काठमाडौं, मङ्सिर ११ गते। २०७४ मंसिर १० गते सिराहा जिल्लाको कल्याणपुर नगरपालिका-५ स्थित निर्धनाघाटमा मोटरसाइकलमा आएका अपरिचित २ जनाले गोली प्रहार गर्दा ई.प्र.का.मिर्चैया, सिराहा दरवन्दी भई अस्थाई प्रहरी चौकी चिकनामा कार्यरत प्रहरी जवान मायाराम यादव र चन्द्रअयोध्यापुर-७ घर भई अस्थाई प्रहरी चौकी चिकनामा कार्यरत म्यादी प्रहरी आदर्श कुँवरलाई पेटमा गोली लागेर सिकिस्त घाइते भएका छन् । उक्त चौकीबाट प्रहरी जवान मायाराम यादवको कमाण्डमा ६ जना म्यादी प्रहरी सहित गस्तीमा खटिएको अवस्थामा गोली प्रहार भएको थियो ।
उनीहरुलाई तत्काल उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल, कर्जन्हा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारार्थ नेपाल प्रहरी अस्पताल, महाराजगंज ल्याईएको छ । प्रहरी अस्पतालका अनुसार, प्रहरी जवान मायारामलाई अप्रेशन पश्चात ICU मा राखि भेन्टिलेटर प्रयोग गरिएको र अवस्था Semi-Conscious रहेको साथै म्यादी प्रहरी आदर्शको मुटुको धड्कन बेलाबेलामा कम हुने समस्या देखिएकोले ICU मा Observation मा राखिएको प्रहरीले जानकारी दिएको छ ।



