• मंगलबार-बैशाख-११-२०८१

किन भयो नेपाल राष्ट्र बैंकको भवन शिलान्यासमा याे जात्रा ?! (हेर्नुस् भिडियो)

गभर्नर नेपाल : औपचारिक कार्यक्रममा रातो कोट अनि दाहिने हातमा घडी !!


काठमाडौं । नेपाल राष्ट्र  बैंक, मुलुकको केन्द्रीय बैंकको मुख्य भवन चार वर्षअघि २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएपछि नयाँ  निर्माण गर्नुपर्ने बाध्यता आइपरेको हो । बैंकको थापाथली र बालुवाटारमा झण्डै रु. ४ अर्बको लागतमा नयाँ भवन निर्माणको कार्य भइरहेको छ । थापाथलीको भवनको २०७५ असोजमै गभर्नर चिरञ्जीवी नेपालले निकै तामझामका साथ शिलान्यास गरेपछि एकाएक माहोल तरंगित भएको थियो ।

 

गभर्नर नेपालले आफ्नै निजी भवन बनाए झैं शिलान्यासको लागि कुनैप्नि निकायलाई नपुछेपछि अर्थ मन्त्रालयलगायत पुनर्निर्माण प्राधिकरण, भवन विभाग आदि निकाय बैंकको बालुवाटार भवन शिलान्यासको पर्खाइमा थिए । दुबै भवन निर्माणको खर्च बैंकले ब्यहोर्ने भएपनि त्यसको डिजाइन, अनुगमन र पुरातात्विक महत्वको विषयमा भने सरकारी निकायले जिम्मेवारी बहन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।


२०७६ असार २३ गते सोमबारका दिन बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय हातामा आयोजित शिलान्यास समारोहमा सम्माननीय राष्ट्रपतिलाई निम्तो दिइएतापनि त्यसको आन्तरिक कथा निकै लामो रहेको स्रोतको दावी छ । थापाथलीस्थित भवन कम्तीमा अर्थमन्त्रीबाट र बालुवाटारको भवन प्रधानमन्त्रीबाट शिलान्यास हुने अपेक्षा अर्थ मन्त्रालयलगायतका निकायले गरेका थिए । तर, यस सम्बन्धमा थापाथलीको भवन शिलान्यासमै बैंकले टेरपुच्छर नलगाएपछि बालुवाटारको केन्द्रीय कार्यालय भवन शिलान्यासको पर्खाइमा सरकारी निकायहरू बसेका हुन् ।

 

नेपाली कांग्रेस सरकारबाट नियुक्त गभर्नर नेपाल भने बालुवाटारको भवन शिलान्यास पनि थापाथलीमा झैं आफैं गर्ने मुडमा थिए । तर, एकाएक बैंकको नेतृत्वमाथि भवनको शिलान्यास बैंकको नेतृत्वभन्दा बाहिरको व्यक्तित्वबाट हुनुपर्ने निर्देशनात्मक आदेश आएपछि गभर्नरले पनि ‘न रहे बाँस न बजे बाँसुरी’ को शैलीमा आफूले शिलान्यास गर्न नपाउने अवस्थामा मर्यादाक्रममा सम्माननीय राष्ट्रपति भन्दातल्लो तहका कसैबाट नगराउने योजना बुने र सोहीबमोजिम निम्तो दिन लगाएको उच्च स्रोतले बताएको छ । तर, राज्यको शिलान्यास र उद्घाटनको सामान्य प्रक्रिया र प्रचलनअनुसार केन्द्रीय बैंकको भवनको शिलान्यास प्रधानमन्त्री अर्थात् सरकार प्रमुखबाट र उद्घाटन राष्ट्रपति अर्थात् राष्ट्र प्रमुखबाट गराउनुपर्ने मान्यता विपरीत राष्ट्रपतिबाट शिलान्यास गराइयो । 


 अब भवनको निर्माणपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउनुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीबाट शिलान्यास गराइएको भए उद्घाटन चाहिं राष्ट्रपतिबाट गराउनु चाहिं  प्रक्रियासम्मत् देखिने जानकारहरूको निष्कर्ष रहेको छ । उता, अर्थमन्त्री युवराज खतिवडाले भने सम्माननीय राष्ट्रपतिबाट हुने शिलान्यास कार्यक्रममा बाध्य भएर उपस्थित जनाउनुपर्ने मात्रको अवस्था देखियो, जुन गभर्नर नेपाललगायत बैंकका अर्थमन्त्री बिरोधी अधिकारीहरू पनि त्यही चाहन्थे ।
अर्कोतर्फ, मुलुकको केन्द्रीय बैंकको कार्यक्रम र राष्ट्रपतिको प्रमुख आतिथ्यमा आयोजना गरिएको विशिष्टस्तरको कार्यक्रममा गभर्नर नेपालको पोशाकको रंगले फेसन शोमा उपस्थित मोडलको छनक दिएको थियो । उनले फिल्मी शैलीको रातो कोट मात्र लगाएका थिएनन्, घडी समेत अरु भन्दा पृथक ढंगले दायाँ  नाडीमा लगाएको चर्चाले आजभोलि बैंकिङ्ग क्षेत्रमा स्थान पाएको छ । 


 राष्ट्रपति आउने कार्यक्रममा पोशाकको हकमा बैंकका निर्देशक, कार्यकारी निर्देशक, डेपुटी गभर्नर तथा गभर्नरसम्मका अधिकांश उच्च अधिकारीहरूले बैंकले तोकेको नीलो कोट लगाएका थिएनन् । जबकि बैंकले कार्यालय पोशाकको रूपमा तोकेको नीलो कोट, पाइन्ट र सेतो सर्ट खरिदको लागि प्रत्येक कर्मचारीलाई प्रत्येक वर्ष २५ हजार रूपैयाँ प्रदान गर्दछ । नियमानुसार दौरा सुरुवाल लगाएपनि कर्मचारीले कोट भने नीलो रंगकै लगाउनुपर्ने व्यवस्था रहेको छ ।

 


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि गभर्नर नेपालले मर्यादाक्रमलाई समेत ध्यान नदिएको चर्चा राष्ट्रपति कार्यालयमा आजभोलि पनि हुने गरेको स्रोत  बताउछ । गभर्नरले सहभागी अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्रीलाई भन्दा पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशकलाई महत्वकासाथ सम्बोधन गरेका थिए । सबैभन्दा रोचक पक्ष चाहिं मुलुकको सम्मानित राष्ट्रपतिबाट शिलान्यास भएको बैंकको भवन निर्माणको विवरण र तस्बिर बैंकको वेभसाइटमा हालसम्म पनि राखिएको छैन । गभर्नरको कार्यालयमा यस्तै कार्य गर्नको लागि जनसम्पर्क महाशाखा नै राखिएको छ । त्यसको लागि झण्डै एक दर्जनको हाराहारीमा विभिन्न तहका कर्मचारी कार्यरत छन् । 


 गभर्नरको कार्यालयमा पनि दर्जन कर्मचारी छन् । उता, कम्प्युटर सम्बन्धी कार्य गर्न अरु तीन दर्जन भन्दाबढी कर्मचारी रहेको सूचना प्रविधि विभाग पनि बैंकमै छ । यस सम्बन्धमा र बैंकका गतिविधि र परिणाम भने शून्य देखियो । तर, डेपुटी गभर्नरलगायत अधिकांश उच्च अधिकारीहरूले आफ्नो अनुहार देखिएका फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा सेयर गर्दै राष्ट्रपतिबाट शिलान्यास गरिएको बैंकको भवनको प्रचार चाहिं गतिलैसंग अहिले पनि भइरहेको गफ पनि चुटिरहेको नेपाल राष्ट्र बैंक स्रोत  बताउछ । (भिडियाे बिजनेस प्लस टीभी)

 

प्रतिकृया दिनुहोस