• बिहीबार-चैत-१५-२०८०

सिलवालले गुट बोक्ने कि खेलकुद ? 

 

 

काठमाडौं । रमेश सिलवाल नेपाली खेलकुदलाई नजिकबाट नियालिरहेको नाम हो । दुई दशकभन्दा बढी समयदेखि उनी नेपाली खेलकुद क्षेत्रमा छन् । खेलकुदबाटै राजनीति गर्न कतिपयलाई त उनैले सिकाएका थिए । अचम्म लाग्छ होला । तर, यतिसम्म यथार्थ हो कि सिलवालले अहिलेका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई खेलकुद क्षेत्रमा जोड्ने काम पनि गरेका थिए । 

 


केपी ओली ६० को दशकसम्म एक साँघुरो दायरामा रहेर एमालेभित्रको राजनीति गर्दथे । उनीभन्दा अगाडि थिए माधवकुमार नेपाल र झलनाथ खनाल । २०६२÷६३ को आन्दोलनमा समेत नेपाल र खनालले सशक्त भएर सात दलीय आन्दोलनमा अग्रसरता देखाउँदा ओलीले बयलगाढा चढेर अमेरिका पुगिन्न भनेर आन्दोलनको आलोचना गर्दथे । 

 


एमालेका प्रतिपक्ष नेता जस्तै लाग्ने ओलीलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीमार्फत सिलवालले अगाडि ल्याए । यो एकेडेमीले निष्पक्ष भएर खेलकुदका गतिविधि गर्नुभन्दा पनि जननेता स्वर्गीय मदन भण्डारीको नामबाट आफ्ना कार्यकर्तालाई राजनीतिकरूपमा जोड्ने काम गर्दथ्यो । खेलकुदमार्फत राजनीतिक प्रभाव जमाउनु थियो । 

 


त्यही एकेडेमीको संस्थापक अध्यक्षको जिम्मेवारी रमेश सिलवालले पाएका थिए । एकेडेमीमार्फत एमालेको प्रतिपक्ष अर्थात् ओली समूहको उपस्थिति दरिलो बनाउने काम सिलवालले सफलतापूर्वक गरेका थिए । सिलवालको निरन्तरको लगावले नै खेलकुद क्षेत्रमा नेपाल र खनाल समूह खुम्चिदै थियो । तर, त्यति हुँदा पनि निवर्तमान राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट माधव नेपाल पक्षबाटै बनेका थिए । 

 


यसपटक पनि विष्टले दोस्रो पटक रिन्यू गर्न निकै प्रयास गरेका थिए सकेनन् । किनकि यसपटक नेकपाका अध्यक्ष केपी ओलीका लागि सिलवाल निर्विकल्प पात्र थिए । विष्टलाई सदस्यसचिव बन्न नदिन ओलीले धेरै दवाव दिएपनि पुरुषोत्तम पौडेल (जो माधव नेपालको पक्षबाट युवा तथा खेलकुद मन्त्री भएका थिए) ले आफूले पदबाट राजीनामा दिएर भएपनि विष्टलाई सदस्यसचिवमा टिकाइराखे । 

 


एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष केपी ओली हुँदा सिलवाल सचिव थिए । अर्थात् ओली प्रधानमन्त्रीसम्म भए तर सिलवालले राजनीतिक छलाङ्ग मार्न सकेका थिएनन् । खेलकुदमै बढी समय बिताएकाले उनी खेलकुदको प्रशासनिक सर्वोच्च निकाय खेलकुद परिषदको सदस्यसचिव बन्न सफल भएका छन् । 

 


प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सिलवालले २०७६ असार २३ गते सदस्यसचिवको सपथ लिएर सोही दिन जिम्मेवारी पनि सम्हाले । हुन त उनको पहिलो टार्गेट कुनै विश्वविद्यालयको उपकुलपति बन्नु थियो । तर, त्रिविविका शिक्षक भएर निजी कलेज सञ्चालनका क्रममा उनको आलोचना बढी नै भइरहेको थियो । 

 


केही कलेजका सञ्चालक रहेका सिलवाल गोल्डेनगेट कलेजबाट एमबीबीएसको प्रवेश परीक्षाको प्रश्नपत्र आउट हुँदा त्यहाँका प्रमुख थिए । उनको त्यो बदनामी जतिसुकै पखाल्न खोजे पनि नपखालिने पाटो रहेको छ । त्यही बदनामकै कारण उनलाई उपकुलपति स्वीकार गर्न सक्ने स्थिति नरहेको भन्दै प्रधानमन्त्री ओलीले नै खेलकुद परिषदको राजनीति सम्हाल्ने जिम्मा दिएको स्रोत बताउँछ । 
सिलवालले सपथग्रहणमै प्रधानमन्त्री र खेलकुद मन्त्रीको इच्छाले आफू सदस्यसचिव भएको दावी गरेपछि उनलाई काउन्टर दिन तयार रहेका उपाध्यक्ष पिताम्बर तिम्सिना ओइलाइसकेका छन् । त्यसैगरी माधव नेपाल पक्षकै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले पनि यसबाटै जवाफ पाइसकेका छन् । 

 


सदस्यसचिवका लागि तिम्सिनादेखि निवर्तमान सदस्यसचिव विष्ट, शिव कोइराला र दानबहादुर तामाङ दावेदारीमा थिए । तर, ओलीका लागि सबैभन्दा विश्वासिला पात्र सिलवाल नै भएकाले उनले बाजी मारे । तर, जसरी नेकपामा नेता नै नेताको भण्डार छ त्यसरी नै खेलकुदमा खुट्टा तान्ने नेकपा नेताहरूको पनि कमी छैन । 

 


खेलकुद परिषददेखि ओलम्पिक कमिटीसम्म नेता नै नेता छन् । सिलवालले सपथ खाँदा नै भनेका छन् कि ‘जागिर खान हैन खेलकुदमा केही योगदान गर्न आएको’ भनेर । त्यसैगरी खेलकुदलाई पारदर्शी र भ्रष्टाचारविहीन बनाउन आएको पनि भनेका छन् । पारदर्शी र भ्रष्टाचारविहीन भनेर उनले भन्नु र प्रधानमन्त्री ओलीले पनि अहिलेसम्म भनिरहेको बोली एउटै हो । 

 


भ्रष्टाचार बढ्दो छ र पारदर्शी झन् पटक्कै छैन । तसर्थ सिलवाल पनि त्यही ड्याङका पात्र बन्ने हुन् कि होइनन् भन्ने कुरा आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको आयोजना उनका कसी बन्ने छ । तर, सिलवालले यसअघि शैक्षिक क्षेत्रमा गरेको गल्ती धोइ पखाली गर्ने हो भने खेलकुदमा गर्न सक्ने ठाउँ भने धेरै छ । 

 


खेलाडीले देशको शीर उँचो राख्न मद्दत गर्छन् । शैक्षिक क्षेत्रको ब्यापार र बिजनेश गरेर अथाह पैसा कमाइसकेका सिलवाललाई धन कमाउन सदस्यसचिव पद ठूलो हैन । तर इज्जत जोगाउन र आफ्नो मान बढाउन भने राम्रो अवसर मिलेको छ । उनको छवि सुधार्न योभन्दा सुन्दर अवसर अरु हुनै सक्दैन । 

 


नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष पछि विष्टले खडा गरिदिएको तदर्थ समितिका अध्यक्ष पनि भए । तर क्रिकेटको समस्या बल्झियो । अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले नेपालको निलम्बन फुकुवा गरेको छैन । यसमा सिलवाल पनि दोषी छन् । क्यानको निलम्बन फुकाउन उनले पनि भूमिका खेल्नु जरुरी छ । 

 


प्रधानमन्त्री ओलीले पनि खेलकुदलाई निकै मायाँ गर्छन् । तर, उपयुक्त पात्रको अभावमा उनी असफल हुँदै आएका थिए । अब सिलवालले ओलीको मान राखे भने खेलकुदले कोशेढुङ्गा तय गर्नेछ । हैन गुटकै स्वार्थ र भरमा मात्रै चल्ने हो भने खेलकुद क्षेत्र अझै धरासायी बन्ने निश्चित छ । 
 

प्रतिकृया दिनुहोस