• शुक्रबार-बैशाख-७-२०८१

सडक पाईलटसंग अन्तरंग : अरूको काम सबैलाई सजिलो लाग्छ

(जसले मह काड्छ उसैले हात चाट्छ । मिहिनेत जसले गर्छ उसैले सुखको अनुभूति गर्छ । काममा थोरैमात्र पनि शिक्षा थप्न सकियो भने त्यो सुनमा सुगन्ध नै हुन्छ । सुन हुँदा पनि सुगन्धले धोका दिएका युवा हुन् सुमन लामा । ३८ वर्षे हेटौंडाका सडक पाइलट सुमन गाडीलाइनमा लागेर पेन्सन लिने बेला भइसकेको छ । उनी मिहिनेतले यहाँसम्म आइपुगे पनि कहिं न कहिं उनको शिक्षाले धोका दिएको उनी स्वीकार्छन् । आखिर किन ? ना ६ ख १९२७ नम्बरको गाडीका चालक सुमन लामाले साँघु साप्ताहिकको सडक पाइलटसंगको अन्तरंगमा यसरी खोेलेका छन् ड्राइभरको जिन्दगी पाटो–सम्पादक) 

० गाडी लाइनमा कहिलेदेखि आउनु भयो ? 
–२२ वर्ष भयो ।


० सिधै स्टेयरिङ घुमाउनु भयो कि ? 
–हैन । चार वर्ष जति ट्रकको ढोकामा बसियो । त्यसपछि मात्र स्टेयरिङ घुमाएँ । 


० कसरी आउनु भयो त यो लाइनमा ? 
–दाइहरू ड्राइभिङ गर्नुहुन्थ्यो । अनि लहलहैमा आइयो । १० कक्षा पढ्दापढ्दै छाडेर आएँ । नपढेको अहिले पछुतो लागिरहेको छ । तर, पछुतो लागेर के गर्नु अब काममै ध्यान दिनुपर्ने भएको छ । 


० अनि के चलाउनु भयो नि पहिले ? 
–ट्रक चलाएँ । ६ वर्षसम्म ट्रक चलाएँ । २०५८ सालदेखि २०६४ सालसम्म ट्रक चलाएँ । त्यसपछि म विदेश गएँ । 


० कहाँ जानुभयो ? 
–म साउदी गएँ । त्यहाँ मैले ड्राइभर पेशा नै गरें । ट्रेलर चलाएँ । 


० गाडी चलाउन सजिलो नेपाल कि साउदी ? 
–साउदीमा धेरै सजिलो । बाटो ठूलो छ । आफ्नै ट्रयाकमा चलाउन पाइने । नेपालमा त्यस्तो हुँदैन नि । 


० कति वर्ष बस्नुभयो साउदी ? 
–६ वर्ष बसें । बीचमा आउने जाने गरें । 


० अनि किन फर्किनु भयो त ? 
–त्यही त हो परदेशको जिन्दगी । नेपालीलाई त्यति नराम्रो त गर्दैनथ्यो तर तलब नबढाएपछि हामी गएका १२–१३ जना सबै फर्कियौं । 


० फर्केपछि के गर्नुभयो ? 
–केही महिना आराम गरें अनि बस चलाउन थालें । १४ वर्ष भयो गाडी चलाउन थालेको । अहिले काठमाडौं काँकडभिट्टाको बस चलाइरहेको छु । 


० कस्तो रै’छ त गाडी लाइन ? 
–यस्तै त हो नि, दुःखी पेशा । कमाइ छैन । खान लाउन पुगेको छ । विदेशमा पनि खासै राम्रो भएन । एकमुष्ट आउने भएकाले धेरै देखिएको हो । यहाँ टिप सिस्टम हुने भएकाले बचत हुन गार्हो हो । 


० कति छन् नि सन्तान ? 
–एक छोरा र एक छोरी छन् । 


० आउँछन् यो लाइनमा ? 
–आउँदैनन् । सबैले यो लाइन राम्रो भन्दैनन् । दुनियाँको ज्यान जोगाउने ड्राइभरलाई नराम्रो भन्नेलाई के भन्ने र खोइ । 


० किन होला ? 

–कुनै कुनैले नराम्रो काम गरेको भएर होला । सबैलाई एउटै नजरले हेर्न थालियो ।

 
० के रै’छ त ड्राइभरको जिन्दगी ?
–हँसिमजाक । रमाइलो । दुःख । राति निद्रा पचाएर हिँड्नै पर्यो ।

 
० काम गार्हो छ ? 
–अरुको काम सबैलाई सजिलो लाग्छ । उसको कामको पीडा उसैलाई थाहा हुन्छ । 


० सजिलो ट्रक कि बस ? 
–बस नै चलाउन आनन्द आउँछ । तर, बसमा ३० थरिका मान्छे हुन्छन् । कहिले किन स्पिडमा चलाएको भन्छन् । कहिले किन बिस्तारै चलाएको भन्छन् । उनीहरूको चित्त बुझाउन सकिँदैन । 


० लामो दूरीमा एउटै चालक हुन्छन् कि दुईजना ? 
–मैले बस चलाउन थालेदेखि दुई जना चालक नै छन् । हेटौंडा–काकडभिट्टा चल्ने रुटे बस भएकाले काठमाडौंबाट हेटौंडा पुगेपछि अर्को गुरुजी फेरिन्छ । त्यहाँबाट काँकडभिट्टा फेरिएको गुरुजीले लैजाने । अनि फर्किदा त्यही गुरुजीले ल्याउने । त्यहाँबाट मैले काठमाडौं ल्याउने । 


० दुर्घटना भएको छ ? 
–छैन । नहोस् । दुर्घटना लापरवाहीले हुन्छ । बाइकवालाले बढी लापरवाही गर्छ । मर्ने पनि बाइकवाला नै हुन्छ । दोषी ठूलो गाडी हुन्छ । 


० ट्राफिक प्रहरी कस्तो छ ? 
–दुःख त दिन्छ नै । उसलाई पनि आफ्नो ठाउँमा गा¥हो हुँदो हो । काठमाडौं बाहिर पनि चेकिङका नाममा दुःख त दिन्छ नै तर काठमाडौमा बढी दुःख दिने । एक जना बढी यात्रु राखे किन बढी भनेर सोध्ने ट्राफिकले खाली गाडी लिएर हिँड्दा किन यात्रु छैनन् भनेर कहिल्यै सोध्दैन । 


० सम्मान छैन ? 
–छैन । अहिलेसम्म कसैले सम्मान गरेको छैन । पहिले पहिले हुन्थ्यो रे भन्ने सुनेको छु । तर देशका ठूला ठूला व्यक्तिलाई पनि बोकेर गइन्छ । जिम्मेवारीपूर्वक गन्तव्यमा पुर्याइन्छ ।   


० के छ भोलिको सोच ? 
–यही काम सिकियो । यही त होला नि । गाडीलाइनमा हिँडेपछि अरुमा काम गर्न मन लाग्दैन । गाडी चलाउँदिन भनेर एक दुई महिना घर बसे पनि फेरि के गरौं गरौं भन्ने हुन्छ । 

प्रतिकृया दिनुहोस