• शुक्रबार-बैशाख-१४-२०८१

कलैया उमनपामा प्रशासकीय अधिकृत बेल्वासे र इन्जिनियर यादवको लु्टतन्त्र

हरिनारायण बेल्बासे र माधवप्रसाद यादव


काठमाडौ, २५ असार । कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासे र इन्जीनीयर माधवप्रसाद यादवले नगरवासीहरुलाई कुनै न कुनै किसिमले दुख दिएर लुटतन्त्र मचाएको खबर  छ ।


प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले भुक्तानीको लागि पेश गरिएका फाइलहरुलाई रोकेर रकम असुल्न शुरु गरेको आरोप  छ भने इन्जीनियर यादवले उपभोक्ता समितिका कामहरु आफ्ना मान्छेबाट गराई ब्रम्हलुट मचाएको आरोप पीडितहरुको रहेको छ। 


कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेल्वासे र इन्जिनियर यादवले निजी स्वार्थमा लागेर आफूखुशी कार्य गर्दा समेत कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव मूकदर्शक बनेर बस्ने बाहेक केही गर्न नसक्दा नगरवासीहरुलाई जनप्रतिनिधि भएको भए पनि नभएको जस्तै बनेको गुनासो हुन थालेको छ ।


उपभोक्ता समिति वा बिभिन्न गैरसरकारी संस्थाहरुले लक्षित वर्गको नाममा गरेका कामहरुको भुक्तानी लिनका लागि बिलहरु पेश गर्दा प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले त्यसलाई रोकेर पहिला नै बार्गेनिङ गर्ने र कुरा नमिलेपछि भुक्तानी नै रोकेर हैरान गर्ने गरेको गुनासो रहेको छ  ।


नियमले भुक्तानी गर्नुपर्ने योजनाको  भुक्तानी समेत  नदिनका लागि बेल्वासेले लेखा अधिकृत दिब्य सर्राफलाई दबाब दिने गर्दै आएको आरोप पनि छ  । केही दिन पहिला मात्रै भुक्तानी र त्यसबाट असुली भएको कमिसनको बारेमा बिवाद हुँदा लेखा अधिकृत विदामा नै बस्न बाध्य भएको लेखा शाखाका एक कर्मचारीले बताए ।


वेल्वासेले फाइलहरुलाई रोकेर जिन्सी शाखामा करारमा कार्यरत रहेका दिपेन्द्र यादव र लेखाशाखामा रहेका सुनिल यादवलाई रकम असुली गर्ने कार्यमा खटाएको खबरमा उल्लेख छ। 


उपभोक्ताहरु वा गैरसरकारी संस्थाबाट असुली गरिएको रकमलाई सुरक्षित गर्न प्रमुख प्रशासकीय अधिकृत बेल्वासे एक महिना नपुग्दै ३/४ पटक काठमाडौ समेत ओहोर दोहोर गर्ने गरिसकेका छन् ।


त्यसैगरी शिक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य लगायतका शाखाबाट पहिला नै गर्न नसकिएका कामहरुको बिल भरपाई बनाएर ती कामहरुका लागि छुट्याइएको रकमलाई निकाल्ने कार्य बेल्वासेले शुरु समेत गरेको एक शाखा प्रमुखले गुनासो गरे।


प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले काममा खर्च हुन नसकेको रकमलाई काम गरेको फर्जी बिल भरपाई बनाएर निकाल्ने, भुक्तानीका फाईलहरु रोकेर असुली गरेका रकमहरु चारदेखि पाँच लाखसम्म भएपछि ती रकमलाई आफै बोकी काठमाडौमा जम्मा गर्न जाने गरेका एक कर्मचारीले बताएका छन् ।


त्यसैगरी इन्जीनियर यादव विकासे बजेट रकमको उपभोक्ता समिति बनाउने र उपभोक्ता समितिले गर्ने कामलाई ठेक्केदारको नाममा आफ्नै मान्छेलाई दिने  गर्दै आएका छन् ।


बिकास निर्माणको कामदेखि ठेक्का मार्फत् खरिद गरिने औषधीहरुमा समेत इन्जीनियर यादवकै बोलबाला रहने गरेको कलैया उपमहानगरपालिकाका एक कर्मचारीले बताएका छन् ।

चालु आर्थिक बर्षमा कलैया उपमहानगरपालिकामा संचालन गरिएका वडा नम्बर ६, २४ र २१ मा तराई मधेस समृद्ध कार्यक्रमको डेढ करोडको बजेट रकमलाई नाममात्रको उपभोक्ता समिति गठन गराई ती कामहरुलाई आफनै मान्छेलाई गर्न लगाएको ती वडाका वडा सदस्यहरुले  गुनासो गरेका छन् ।


इन्जीनियर यादवले भनेको व्यक्तिलाई उपभोक्ता समितिहरुले काम नदिई आफै गर्दा उपभोक्ता समितिहरुले गर्ने कामको मूल्याँकन समेत घटाउने गरेकाले बाध्य भएर इन्जीनियर यादवले भनेका ठेकेदारहरुलाई काम दिनुपर्ने बाध्यता रहने गरेको एक उपभोक्ता समितिका पीडित सदस्यले बताए ।
 

प्रतिकृया दिनुहोस