• शुक्रबार-चैत-१६-२०८०

गर्मी छल्दै, सूर्योदय हेर्दै

 

 

    इलाम (अन्तुडाँडा), ४ असोज (रासस) :  झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ ।
    


    इलामको सूर्याेदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) र चार पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । तराई मात्र नभई नेपालका प्रसिद्ध पर्यटकीय स्थलबाट समेत पर्यटक अन्तुडाँडा पुग्ने गरेका छन् । यहाँ आउने जो कोही पर्यटकले यहाँबाट देखिने मनोरम दृश्य हेर्न लोभिने गरेका छन् ।
    


    भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताए  । हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उनले बताए  ।


    
    समुद्री सतहबाट करीब दुई हजार ३०० मिटर उचाइमा रहेको अन्तुडाँडामा रहेका चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख यहाँका आकर्षण हुन् । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एशोसिएशनका केन्द्रीय सदस्य एकराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने पाँच वटा होटेल रहेका छन् ।
    


    प्रायः वर्षभर नै पर्यटकको आगमन हुने गरेको बताउँदै उनले यहाँबाट झण्डै १५ मिनेट नाङ्गो आँखाले सूयोदय देख्न सकिने जानकारी दिए  । यहाँबाट भारतको दार्जलिङ घुमपहाडलगायतका रमणीय दृश्य पनि नियाल्न सकिन्छ । श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल पनि यहाँको अर्को आकर्षण हो । तालमा देखिने धुपी सल्लाका बोटहरू, चिया बगानको छायाँले अर्को आकर्षण थपेको छ ।


    
    चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताए  । नेपालको पयटकीय विकासमा श्रीअन्तुले महत्वपूर्ण योगदान दिएको बताउँदै उनले यहाँको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाटै थप पहल भएमा यो आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने धारणा राखे  ।


    
    सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन् । अन्तुले पर्यटकीयरुपमा २०४०/४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्था पछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए  ।


    
    विसं २०५२ देखि पेइङ गेष्टका रुपमा यहाँ स्थानीयले होमस्टे शुरु गरे पनि होमस्टेका रुपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उनले जानकारी दिए । पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउछन्  । 

 

    सूर्योदय हेर्नकै लागि इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुन हिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए  ।
–––

प्रतिकृया दिनुहोस