• शुक्रबार-बैशाख-७-२०८१

नयाँ केटाहरू अलि सन्की छन् : बाबुराम लामा

 

(जो मानिस सन्तुष्ट हुन्छ ऊ सुखी हुन्छ । उसलाई सानातिना उतारचढावले फरक पार्दैन । जसले सानो उपलब्धिमा पनि सन्तुष्टि लिन सिक्छ उसलाई ठूलो चाहना पनि हुँदैन । मानिस कति उपलब्धि पाउँदा बढी सन्तुष्ट हुन्छ भन्ने कुराको सीमा पनि सम्भवतः हुँदैन होला । यस्तै थोरै पाउँदा पनि धेरै सन्तुष्ट हुनेमध्येका पर्छन् बाबुराम लामा । धादिङका २७ वर्षे बा २ क ४३२८ नम्बरको टिपरका चालक लामा आफ्नो काममा सन्तुष्ट छन् । आखिर के छ यसको पर्दा पछाडिको रहस्य ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसंग लामाले आफ्नो जीवनकुण्डली खोलेका छन्–सम्पादक) 

 

० गाडीलाइनमा आएको कति भयो ? 


–१० वर्ष भयो । 

 


० कसरी आउनु भयो त ? 


–साथीभाइको संगतले भन्नुपर्ला । ६ कक्षामा पढ्दापढ्दै छाडेर आइयो । मेरो दाइ पनि हुनुहुन्थ्यो गाडीलाइनमा । 

 


० पढ्न छाडेर पछुतो लाग्दैन ? 


–लागेन । गाडीलाइन ठीक छ भनेर पढ्न छाडेरै यो लाइनमा आएको हुँ । अहिलेसम्म काम गरिरहेकै छु । नपढेर पछुतो छैन । 

 


० के गरियो गाडीलाइनमा पहिले ? 


–मैले सुरुका दुई वर्षसम्म ट्रकमा काम गरें । सहचालक भएर काम गरेको हुँ । त्यसपछि मैले ८ वर्ष भयो टिपर चलाउन थालेको । टिपरमात्रै चलाएँ मैले । 

 


० कस्तो छ काम गर्न ? 


–काम गर्न सजिलो त पक्कै छैन । काम गरे पैसो छ नगरे छैन । 

 


० टिपरलाई अहिले कत्तिको अप्ठेरो छ ? 


–टिपर त सबैको आँखाको तारो बनेको छ । राजधानीमा गाडी दिनमा छिराउन पाइँदैन । एक टिपमात्र काम हुन्छ । पहिले तीन चार टिपसम्म हुन्थ्यो । अहिले एक टिपमात्र हुँदा घाटा छ । एक हजारमात्र भत्ता पाइन्छ । दिनमा पनि राजधानीमा चलाउन पाए राम्रो हुन्थ्यो । सरकारले दुःख दियो ।

 


० विरोध गरिएन ?


–गरिएको थियो धादिङमा । साथीहरूले पनि विरोध गरेका थिए । तर, काठमाडौंमा भने गरेनौं । यहाँ एकजुट हुँदैनन् । आपसमा मिल्न सकिँदैन । त्यसैले त प्रशासनले जे चाह्यो त्यही गर्न सक्छ । 

 


० सुविधा कस्तो छ नि ? 


–ठीकै छ । हाम्रो त लङ्गाली ढुवानी सेवा हो । कम्पनी नै छ । सबैलाई समान व्यवहार हुन्छ । 

 


० कमाइ कस्तो छ नि ? 


–कमाई पनि ठीकै छ । बचत छैन । 

 


० विदेशतिर जाने सोच त छैन ? 


–जाने भनेर पासपोर्ट पनि बनाएको हो । तर मिति सकिन थाल्यो होला जान सकिएन । 

 


० कहाँ जान खोज्नु भएको थियो ? 


–कतार र टर्कीतिर जाने भनेर खोजेको हो । ट्राइ गरियो । भएन । तर राम्रो चान्स मिले फेरि जाने मन छ । 

 


० रमाइलो पनि गरिन्छ होला नि ? 


–मोजमस्ती त भैहाल्छ नि । तर बालबच्चा पाल्नुपर्ने भएकाले त्यस्तो गरिएन । प्रायः बिहे नगरेकाहरू त्यसरी हिँड्छन् । 

 


० कति छन् सन्तान ? 


–एक छोरा र एक छोरी छन् । 

 


० गाडीलाइनमा आउलान् ? 


–आउँदैनन् । उनीहरूको जमाना नै अहिले अर्कै छ । हाम्रो जमाना अर्कैै थियो । 

 


० गाडीलाइन कस्तो छ नि ? 


–ठीकै छ । आफूले सिकेको सीप यही हो । अरु जानिदैन । जे छ ठीकै छ । तर तनाव पनि हुन्छ । भीडभाडमा हिँड्नु पर्छ । टिप झार्दा रातिको ११–१२ बज्छ । गाडी चलाउन थालेपछि कोठामा नपुगुन्जेल तनाव हुन्छ । 

 


० टिपर त अलि खतरा हुन्छ रे  ? 


–हैन त्यस्तो । म ढुक्कले हिँड्छु । गल्ती गरेपछि डराउने हो । तर गल्ती नगर्दा त मान्छेले हान्न आउँछन् भने गल्ती गरे के होला । 

 


० टिपरबाटै दुर्घटना चाहिं किन बढी हुन्छ त  ? 


–दुर्घटना गराउने ड्राइभरले नै हो । फेरि टिपरलाई त अपराधी नै ठान्छन् । पब्लिकले टार्गेट गरेकाले बिस्तारै चलाउन प¥यो । युवा केटाहरूले अनियन्त्रित भएर गाडी चलाएकै कारणले दुर्घटना हुने हो । पुराना पुराना ड्राइभरहरू ठीकै छन् । नयाँ केटाहरू अलि सन्की छन् । गाडी कुदाउन पाए भने नराम्रोसंग कुदाउँछन् । 

 


० ट्राफिक प्रहरीको ब्यवहार कस्तो लाग्छ छ नि  ? 


–बढी किचकिच हुन्छ । टिपरलाई जानीजानी गल्ती देखाउँछन् । पहिले त ट्राफिक प्रहरी  पैसा खान्थे । अहिले कम्पनीको गाडी भएकाले हामी नै दिदैनौं । ट्राफिक प्रहरीले चिट काटे काटोस् । तर, घुस दिइँदैन । 


 

प्रतिकृया दिनुहोस