काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४ मंसिर ०८ गतेकोे निर्णय अनुसार लेखा उपरथी दर्जामा पदोन्नति भएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवनबहादुर अधिकारीलाई २०७४ मंसिर १० गते जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उपरथी दर्जामा पदोन्नति भएका लेखा उपरथी अधिकारीलाई सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । नेपाली सेनाका लागि आवश्यकताभन्दा पनि जब जब भुवनबहादुर अधिकारीलाई पदोन्नति हुन मन लाग्छ तब तब सेनाबाट थप दरबन्दीका लागि रक्षामा सिफारिस गर्न लगाउने र रक्षाबाट अर्थ र मन्त्रिपरिषदमा सिफारिस हँुदै आएको छ । नेपाली सेनाको अर्बौं अर्बको बजेटमा दाइँ गर्दै आएको भुवन अधिकारी साम, दामका साथै शक्ति केन्द्रहरूलाई रिजाएर पदोन्नति हुन सफल हँुदै आएका छन् । स्टाफ कलेज नगरेका, वहुविवाहमा अदालतबाट दोषी ठहर भएका भुवनवहादुर अधिकारीले धनकै बलमा सेनाभित्र पनि जागिर जीवनमा सातै खत माफ पाउँदै पदोन्नति खाँदै आएका छन् । सैनिक आर्थिक प्रशासन विभागको प्रमुख भएर बीसौं अर्बको बजेट खेलाउँदै आएका अधिकारीका लागि नेपाली सेनाको नेतृत्व नै लामोसमयदेखि उनीबाट प्रभावित हुँदै आएको स्पष्ट हुन्छ ।
सहायक रथी भुवन अधिकारीको यस्तो अकल्पनीय पदोन्नति घटनाले गर्दा विश्वमा नाम कमाउन सफल र फलामे अनुशासनमा बस्नु पर्ने नेपाली सेनाकै बद्नाम स्वयम् नागरिक सरकारबाटै भएको छ । नन्स्टाफ कलेज, अदालतद्वारा वहुविवाहमा दोषी ठहर भुवन अधिकारी सहायक रथीमा पदोन्नति भएको २ वर्षकैबीचमा चमत्कारिक ढंगले उपरथी दर्जामा पदोन्नति भएको घटनालाई नेपाली सेनाका अधिकृतहरूले आठौं आश्चर्यका रुपमा लिनुका साथै सेनाभित्र योग्यता, क्षमताभन्दा पनि धनवाद हावी भएकोमा चिन्ता ब्यक्त गर्न थालिएको छ ।
सहायक रथीमा पदोन्नति भएको यति छोटो अवधिमा उपरथीमा पदोन्नति हिजोको श्री ३ जंगे शासनमा पनि विरलै पाइन्थ्यो र श्री ५ महाराजाहरूको शासनकालमा पनि लोकलाजलाई ख्याल गरेर यति हदसम्म गर्ने चलन थिएन भनेर आर्मीकै रथीवृन्दहरूले टिप्पणी गर्न थालेका छन् ।
रथीवृन्दहरूको टिप्पणी अनुसार, नेपाली सेनामा यस्तै ब्रिफकेस पदोन्नतिले निरन्तरता पाउँदै जाने हो भने सेनामा पनि बिस्तारै नेपाल प्रहरीभित्र पदोन्नतिका लागि ब्रिफकेसभरी नोट बोकेर कुद्ने महारोग पस्ने भयो भन्ने चिन्ता ब्यक्त गर्न थालिएको छ । निर्वाचन आचार संहिता लागेको र काम चलाउ शेरवहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसको सरकारले हतार हतार २०७४ मंसिर आठ गते नै सहायक रथी भुवन अधिकारीको पदोन्नति गर्ने जरुरी के प¥यो भन्ने जवाफ नेपाली सेनाको नेतृत्व, रक्षा मन्त्रालय र मन्त्रिपरिषदले जनतालाई दिनु पर्ने छ ।
स्मरण रहोस्, साँघु साप्ताहिकले २०७४ कात्तिक २७ गते सोमबारको अंकमा ‘‘भाग्यमानी’’ जर्नेलको अर्को चमत्कार’’ शिर्षकमा नेपाली सेनाका लागि नभई नहुने स्टाफ कलेज समेत नगरेका सहायक रथी भुवन अधिकारीको पदोन्नतिका लागि सिफारिस भएको समाचार प्रकाशित गरिएको थियो । सो समाचार प्रकाशित भएको २ हप्ता पनि नबित्दै सहायक रथी भुवन अधिकारीको नेपाली सेनाको परम्परा, नियम मिचेर पदोन्नति गरिएको छ । धनकै बलमा सहायक रथी भुवन अधिकारीले नेपाली सेनाको सम्पूर्ण रेकर्ड तोडेर पदोन्नति खान सफल भएका छन् ।



