• शुक्रबार-चैत-१६-२०८०

सडक पाइलटसँग अन्तरंग : नेपालको ट्राफिक सबैभन्दा खराब छ : अष्टबहादुर लामा

 

(सामान्यतयाः मानिसले बिहेलाई त्यस्तो लड्डुको संज्ञा दिन्छन् कि खाए पनि पछुताउनु छ नखाए पनि पछुताउनु छ । नखाई पछुताउनु भन्दा खाएरै पछुताउनु वेश भन्नेहरू धेरै छन् । त्यस्तै भएको छ काभ्रेका २८ वर्षीय सडक पाइलट अष्टबहादुर लामालाई । उनको बच्चामा हुँदा ठूलो सपना थियो ड्राइभर बन्ने । त्यो सपना त उनले पूरा गरे । तर त्यसपछिको अवस्था भने उनको परिवर्तन गर्न उनलाई हम्मेहम्मे परिरहेको छ । बा ५ ख ८५२४ नम्बरको गाडीका चालक लामाले अहिलेसम्म के के गरे भन्ने जीवनयात्रा खोलेका छन् सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसंग–सम्पादक)


० कति भयो गाडी लाइनमा लागेको ? 
–१६ वर्ष भयो । 

 


० सानै उमेरमा रहेछ । कति समय बस्नुप¥यो ढोकामा ?
–तीन वर्ष बसें ढोकामा । त्यसपछि १३ वर्षदेखि गाडी चलाइरहेको छु । 

 


० के चलाउनु भयो पहिले ? 
–सानो गाडी चलाएँ मैले तीन वर्ष । ट्याक्सी चलाएँ ।

 

 
० अनि त्यसपछि ? 
–त्यसपछि म चार वर्ष साउदी अरेबिया गएँ । 

 


० त्यहाँ के गर्नुभयो ? 
–पहिले टिपर चलाएँ । दुई महिना टिपर चलाएपछि मैले ट्रेलर चलाएँ ।

 

 
० कत्तिको सजिलो हुन्छ त्यहाँ गाडी चलाउन ? 
–निकै सजिलो हुन्छ । छुट्टै ट्रयाक हुन्छ । सानो गाडीको छुट्टै हुन्छ । ठूलो गाडीको छुट्टै हुन्छ । एम्बुलेन्सको छुट्टै हुन्छ । तर, नेपालमा त्यस्तो हुन्न । यहाँ त सबै भद्रगोल छ । नेपालको ट्राफिक ब्यवस्था सबैभन्दा खराब लाग्छ । 

 


० दुर्घटना पनि बढी नै हुन्छ हैन ? 
–हो नेपालमा बढी नै दुर्घटना हुन्छ । लापरवाहीका कारणले नै हो ।

 

 
० चलाउन सानो गाडी सजिलो कि ठूलो ? 
–पहिले ट्याक्सी ठीक थियो । त्यतिबेला ट्याक्सी पनि थोरै थिए । अहिले ट्याक्सी धेरै छन् । पार्किङ पनि छैन । मर्जीले चलाउन पनि पाइँदैन । अब त ठूलै गाडी ठीक जस्तो ।

 

 
०  कमाई कस्तो छ ? 
–कमाई स्याप्पै घट्यो नि । गाडी बढे । सिन्डिकेट तोडिएपछि गाडी थपिए । 

 


० सिन्डिकेट हट्यो र ? 
–हट्यो । समिति त छ तर त्यो अब प्रालिमा दर्ता गर्नुपर्छ । हाम्रो पनि हुँदैछ । 

 


० के रै’छ त जिन्दगी ? 
–ठीकै छ । पहिले सानोमा ड्राइभर बन्नुपर्छ भनेर लागें । ८ कक्षा पढ्दापढ्दै छाडेर साथीहरू ड्राइभर भएको देखेपछि म पनि यही लाइनमा आएँ । तर अहिले मन पर्न छाड्यो । 

 


० किन नि ? 
–प्रतिस्पर्धा धेरै छ । आफै ग्याप नमिलाई पैसा कमाइँदैन । 

 


० के छ त भोलिको सोच ? 
–कुवेत जान खोज्दैछु । नेपालमा ५० हजार कमाई गरे पनि बच्ने हैन । यहाँ काम गरेर सकिँदैन । खर्च बढी भयो । कमाइ छ । नभएको हैन । तर, पैसा बचाउन नसकेपछि के गर्ने । 

 


० सरकार नेपालमा रोजगार दिने भन्छ विदेशबाट नेपालीलाई बोलाउँदैछ । तपाई विदेशतिर ? 
–सरकारले के नै गर्न सक्छ र ? बढीमा १५–२० हजार मानिसलाई त जागिर देला । बाँकी अरु लाखौंलाई कसले दिन सक्छ र ? नेपालमै बढी बेरोजगार छन् । 

 


० ड्राइभरको जिन्दगी चाहिं के रै’छ नि ? 
–ड्राइभरको जिन्दगी कहाँ गएर टुङ्गिन्छ पत्तो छैन । त्यसैले दुई छोरी र एक छोरा छन् । यिनीहरूलाई ठूलो बनाउनु छ । त्यही हो । 

 


० छोरीछोरा यो लाइनमा आउलान् ? 
–यो लाइनमा छिर्न दिन्न पढाउने हो । 

 


० सम्मान कस्तो छ नि ? 
–पैसा नकमाएपछि सम्मानको केहीको अर्थ छैन । पैसा कमाए कुनै समस्या छैन । पैसा कमाएपछि सम्मान पनि आफै आउँछ । 

 


० पछुतो त छैन नि है ड्राइभर बनेर ? 
–छैन नै भन्नुपर्छ । यो पेशा छाड्नै प¥यो भने मिस्त्री काम पनि गर्न सक्छु । मैले बीचको समयमा दुई वर्ष जति ड्राइभिङ गर्न छाडेर घर बनाउने मिस्त्री काम गरेको थिएँ । 

 


० किन त्यसो गर्नुभयो ? 
–सीप भनेको सिके राम्रो भनेर त्यतातिर लागेको नि । अन्यथा केही हैन । घर बनाउन सकौं  भन्ने सोचले सिकेको हो ।  

प्रतिकृया दिनुहोस