• मंगलबार-बैशाख-४-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

आर्थिक वर्षको समाप्तिमा सरकार र सरकारका हर्ताकर्तामा देखिएको चुप्पिलाई
मैले पुरै यो साता तराईका डुबान र बाढी ग्रस्त क्षेत्रमा प्रिटेस्ट गरेर बिताएँ ।
मलाई नेपाल कतै बिझेन, न त नेपाली नै ।
ती असाध्यै अबोध र निर्दोष लागे ।
बाढी, पहिरो र झरिलाई एउटा हदसम्म बेहोर्ने बानि लागेको मेरो दौंतरी बथुसित पनि
कुनै गुनासो थिएन, न त कुनै पश्चाताप नै ।
नेपाल जस्तै छ बथु चौधरी, निर्दोष र अबोध ।
यो पानीलाई सरकारले के गर्छ हौ, दाजु ।
उसको भाष्य त्यस्तै थियो ।
भारतीय टीभीहरूमा बलान नदीको चर्चा भइरहेको थियो ।
मैले बलान  त चर्चित भयो नि भनेर सुनाए ।
बँँसको खट जस्तो बनाएको छाप्रोमा तल बाढीको पानी बगिरहेको छ ।
ऊ हाँस्दै भन्छ, बलानको पानी बढेको चिन्ता होइन, दाजु ।
चुरेमा झरि पर्दा यस्तै हो ।
चिन्ता त धानको बिउको पो त हो ।
धानको बिउ पानी मुनि डुबेको छ उसको ।
पैंचो ल्याएको धान पनि बाढीले बगाएको छ ।
यस पाला त काठमाण्डौं आफै डुबेर आत्तिएको छ ।
हाम्रो डुबेको बिउको बारे त कसले पो सोच्ला र हौ, दाजु ।
बथु चौधरी बलान किनारमा भेटिएको दौंतरी हो ।
जसलाई म कहिलेदेखि चिन्छु, मलाई थाहा छैन । 
सायद म जतिखेरदेखि आफूलाई चिन्न थालेको छु ।
ंसंखुवासभाका माथिल्ला लेक बस्तीहरूमा चहारेर फर्किंदा
म भन्दा पहिला पानी तल झरिसकेका थिए ।
आर्थिक वर्षको अन्त्यमा सरकारको बाक्य किन फुटेको छैन 
अब कसैले बोली रहन पर्दैन ।
उसले उठाएका राजस्वले भन्न थालेका छन् ।
रातारातको फुपुको श्राद्ध गराईले बोलेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले ओकलेका छन् ।
खासमा यतिखेर,
प्रधानमन्त्रीको समृद्धि सपनाले छादेको छ ।
यस्तोमा, हाम्रा प्रधानमन्त्री ‘पोलिटिकल करेक्टनेस’ खोज्नु हुन्छ ।
यो स्वाँग मात्रै होइन ।
देशको समृद्धिका बारे योभन्दा ठूलो फरेब क्यै हुनै सक्तैन ।
र, प्रधानमन्त्रीको फरेबलाई पत्याइ दिने हाम्रो चाला
योभन्दा ठूलो आडम्बर अर्को हुनै सक्तैन ।
प्रधानमन्त्रीको पोलिटिकल करेक्टनेस र त्यो फरेबलाई पत्याउने हाम्रो आडम्बर
दुबैलाई यतिखेर सरकारको छुस्के बेहोरा र भद्दा कल्पनाशीलताले नरकट झै उभ्याएको छ ।
मलाई लाग्दछ,
सरकारको उलन काठीमा बस्नु भएका हाम्रा प्रधानमन्त्रीलाई
आफ्नै समृद्धिको छाद गन्हाएको हुनु पर्दछ ।
अब त बुझ्ने बेला भयो म भन्दिन ।
म कति मात्रै भन्छु,
हन हौ, यो अपुताली सत्तालाई लिएर
हाम्रा प्रधानमन्त्री इतिहासको कुन गौंडामा आफ्नो शालिक बनाउनु हुन्छ ।
मलाई त त्यो हेर्न मन लागेको छ ।
दौंतरी बथुलाई ‘को नो’ चिन्ता छैन ।
यसपालीको झरीले उसलाई फेरि भसाउँछ ।
माटोमा गाडिंदागाडिंदा
बथु नेपाली कम, मधेसी ज्यादा भएको छ ।
बेसी र कमको न्यारेटिभमा हामी साँचो बोल्न नसक्ने भएका छौं
एक पुरिया मुरही बोकेर पानीमा हेलिएर कसैले
सराकार र सरकार प्रमुखको चुप्पीलाई छामी त हेरोस्
छ कसैमा, हिम्मत ।

 

प्रतिकृया दिनुहोस