• मंगलबार-बैशाख-११-२०८१

प्रहरीकै बदनाम गर्दै पूर्व एआईजी र डीआईजी 

 पूर्वएआइजी विज्ञानराज शर्मा र पूर्वडीआइजी केशव अधिकारी


 
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि भिडियोमा बोलेको कुरालाई आधार बनाई प्रहरीले जनतासंग सीधा कुराका संचालक रवि लामिछाने, युवराज कँडेल  र अस्मिता कार्कीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सकेको छ  । प्रहरीले जनही पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै २०७६ भदौ ८ गते चितवन जिल्ला अदालतमा मुद्दा प्रस्तुत गरेको छ। 


  नेपाल प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेका लामिछानेका समर्थकहरुले उनी निर्दोष भएको जिकिर गर्दै चितवनदेखि काठमाडौंसम्म भब्य जुलुस प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा अराजक नाराहरु पनि लाग्ने गरेका छन् । लामिछानेको पक्षमा देखिएको प्रदर्शनलाई राजावादीहरुले धमिलो पानीमा माछा मार्ने माध्यम बनाएको आरोप पनि लाग्ने गरेको छ । जुलुस र सभामा ज्ञानेन्द्र शाहीहरुको उपस्थितिले राजावादीहरुले लामिछाने पक्राउलाई धमिलो पानीमा माछा मार्ने माध्यम बनाएको कुरालाई पुष्टि गरेको छ । 


 प्रहरीले शंका लागेमा अनुसन्धानका लागि जोकोहीलाई हिरासतमा लिनसक्छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि ‘लामिछानेको कारण’ भनेकाले उनलाई सोधपुछका लागि हिरासतमा लिएको बताएको छ । अनुसन्धानमा निर्दोष सावित भए उनी छुटिहाल्छन् । तर, अनुसन्धान नै गर्न नहुने जस्तो अराजकता भीडले प्रदर्शन गरिरहेको छ । जुन भिडको आवाजको अग्निमा पूर्वप्रहरी अधिकृतहरुले घ्यू थप्ने काम गरिरहेका छन् । 


 पूर्वएआइजी विज्ञानराज शर्मा र पूर्वडीआइजी केशव अधिकारीले लामिछानेलाई अनुसन्धानका लागि राखिएको बिषयलाई लिएर नेपाल प्रहरीको साख गिराउने गरी मिडियामा अन्तर्वार्ता दिइरहेका छन् । जुन संगठनमा ३० बर्ष जागिर खाए, प्रतिष्ठा कमाए, करोडौंको आर्थिक समृद्धि हासिल गरे, भब्य बंगला बनाएर राजशी ठाँट्ले जीवन शैली भोगेर मस्तीको जिन्दगी जिउन सफलहरु नै त्यही संगठनको बिरुद्ध बिषबमन गर्न उनीहरु किञ्चित लज्जा नमानेकोे देखेर प्रहरीहरु छक्क पर्न थालेका छन् ।

 

राज्य कोषबाट सुविधा भोग गरिरहेकाहरु ब्यवस्थाविरुद्ध लागेका राजावादीहरुलाई उकास्न सक्रिय रहेको देखिएको छ । 
 अवकाश प्राप्त एआइजी शर्मा र डीआइजी अधिकारी पछिल्ला दिनमा राजावादीहरुको संगतमा पुगेर पेशागत मर्यादाविरुद्ध गएर सक्रिय भएका छन् । प्रहरीको उछित्तो काढ्ने राजावादी ज्ञानेन्द्र शाहीसंग उनीहरुको घनिष्ठता बाक्लिएको छ । 


नेपाल प्रहरीमा विज्ञानराज शर्मा खेलकुद पृष्ठभूमिबाट आएका हुन् । अच्यूतकृष्ण खरेल दोस्रो पटक आइजीपी हुँदा दीपक मल्होत्राहरुले सुन तस्करी गर्न छुट पाएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीएसपीका रुपमा शर्मालाई सेट गरेका थिए । प्रमुख कुवेर राना थिए, तर एयरपोर्टको सबै सेटिङ शर्माले गर्ने गरेको चर्चा त्यसबखत ब्यापक थियो । त्यतिबेला नै शर्माले आफ्ना भाइ दया शर्मालाई मल्होत्राको ब्यापारिक पार्टनर बनाएका थिए । जो अद्यापि उनका पाटर्नर छन् । कपिलवस्तुका एक मुसलमान समुदायका ब्यक्ति मार्फत् उनले जग्गामा करोडौं करोड लगानीगरेको उनका समकक्षी प्रहरी अधिकृतहरु नै चर्चा गर्दछन् । 


 एसएसपी हुँदा फरार अभियुक्त राजु गोर्खालीलाई आफ्नै गाडीमा चढाएर लाने क्रममा उनको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । र, उनको गाडीबाट गोर्खालीलाई पक्राउ गरिएको थियो । उनी भने एसएसपीको परिचयपत्र देखाएर जोगिएका थिए । गोर्खालीसंग शर्माको ब्यापारिक साझेदारी नै रहेको चर्चा प्रहरीमा हुने गरेको छ ।


पूर्वडीआइजी केशव अधिकारी २०४६ सालमा कालिमाटीमा आन्दोलनकारीले प्रहरीलाई ठेलागाडामा हालेर नगर परिक्रम गराउँदै कुटीकुटी मार्दा इन्स्पेक्टर थिए । कालिमाटी प्रहरीका इन्चार्ज अधिकारीलाई त्यतिबेला नै जागिरबाट निलम्बन गरी बर्खास्त गर्नुपर्नेमा दीपक बोहराको कृपाले गर्दा उनी जोगिए ।  मण्डलेका गुरु बोहरा र अधिकारी भैरहवाका मात्र होइनन्, सहपाठीसमेत हुन् । डीएसपी हुँदा तत्कालीन गहृमन्त्री गोविन्दराज जोशीले सवारी अनुमतिपत्र बितरण (लाइसेन्स)को प्रमुख बनाए । जुनबेला प्रहरीले लाइसेन्स दिन्थ्यो ।

 

त्यतिबेला उनले मोटरसाइकल र गाडीका लाइसेन्स ट्रायलमै सहभागी नभई प्रतिगोटा ३ देखि १० हजार असुलेर  दिने गरेको आरोप लागेको  थियो  । उनले लाइसेन्समा बस्दै करोडौं कमाएको आरोप लागेको थियो । दमौलीमा इन्स्पेक्टर हु“दा रामचन्द्र पौडेल र जोशी दुवै नेतासंग उनको राम्रो सम्बन्ध भएकाले त्यही आधारमा लाइसेन्स वितरण गर्ने अवसर पाएका थिए । एसपी हुँदा ललितपुरमा पनि उनी बदनाम भएका थिए । श्रीमतीमार्फत्  कारोबार गर्ने अधिकारी ट्राफिक महाशाखाको प्रमुख हुँदा पोष्टहरुबाट दररेट अनुसार मासिक उठ्तीपुठ्ती तोकेको  आरोप पनि लागेको थियो  ।

 

त्यतिबेला मध्यपश्चिमान्चलको डीआइजीमा सरुवा भए । र, जडिबुटी तस्करीदेखि विभिन्न असुली काण्डमा परेपछि उनलाई तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले २ पटकसम्म स्पष्टीकरण लिएका थिए । ट्राफिकमा हुँदा उनको मातहतमा एसपी वसन्त पन्त थिए । पन्तसंग कुरा  मिलेकाले उनले मध्यपश्चिममा पनि संगै लगेका थिए । तर, मध्यपश्चिममा गइसकेपछि पन्तसंग उनको कुरा नमिलेपछि स्पष्टीकरण समेत सोधेका थिए । 


नेपाल प्रहरीमा हुँदा भ्रष्टाचार गरी सात पुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरेका बदनाम पूर्व प्रहरी अधिकृतहरु अहिले अनुसन्धानको सिलसिलामा रहेको सामान्य कुरालाई तीललाई पहाड बनाउने र प्रहरीको छविमाथि हिलो छ्याप्न तल्लीन भएर लाग्नुको रहस्यको खोजी हुनु पर्ने कुरा प्रहरी विभागमा नैै उठ्ने गरेको प्रहरी स्रोत  बताउछ ।

प्रतिकृया दिनुहोस