• शनिबार-बैशाख-८-२०८१

बीपीमा फेरि सुरु भयो टक्कर 

 

काठमाडौं । धरानस्थित बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सात महिनापछि २०७६ कात्तिक २२ गतेका लागि बोलाइएको सिनेट बैठक एकाएक स्थगित भएको छ । प्रतिष्ठानको कुलपति प्रधानमन्त्री र सहकुलपति स्वास्थ्य मन्त्री हुने वैधानिक व्यवस्था छ । कात्तिक २२ का लागि बोलाइएको बैठक एकाएक स्थगित हुनमा सहकुलपति तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वीपीका कार्यवाहक उपलकुपति गुरुप्रसाद खनालबीचको मनमुटाव नै कारकका रूपमा रहेको समाचार स्रोतको भनाइ छ ।


स्रोतको भनाइ अनुसार, सहकुलपति तथा मन्त्री यादव आफू निकट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबाट खेदिएका बीएन यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिस्टार नियुक्त गर्न चाहन्थे । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति संगीता राजभण्डारीसँग तालमेल र सहकार्य स्वाभाविक रूपमा अघि बढ्न नसकेपछि बीएन यादव धरानमै फर्किएका थिए ।

 

त्यसो त विवादमा फसेकी उपकुलपति राजभण्डारीले यादवलाई टिक्नखान नै दिइनन् । आर्थिक मामिला र लेनदेनमा कमजोर चरित्रका मानिने यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँगको सम्बन्धका आधारमा सके वीपीको उपकुलपति, नभए रजिस्टार हुन घुँडा धसेर लागिपरेका थिए । हाल उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा रहेको स्रँेत बताउछ । तर, वीएन यादवको यस स्वार्थमा बाधक बने, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको कृपाबाट कार्यवाहक उपकुलपतिमा नियुक्त गुरुप्रसाद खनाल ।


समाचार स्रोतको भनाइमा, प्रारम्भमा प्राडा. राजकुमार रौनियारलाई उपकुलपतिबाट लखेट्न उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र गुरुप्रसाद खनालबीच समझदारी भई उछिट्ट्याउन सफल भए । यसमा सफल भई आफू कार्यवाहक उपकुलपति बन्न अवसर पाएपछि गुरुप्रसाद खनालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग दूरी बढाउँदै गए र मन्त्री यादवको निर्देशनको टेरपुच्छर लगाउन छाडेको बताइन्छ । यही कारण हाल उनीहरूबीचको अन्तरद्वन्द्व र मनोमालिन्यका कारण २०७६ कात्तिक २२ गतेको वीपीको सिनेट बैठक स्थगित भएको थियो ।

 

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चाहिँ बीएन यादवलाई रजिष्टार नियुक्तिका लागि आवश्यक प्रक्रियासहितको सिफारिस मन्त्रालयमा फाइल पेश गर्न निर्देशन दिए पनि कार्यवाहक उपकुलपति गुरुप्रसाद खनालले टेर्न छोडेपछि मन्त्री यादवको योजना असफल भएको मन्त्रालय स्रोतको भनाइ छ । कार्यवाहक उपकुलपति खनालको टेरपुच्छर नलगाउने व्यवहारले गर्दा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव खनाललाई नियुक्त गरेकोमा पछुताउन थालेको बताइन्छ । 

प्रतिकृया दिनुहोस