• मंगलबार-कार्तिक-२६-२०७६

 महारथी, उपरथी र सहायक रथी समेत भ्रष्टाचारमा मुछिए : अनियमितता छताछुल्ल हुँदै !


काठमाडौं, कात्तिक २२  । नेपालमा सार्वजनिक निकाय तथा अन्य सरकारी कार्यालयको भ्रष्टाचारसम्बन्धी विषयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान र कारवाही गर्दछ । तर, देशको सुरक्षा, गोप्यता र संवेदनशीलतालाई मध्यनजरमा  राखेर नेपाली सेना बाहिरी हस्तक्षेपबाट मुक्त छ । नेपाली सेनाजस्तो अतिविशिष्ट सुरक्षा निकायमा भ्रष्टाचार हुँदैन भन्ने पनि गरिन्छ । तर, हालै सेनाभित्र गरिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धानले यो कुरालाई गलत सावित गरेको छ ।

 

नेपालको इतिहासमै  नेपाल आर्मीका पूर्व चीफलगायतका अन्य उच्च तहका रथीवृन्द्हरुसमेत अनियमिततामा संलग्न भएको आन्तरिक अनुसन्धानले पत्ता लगाएको छ । यसरी प्रधानसेनापति समेत उच्चतहका अधिकृतहरु भ्रष्टाचारमा संलग्न रहेको तथ्य सार्वजनिक हुनु देशकै लागि दुर्भाग्यपूर्ण कुरा हो । 


काठमाडौं–तराई फास्ट ट्रयाक परियोजनामा अनियमितता भएको आंकलन गर्दै नेपाल आर्मीका चीफ पूर्णचन्द्र थापाले अनुसन्धान गर्न रथी  शरद गिरीलाई निर्देशन दिएका थिए । 


रथी  शरद गिरीको नेतृत्वमा नेपाल आर्मीले गरेको अनुसन्धानमा यस परियोजनामा अनियमितता भएको र त्यसमा केही उच्च तहका अधिकृतहरुको संलग्नता भएको पत्ता लगाएको छ । राष्ट्रिय गौरवको चर्चित ७६.२ किलोमिट लामो काठमाडौं–तराई फास्टट्रयाक आयोजना सम्पन्न हुनुपर्व नै करोडौं रकम भ्रष्टाचार भएको नेपाल आर्मीको अनुसन्धान टोलीले  फेला पारेको हो ।  

 


तत्कालीन चीफ महारथी राजेन्द्र क्षेत्री, परियोजनाका प्रमुख उपरथी योगेन्द्र खाँणको कार्यकालमा यति ठूलो अनियमितता भएको र भ्रष्टाचारमा पूर्व आर्मी चिफ राजेन्द्र क्षेत्रीसंग समेत सम्बन्धित रहेको स्रोत बताउछ  । नेपाली सेनाको छानबिनमा पूर्व चीफ राजेन्द्र क्षेत्री, प्रोजेक्टका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र अहिलेको प्रोजेक्ट प्रमुख सहायक रथी शरदलाल श्रेष्ठको संलग्नाता  रहेको अनुसन्धानमा  फेला परेको हो ।


  रक्षा मन्त्रालय र नेपाल आर्मीमा यो आयोजनामा अनियमितता भएको गुनासो परेपछि नेपाल आर्मीले २०१९ अक्टुबर १८ (२०७६ कात्तिक १ गते)  अनुसन्धान सुरु गरेको थियो र तत्काल आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठलाई निलम्बित गरेको थियो ।

 

अवकाश भएका उपरथी योगेन्द्र खाँण आयोजना प्रमुख रहेको र उनको कार्यकालमा अनियमितता भएको कुरा संचार माध्यममा आएको थियो  ।   त्यसै कारण, अहिलेको अनुसन्धानमा उपरथी योगेन्द्र खाँण सेनाको विशेष अनुसन्धानमा परेको स्रोत बताउछ। 


उपरथी योगेन्द्र खाँणले अवकाश पाएपछि उनको ठाउँमा कमालसिंह प्रधान  बढुवा भएका थिए । कमाल सिंह प्रधान ढुवा भएर उपरथी भएपछि हाल काठमाडौं–तराई फास्टट्रयाक प्रमुख रहेका शरदलाल श्रेष्ठ  कमालसिंह प्रधानको ठाउँमा बढुवा भई २०७६ असार १९ गतेबाट सहायक रथी बन्न पुगेका थिए । सहायक रथी बढुवापछि पनि श्रेष्ठले  काठमाडौं–तराई फास्टट्रयाक आयोजना प्रमुखको जिम्मेवारी पाएका थिए । 

 

सैनिक ऐनका अनुसार, कोर्ट अफ इन्क्वायरीका  लागि सैनिक प्रहरीले आर्मीका अधिकृतहरु अवकाश भएको ६ महिनासम्म मात्रै अनुसन्धान अगाडि बढाउन र पक्राउ गर्न सक्छ । कोर्ट अफ इन्क्वायरीपछि मात्रै कोर्ट मार्शल हुन्छ । स्रोतका अनुसार, अवकास भएको ६ महिना अघि नै जर्नेल खाँण २०७६ पुस १३ भित्रै  पक्राउ पर्न सक्ने सम्भावना छ  ।  अनुसन्धानको विवरण छिट्टै सार्वजनिक गर्ने र सहायक रथी श्रेष्ठ निर्दाेष ठहरिएमा परियोजनाकै प्रमुखको रुपमा जिम्मेवारी पाउन सक्ने  सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् । 


काठमाडौं–तराई फास्टट्रयाक आयोजनामा  भएको भ्रष्टाचारका बारेमा साँघु साप्ताहिकले बारम्बार कुरा उठाउँदै आइरहेको थियो । साँघु साप्ताहिकले उठाएको यस आयोजनाको भ्रष्टाचार अहिले आएर नेपाली सेनाले पर्दाफास गर्ने  भएको छ ।

 

सेनाको यस अनुसन्धानले अर्काे कुरा यो पनि प्रमाणित गर्दछ कि विगतका दिनहरुमा पनि नेपाली सेनामा निर्माण, खरिदमा ठूलो अनियमितता हुँदै आएको थियो र संवेदनशीलताको फाइदा उठाउँदै यी कुराहरु दबिंदै आएको थियो ।

 

यस अनुसन्धानले चीफ क्षेत्रीलगायत अन्य उच्च तहका अधिकृतहरुलाई पनि कारवाहीको दायरामा ल्याउन सक्ने ठानिन्छ  । यसरी नेपाली सेनाभित्रको अनियमितताको  अनुसन्धान र भ्रष्ट अधिकृतहरुलाई कारवाही गरेमा सेनाभित्र पनि अब कसैले छुट नपाउने संदेश जाने सेनाभित्र र बाहिरी जनताले पनि चर्चा गर्न  थालेका छन् । 

प्रतिकृया दिनुहोस