम सेनाले गरेमा अन्तर्राष्ट्रियरुपमा समेत नेपाली सेना बद्नाम हुनेछ, नेपाली सेनाको हवाई महानिर्देशनालयका एक अधिकृतले टिप्पणी गरे । दीपक भट्टहरूले नै यसभन्दा अघि पनि भी–फाइभ भनेर साधारण हेलिकोप्टर सप्लाई गरेर नेपाली सेनालाई गुमराहमा राखेर राष्ट्रको ढिकुटी सत्यानास पारेको ती सैन्य अधिकृतले बताए ।
निर्वाचन सम्पन्न हुनुअघि नै काम तमाम गर्नेगरी लगभग चार अर्बको एमआई–१७ भी–फाइभ हेलिकोप्टर सप्लाई गर्न प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई चर्को दवाव परेको स्रोत बताउछ । क्षेत्रीले दबाब थेग्न नसकेमा युरोपमा रोजो बरन नामक नयाँ कम्पनी खोलेर हेलिकोप्टरमा कमिसन चप्काउने दलाल र आर्मीका उच्च अधिकारीको चाहना छिट्टै पूरा हुनेछ । स्रोतका अनुसार, हेलिकोप्टर खरिदमा नेपाल राष्ट्र बैंकको भूमिकाले समेत काम गर्ने भएकाले राष्ट्र बैंकका मुख्य शाखा प्रबन्धक कहाँ र गभर्नर कार्यालय, एलसी विभागका हाकिमलाई समेत मिलाउन दलालहरू सक्रिय बनेको स्रोतले बताएको छ ।



