• शनिबार-बैशाख-८-२०८१

कोल्ड स्टोरको कथा : झापाली किसानको व्यथा र सरकारी कर्मचारीको घिन लाग्दो रवैया



   काठमाडौं । झापाको विर्तामोडमा रहेको रोयल कोल्ड स्टोरको बदमासीका कारण सयौं किसानहरु घर न घाटको अवस्थामा पुगेका छन् । तर, यस्तो वेला सरोकारवाला सरकारी निकायका कर्मचारीले पीडित किसानलाई सहयोग र सहानुभूति दिनुको साटो ‘हाम्लाई सोधेर कोल्ड स्टोरमा राखेका थियौ र, जे गर्ने गर’ भन्ने आसयको जवाफ दिएपछि किसानहरु थप मर्माहत भएका छन् ।


  ‘कृषि क्षेत्रका कर्मचारीहरु त एक से एक महाराज रहेछन्, तिनीहरुबाट किसानले कुनै किसिमको सहयोग पाउंछु भनेर आश गर्नु बेकार रहेछ’ पीडित किसान तथा झापा गाउँपालिकामा रहेको न्यू देउमाई कृषि सहकारीका अध्यक्ष ईश्वर दाहालले  मसंग भन्नुभयो ।


दाहालका अनुसार कोल्ड स्टोरमा राखिएको करीब ४ हजार बोरा बीउ आलु कुहेर नष्ट भएको छ । एक बोरामा ५० किलो हुन्छ । यो आधारमा २ लाख किलो बीउ आलु कुहिएको छ । ‘औसतमा ५० रुपैंया किलोको हिसाब गर्ने हो भने पनि करिब १ करोडको बीउ आलु कुहिएर नष्ट भएको छ ।’

 

उहांको भनाई छ । उहांका अनुसार उक्त संस्थाका सदस्यहरुको करिब १९ लाख बराबरको आलुको बीउ कुहिएको छ भने वांकी संस्थामा आवद्ध नभएका अरु किसानको आलु हो ।


हेक्का राखौं : ४ हजार बोरा बीउ आलु कुहिनु भनेको १० औं हजार बोरा आलु कुहिनु हो । अर्थात् वास्तविक क्षति पनि कैयौं गुण बढीहुन्छ ।


त्यस्तै आलुवाहेक सो कोल्ड स्टोरमा भण्डारण गरिएका फलफूलहरु पनि निकै ठूलो मात्रामा कुहिएको जानकारी उहांले दिनु भयो । एक जना स्याउ व्यवसायीले करिब २२ लाखको स्याउ कुहिएको आफूलाई बताएको र त्यस्ता व्यवसायी वा किसानको निकै धेरै भएकोले पीडितको संख्या र रकम निकै ठूलो रहेको दाहालको भनाइ छ ।


‘सम्पूर्ण कुरा बुझेर, शर्तसहित भण्डारण गरेका थियौं । त्यसैले कोल्ड स्टोरका संचालकहरुले सम्पूर्ण क्षतिपूर्ती दिनु पर्ने हो । तर, अनेक वाहाना बनाएर नदिएपछि हामीले सरोकारवाला सबै सरकारी निकायमा हार गुहार गर्यौं ।

 

झापादेखि विराटनगर, काठमाण्डौसम्म धायौं तर अंह कतैबाट सहयोग त कुरै छोडौं, सहानुभूति पनि पाइएन । कुनै पनि कर्मचारीले तपाईहरु कसरी पीडित हुनु भो भनेर राम्रोसंग बुझ्ने प्रयास नै गरेनन् । 


 सरकारी कर्मचारीहरु आफैमा महाराज रहेछन्, जनताका सेवक हुन्, तिनीहरुबाट सहयोग, सहानुभूति पाइन्छ भन्ने सोच्नु नै हाम्रो भूल रहेछ सर, किसानको त पीडा सुनिदिने पनि कुनै निकाय नै रहेनछ’ उहांले निराश हुंदै भन्नुभयो । कोल्ड स्टोरको वदमासी वा ठगीबाट भएको पीडा माथि सरकारी कर्मचारीका तिखा वचनहरु आलो घाउमा नुन चुक छर्किए जस्तै पीडादायी भएको उहांको कथन छ ।

 

कोल्ड स्टोरले क्षतिपूर्ती देला कि नदेला, अहिलेको समस्याबाट आफू र आफू जस्तै अन्य किसानहरुले कसरी पार पाउलान् भन्ने चिन्ता एकातिर छ, सरकारी कर्मचारीको बचनको तीरले हानेको घाउ अर्काेतर्फ छ । ‘त्यस्ता तीरहरुले ती महामहिम कर्मचारीलाई जवाफ दिने दिन आउला नी भनेर सबै घटना र कर्मचारीहरुको एक एक विवरण चांही हामीले राखेका छौं’ दाहालले मसंग भन्नुभयो । 


 ( तस्विर कोल्ड स्टोरमा राखिएको कुहिएको आलु नजिकैको खाली ठाउंमा फ्यांकेको अवस्थामा ।। पहिलो तस्विर कोल्ड स्टोर भित्र कुहिएको आलुका बोराहरु )

प्रतिकृया दिनुहोस