• शुक्रबार-चैत-१६-२०८०

नेपाली दर्शकको मायाँ धेरै छ : बलिउड अभिनेता गोविन्दा

 


काठमाडौँ, २० कात्तिक (रासस) : बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताउनुभएको छ । 

 

    वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आउनुभएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”

 

    सोमबार पत्नी सुनितासँगै नेपाल आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गर्नुभयो । सुनिता भने नेपाली हुनुहुन्छ । उहाँले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

 

    गत वर्ष पनि उहाँ एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको थियो । उहाँसँगै भारतमा रहनुभएकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आउनुभएको छ । 

 

    चलचित्र निर्माता सङ्घको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा हुने उक्त कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । महोत्सवमा झण्डै २५ हजारको सहभागिता हुने अनुमान गरिएको महोत्सवको आर्थिक समितिका संयोजक शुशान्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 

    उहाँले हिमाल, पहाड र तराईलाई जोड्नका लागि नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । विसं २०२२ मा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो ।

 

    महोत्सव संयोजक तथा चलचित्र निर्माता सङ्घका उपाध्यक्ष विमल पौडेलले महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रमसँगै छनोट भएको चलचित्र प्रदर्शन तथा समीक्षा गरिनेछ । 

 

    यस्तै भारतका वरिष्ठ क्यामराम्यान मुरलीधरणले प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयो । 
–––
–––

प्रतिकृया दिनुहोस