• शुक्रबार-चैत-१६-२०८०

कमल थापाको विकल्प ज्ञानेन्द्र  ?

 

काठमाडौं । पुरानो दरबारिया शक्तिसँगै नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र कायम भएको देख्न चाहने विदेशी शक्तिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विकल्प हुनेगरी तेस्रो राजनीतिक शक्ति निर्माणको कसरत गर्न थालेका छन् । केही समय अगाडिसम्म कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तेस्रो वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्ने कसरत पुरानो दरबारिया शक्तिसँगै मुलुक बाहिरको हिन्दू धर्ममा झुकाव राख्ने राजनीतिक शक्तिले गरेका थिए ।

 

दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चौथो स्थान प्राप्त गरेपछि यो योजना बनेको थियो । तर, कमल थापा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा विभाजित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्वको ब्यक्तिगत स्वार्थ पूरा गर्न मात्र सनातन हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा उठाउने गरेको निष्कर्ष निकालेपछि पुरानो राजावादी शक्ति र हिन्दूवादी बाह्य शक्तिले राप्रपाको विकल्प खोज्दै सत्तारुढ नेकपा र प्रतिपक्ष्ँ नेपाली कांग्रेसको विकल्प हुने राजनीतिक शक्ति विकास गर्ने कसरतका साथै परिक्षण समेत गर्न थालेको जानकारी प्राप्त भएको छ ।

 

यसक्रममा पुराना राजावादी र हिन्दूवादी बाह्य शक्तिको समर्थन अहिले ज्ञानेन्द्र शाही सम्मिलित ‘नेपालका निम्ति नेपाली अभियान’लाई परिक्षणको रुपमा उपभोग गर्न थालेको संकेत देखिन थालेको छ । पुल्चोकमा केन्द्रीय कार्यालय रहेको नेपालका निम्ति नेपाली अभियान अहिले सामाजिक संस्थाको रुपमा मात्रै सक्रिय रहेको छ । यो सामाजिक संस्थालाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने सम्बन्धमा भने यो अभियानको नेतृत्व तहमा सहमति बन्न सकेको छैन ।

 

नेतृत्वमा रहेका एकथरी नेताहरू तत्काल यो अभियानलाई राजनीतिक दलमा रुपान्तरण गरेर व्यापकरुपमा परिचालन हुनुपर्छ भन्ने पक्षमा रहेका छन् भने अर्काथरी नेताहरू भने अहिले भ्रष्टाचार र प्रमुख राजनीतिक दलको असफलता र प्रमुख राजनीतिक दलमा विकास भएको विकृतिलाई प्रमुखताका साथ उठाएर गणतन्त्रविरुद्ध जनआक्रोस ब्यक्त हुनेगरी संगठन विस्तार गर्नुपर्छ र आम निर्वाचन हुने बर्षमा मात्र अभियानलाई पार्टीमा रुपान्तरण गर्नुपर्छ भन्ने पक्षमा रहेको स्रँेत बताउछ । 

 


उद्दण्ड स्वभावका युवा ज्ञानेन्द्र शाही संलग्न रहेको नेपालका निम्ति नेपाली अभियानलाई पुरानो राजावादी शक्ति र हिन्दूवादी बाह्य शक्तिले वैकल्पिक राजनीतिक शक्ति बन्छ कि भनेर नाडी छाम्ने योजना बनाएको सन्दर्भमा अब यही योजना अनुसार, नेपालका निम्ति नेपाली अभियान अगाडि बढ्ने र कमल थापा तथा पशुपति शमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने संवैधानिक राजतन्त्र र सनातन हिन्दू राष्ट्रका सन्दर्भमा देखाउने दाँतमात्र हुने स्थिति बन्दै गएको बताइन्छ । नेपालका निम्ति नेपाली अभियानले सीधै संवैधानिक राजतन्त्रको वकालत नगरेर राष्ट्रिय एकताका निम्ति स्थायी सर्वाेच्च संस्था आवश्यक भन्ने तर्क जनतासमक्ष लैजाने भएको छ ।

 

 
नेपालका निम्ति नेपाली अभियान भित्र पनि सीके राउतका वकिल रहेका सुरेन्द्र भण्डारी र अरु ब्यक्तिहरूबीच टक्कर रहेको बताइन्छ । सुरेन्द्र भण्डारीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको कुरा बाहिर एक्सपोज गरेपछि उनीहरूबीच पनि मनमुटाव भएको, निर्मल निवास र राजावादीहरूले पनि सुरेन्द्र भण्डारीको अपरिपक्व र उत्ताउलोपनलाई नरुचाएकाले अब उप्रान्त निर्मल निवासको ढोका बन्द भएको स्रँेत बताउछ । स्रोतका अनुसार, ज्ञानेन्द्र शाहीलाई भने नेपालका निम्ति नेपाली अभियानको प्रचार प्रसार गर्न र विभिन्न स्थानमा संघीय ब्यवस्था, गणतन्त्र र सरकारविरुद्ध उत्तेजित भाषण गर्न एक सभा बराबर रु.२५०००। खर्च उपलब्ध गराउने गरिएको छ ।  
 

प्रतिकृया दिनुहोस