• शुक्रबार-बैशाख-१४-२०८१

भक्तपुर अस्पताल प्रकरण : मेयरले अदालतलाई पनि टेरेनन्

 

 

भक्तपुर । क्यान्सर रोगीहरूले सस्तो उपचार सेवा पाइरहेको भक्तपुर क्यान्सर अस्पताल नेपाल मजदुर किसान पार्टीको राजनीतिक रणमैदान बनेको छ । अर्बुद रोग निवारण संस्थाले उक्त अस्पताल संचालन गर्दैआएकोमा २०७६ साउन ३० मा नेमकिपाबाट निर्वाचित भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको नेतृत्वमा उक्त अस्पताल कब्जा गरिएको छ । अस्पताल संचालन गर्ने बैधानिक कार्यसमितिलाई साउन ३० गतेदेखि प्रवेश निषेध गरिएको छ ।

 


लोकेन्द्र श्रेष्ठ अध्यक्ष भएपछि क्रमशः उक्त अस्पतालले जनविश्वास आर्जन गरी पैसाको अभावले उपचार गर्न नसकेका बिरामीलाई पनि क्यान्सरको उपचार गराएर जीवन बचाउँदैआएको थियो । 


  अस्पतालले क्यान्सर रोगीको उपचारमा अत्यावश्यक लियानक मेसिन दान र सहयोगबाट १८ करोड रुपैयाँमा खरिद गरिसकेको छ । लियानक मेसिन खरिद गरिसकेपछि निजी क्यान्सर अस्पतालले आफ्नो ब्यापार डाँवाडोल हुने देखेर नेमकिपाबाट निर्वाचित नगरप्रमुख र अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठलाई प्रयोग गरी उक्त अस्पतालमा भाँडभैलो सृजना गराउन सफल भएका छन् ।

 

अस्पताल कब्जा भएपछि आधा कर्मचारीले तलव पाएका छन् भने कतिले पाएका छैनन् । चिकित्सकहरूले तलव माग्दा अस्पताल कब्जा गर्ने मुख्य पात्र मानिएका प्रशासकीय प्रमुख राजाराम तलेजु र लेखापाल जगन्नाथ भूर्तेलले हप्कीदप्की मात्र होइन, हातपात नै गर्न तम्सिएपछि आतंक नै छाएको छ । भक्तपुरका सांसद महेश बस्नेतले नेमकिपाले क्यान्सर अस्पताल बलात कब्जा गरेकोमा बिरोध गर्दै सरकारसँग बैधानिक कार्यसमितिलाई उक्त अस्पताल संचालन गर्ने वातावरण मिलाउन अनुरोध गरिसकेका छन् ।  

 


अदालतको आदेश पनि अवज्ञा 


नेमकिपा नेतृत्वको टोलीले अस्पताल कब्जा गरिसकेपछि सर्वोच्च अदालतमा रिट दायर भयो । गैरकानुनी रुपमा नगरपालिकाले अस्पतालको बैधानिक कार्यसमिति अपदस्थ गरेकाले उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन माग गर्दै दायर रिटमा अदालतले २०७६ भदौ १० मा अन्तरिम आदेश दियो । नगरपालिकालाई अस्पताल पहिलेकै कार्यसमितिलाई संचालन गर्न दिनू भन्ने अन्तरिम आदेश दियो । तर त्यो अन्तरिम आदेश पनि भक्तपुर नगरपालिकाले अवज्ञा गर्दै आएको छ ।

 

अस्पतालका प्रशासन प्रमुख राजाराम तलेजु र लेखापाल जगन्नाथ भूर्तेलको संलग्नतामा नेमकिपाको अस्पताल कब्जाको बिरोध गर्नेहरूमाथि भौतिक आक्रमण नै गर्ने खालका गतिबिधि भइरहेको छ । अस्पतालमा दैनिक ८ लाख रुपैयाँ संकलन हुने गरेको र उक्त रकम नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्दैआएकोमा २०७६ भदौ २३ देखि कात्तिक १ सम्म पनि जम्मा नभएको स्रोतले बताएको छ ।

 


 भदौ २३ देखिको रकम नेमकिपाले अस्पतालको मेडिकल डाइरेक्टर बनाएका डा. ऋषिकेशनारायण श्रेष्ठले के गरे कहाँ छ भन्ने खुलाइएको छैन । अदालतले अन्तरिम आदेश दिएका कारण अर्को बैंकमा खाता खोल्न खोजे पनि अवैधानिक भएकाले खोल्न सकेनन् । ३ लाख रुपैयाँभन्दा बढी पीटी क्यास(दैनिक आइपर्ने खर्च) बाहेक राख्न पाइँदैन । अरु बैंकमा राख्नुपर्छ । त्यस्तो रकम दैनिक कम्तीमा ८ लाख हुने गर्दछ । तर उक्त रकम भदौ २३ देखि बैंकमा जम्मा छैन । 

 


असोज २३ देखि मेडिकल डाइरेक्टर श्रेष्ठ पनि अस्पतालमा आएका छैनन् । समूह नै नमिले पनि ऋषिकेशलाई यसअघि डा. प्रकाश न्यौपानेले भक्तपुर क्यान्सर अस्पतालमा प्रवेश गराएका थिए । उनको कार्यकाल सकिन लागेपछि उनी क्यान्सरको डाक्टर नभएकाले म्याद थप नगर्ने देखेपछि उनले नै नेमकिपाका मेयरलाई उचालेर बलात अस्पताल कब्जा गर्न लगाएको खुलिसकेको छ । असोज २३ देखि ऋषिकेश नारायण अस्पतालमा नआउनुको कारण कात्तिक ५ को पेशीको ब्यवस्थापनलाई पनि लिने गरिएको छ ।

 

भदौ १० को अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारेमा कात्तिक ५ मा पेशी छ । त्यो पेशीमा अन्तरिम आदेशलाई निरन्तरता नदिनका लागि सेटिङ गर्नका लागि उनी अस्पताल नआई लागेको चर्चा पनि छ । ऋषिकेश क्यान्सरका डाक्टर पनि होइनन् । उनी पाटन अस्पताल, आम्दादेखि किष्टमा कार्यरत रहँदा पनि छवि राम्रो नभएर बाहिरिएका थिए । अहिले भक्तपुर क्यान्सर अस्पतालमा पनि उनले क्यान्सर बाहेकका बिरामीको अप्रेसन गर्ने गरेका छन् । जसका कारण क्यान्सर रोगीहरूको उपचारमै ब्यवधान उत्पन्न हुँदैआएको छ ।

 


आधा कर्मचारीले तलव पाएनन्


प्रशासकीय अधिकृत राजाराम तजले, लेखाका भूर्तेल र शिवरत्न धाख्वाले आधा गैरकानुनी रुपमा अस्पताल कब्जाको समर्थन गर्नेलाई तलव दिएका छन् भने अरु आधा कर्मचारीलाई दशैंमा समेत तलव नदिएको समाचार छ । तलव माग्ने अस्पतालका पुराना चिकित्सकलाई समेत तजले र धाख्वाले अहिले अप्ठेरो छ, पछि दिउँला भनेको होइन, निहुँ खोज्ने भनेर हप्काएर चुप लाग्न बाध्य बनाएका छन् । तलव खुवाउन सहकारीबाट १ करोड ऋण लिन खोज्दा पनि सफल हुन सकेनन् ।

 

२०७६ साउन ३० मा मेयर प्रजापतिको अध्यक्षतामा बसेको अस्पतालको बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुखदेखि कोहीपनि आएका थिएनन् । साउन ३० मा मेयर प्रजापतिले अस्पताल कब्जा गरी बैंक खाता संचालन गर्नेदेखि प्रक्रिया नै नपुगी बीसौं जनालाई बढुवा गरेका थिए । जुन निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिए पनि मेयर प्रजापतिले अदालतलाई समेत अटेर गर्दैआएका छन् । त्यसपछि बैठक नै बस्न सकेको छैन । 

 


प्रशासकीय अधिकृत राजाराम तलेजुले अस्पतालमा आफन्त भर्तिकेन्द्र बनाएको आरोप छ । उनका १० भन्दा बढी नातागोता उक्त अस्पतालमा कर्मचारी राखिएका छन् । अहिले क्यान्सर अस्पतालमा वार्ता हुन नदिने, भाँड्ने र भड्काउने काम नै तजले र धाख्वाले गर्दैआएका छन् । जसलाई डा. रोशन धाख्वाले पनि साथ दिएका छन् । रोशनको काम चाहिँ अर्बुद रोग निवारण संस्थाले क्यान्सर अस्पतालको कार्यवाहक अध्यक्षको रुपमा खटाएका महेश श्रेष्ठ लगायतसँग पनि साखुल्ले हुने र कुरा लिने त्यो कुरा तलेजुहरूलाई सुनाउने गरेका छन् ।

 

अस्पतालका कर्मचारीहरूले विगतमा जस्तै विनाब्यवधान संचालन हुनुपर्ने माग गर्दा तलेजुले नेमकिपाका कार्यकर्ता बोलाउने, चुल्ठेमुन्द्र बोलाउने र तर्साउने गर्दैआएका छन् । कर्मचारीहरूबीच आपसमा कुराकानी गर्दा पनि सुराकीका रुपमा एकअर्कालाई परिचालन गरी आतंकित बनाउने गरेको आरोप तलेजुमाथि लागेको छ ।
 

प्रतिकृया दिनुहोस