• शुक्रबार-बैशाख-७-२०८१

थारु गाउँमा उमङ्ग  : नृत्य टोलीसँगै बडा दशैँको टीका


कञ्चनपुर, २१ असोज (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे  ।

 

थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ । सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे । उनले भने, “यस पटक झुम्रा नृत्य टोलीसँगै पुगेर टीका थापे ।”

 

 गुरुवासँग टीका थापेर आशीर्वाद  लिएपछि झुम्रा नृत्यसँग सखिया नृत्यको सबै गाउँलेसँग बसेर मनोरञ्जन मात्रै लिएनन् सधैँ कामको सिलसिलामा गाउँभन्दा बाहिर बस्नेहरुको हालचाल बुझ्नाका साथै भलाकुसारी गर्नसमेत भ्याए ।

 

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने परम्परागत चलन रहेको छ । कोशेलीका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जाने चलन रहेको छ ।

 

गुरुवासँगै गाउँका मान्यजन वडाध्यक्ष, सदस्य, वडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने पुरानो चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्षको घरमा पुगेरसमेत पिपलाडी र जोनापुरको सखिया, झुम्रा नृत्य टोलीसहित गाउँका सबैले टीकासमेत थापे । 

 

यस पटक वडा कार्यालयले दशैँका अवसरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलबहादुर ऐरले मान्यजनबाट टीका थापे भने आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिए ।

 

पालो पर्खंदै पहुरा (कोसेली) लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि मान्यजन कहाँ जाने गरेका छन् ।

 

टीका थाप्न गाउँ गाउँबाट सखिया, छोक्रा, लठुवा र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजनकहाँ जाने चलन रहेको स्थानीयवासी परदेशी चौधरीले बताए ।

 

गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए ।

 

“हाल जनप्रतिनिधिकहाँ पुगेरसमेत टीका थाप्न थालेका छौँ”, उनले भने  । 

 

बडघरपछि गुरुवा, केसौका जनप्रतिनिधि र मान्यजनबाट पालो पालो सामूहिक रुपमै थारु समुदायले  टीका थाप्ने गरेका छन् ।

 

टीका थाप्नेहरुका लागि टीका लगाउने बडघर र गुरुवाको घरमा चामलको पीठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको हुन्छ ।

 

आज दिनभर सखिया नाचको रौनक हुने भएकाले थारु गाउँमा उमङ्ग थपिएको छ । 
–––

प्रतिकृया दिनुहोस