• शुक्रबार-बैशाख-१४-२०८१

स्वास्थ्यका कर्मचारीमा जटिल रोग बिरामी आतंक

जटिल रोगको प्रमाणपत्र लिने अधिकांश स्वास्थ्य सेवाका

 
काठमाडौं । सरकारले थालेको कर्मचारी समायोजन छल्न स्वास्थ्य सेवातर्फका बिरामीले तिकडमबाजी गर्न थालेका छन् । स्वास्थ्य सेवामा रहेका विभिन्न कर्मचारीले नक्कली बिरामीको सर्टिफिकेट बनाएर पेस गरेपछि समायोजन नै पेचिलो बन्न पुगेको छ ।


स्वास्थ्य सेवामा स¥यो रोग


कर्मचारी समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ मा नेपाल मेडिकल बोर्डको सिफारिसमा कडा रोग र अशक्त भनी सिफारिस ल्याउने कर्मचारीलाई समायोजनमा कडाइ नगरिने उल्लेख छ । यस्ता कर्मचारीलाई रोजेको तथा पायक पर्ने स्थानमा समायोजन गर्ने भनिएको छ ।


अहिले यो प्रावधानको दुरुपयोग गर्ने क्रम ह्वात्तै बढेको छ । नेपाल मेडिकलबाट मात्रै यस वर्ष ५ सयभन्दा बढी कर्मचारीले जटिल रोगको सिफारिस लिएका छन् । कतिसम्म भने निजामती सेवाका कर्मचारीहरुको हकहितका लागि लड्ने भन्दै स्थापना भएका संघ संगठनका नेताहरुले समेत यस्तो प्रमाणपत्र लिएका छन् । अहिले स्वास्थ्य सेवाका कर्मचारीहरुले पनि यसैगरी जटिल रोगको प्रमाणपत्र पेस गर्न थालेपछि समायोजन प्रक्रिया नै अवरुद्ध बन्ने हो कि भन्ने चिन्ता पलाएको छ ।
 
जटिल रोगको प्रमाणपत्र लिने अधिकांश स्वास्थ्य सेवाका


समायोजन ऐनमा रहेको व्यवस्थालाई दुरुपयोग गर्नेमा स्वास्थ्य सेवाका कर्मचारी अग्रप्रक्तिमा छन् । उनीहरु आफूले चाहेको ठाउँ छाडेर अन्यत्र जानुपर्ने भएपछि अहिले धमाधम नक्कली बिरामी बन्न थालेका छन् ।


 
नक्कली प्रमाणपत्र बनाउन मेडिकल बोर्डले नै साथ दिएको छ । बोर्डका अनुसार, यस वर्ष ५ सय कर्मचारीको जटिल रोगको सिफारिस लिएका छन् । यसमा आधा भन्दा बढी स्वास्थ्यकर्मी परेका छन् । चिनजान र आर्थिक चलखेलमा त्यस्ता सिफारिस हुने गरेको भन्दै कर्मचारीले नै विभिन्न ठाउँमा सिफारिसमाथि छानविन गर्न माग गर्दै उजुरी हालेका छन् । सामान्य ढाड दुख्ने, उच्च रक्तचाप र थाइराइडका बिरामीले समेत आफू निकट चिकित्सकबाट कडा रोगको सिफारिस लिएर मेडिकल बोर्डबाट पत्र बनाएका छन् ।
 
 
वीर अस्पतालमा कार्यरत कर्मचारीले पनि यस्तो जटिल रोगको प्रमाणपत्र पेस गरेको पाइएको छ । समायोजन छल्न वीर अस्पतालका कैयन कर्मचारी नक्कली बिरामी बन्न थालेका हुन् ।उदेकलाग्दो कुरा त के छ भने समायोजनबाट जोगिन अनेक तिकडमबाजीमा लागेका स्वास्थ्यकर्मीलाई नेपाल मेडिकल बोर्डले नै साथ दिएको छ । नक्कली भन्ने बुझ्दाबुझ्दै पनि बोर्डले वीरका कैयन स्वास्थयकर्मीलाई कडा रोग तथा अशक्त बिरामीको सिफारिस गरिदिएको पाइएको छ ।
वीर अस्पतालका दर्जन बढी स्वास्थ्यकर्मीले यस्तो सिफारिस लिइसकेको बताइएको  छ् । यसरी सिफारिस लिनेमा हिमाल तिवारी, कालु सिंह, युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्लीराम आचार्य, डिल्लीराम खनाल, शंकर झालगायत छन् । तिवारी र सिंहबाहेक बाँकी कर्मचारीमा सामान्य मात्रै स्वास्थय समस्या भएको बताइन्छ ।
 
समायोजन प्रक्रिया नै पेचिलो


यतिबेला स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन धमाधम भइरहेको छ । तर, समायोजनमा संघमै रहन चाहने कर्मचारीले नक्कली बिरामीको सिफारिस पेस गर्दा समायोजन नै प्रभावित हुन पुगेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारी स्वास्थ्यकर्मीले गलत कागजात पेस गर्दा समायोजन प्रक्रिया नै प्रभावित हुन पुगेको बताउँछन् ।
 
मन्त्रालयमा उजुरी 


बिरामी नै नभएका र सामान्य बिमारको शिकार भएकाले पनि राजधानी नछाड्ने हेतुले नक्कली बिरामी बन्न थालेपछि मन्त्रालयमा उजुरी पर्न थालेको छ । उजुरी पर्नेमा कतिपय समायोजन भइसकेको कर्मचारी समेत भएको बताइएको छ ।


 
मन्त्रालय स्रोतले केही कर्मचारीले पेस गरेका कागजातबारे प्रश्न उठाउँदै मन्त्रालयमा उजुरी परेको जनाएको छ । स्रोतका अनुसार परेको उजुरीबारे मन्त्रालयले छानबिनको तयारी गरेको छ । यसबारे जानकारी लिन मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठसँग सम्पर्क गर्दा सम्पर्क स्थापित हुन सकेन ।


 
सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको छ । समायोजनका क्रममा केन्द्र र आकर्षक ठाउँ छाडेर अन्यत्र जानुपर्ने भएपछि ठूलो संख्यामा स्वास्थ्यकर्मीले जटिल रोगको सिफारिस बनाउन थालेका छन् । कतिपय उजुरी पनि परेको र समायोजनको सूचना निस्केपछि मेडिकल बोर्डबाट आउने सिफारिसको संख्या पनि बढेको मन्त्रालयको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस