• शुक्रबार-चैत-१६-२०८०

सडक पाइलटसँग अन्तरंग : सरकारले हामीलाई हेपेको छ : उद्धव केसी

(भनिन्छ भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अड्दैन । र, भाग्य छैन भन्दैमा मान्छे मरिहाल्ने पनि हैन । जसले मिहिनेत गर्छ उही अगाडि बढ्छ । त्यसरी नै धोका खाँदै र त्यसलाई पन्छाएर मिहिनेत गर्दै अगाडि बढेका सडक पाइलट हुन् उद्धव केसी । ३५ वर्षे दोलखाली युवाले आफ्नो कर्मलाई छाडेका छैनन् । कुनै समयमा मन विचलित भएपनि फेरि आफ्नो पेशालाई नै निरन्तरता दिए । आखिर त्यस्तो के भयो र मन विचलित भयो । कस्तो छ यिनको यो पेशा । बा ३ ख ७३९४ नम्बरको गाडीका स्वरोजगार केसीले साँघु प्रतिनिधिसंग यसरी खोलेका छन् आफ्नो जीवन–सम्पादक)

 

० गाडीलाइनमा कहिलेदेखि लाग्नुभयो ? 
–१६ वर्ष भयो यो लाइनमा लागेको । 


० सुरुमै गाडी चलाउनु भयो कि ? 
–हैन म तीन वर्ष ढोकामा बसें त्यसपछि गाडी चलाउन थालें । 


० के के चलाउनु भयो ? 
–मैले खलासी पनि बसमै गरें र गाडी पनि बस नै चलाएँ । 


० कहाँ कहाँ चलाइयो ? 
–पहिले दोलखा, जिरी, रामेछाप चलाइयो । अहिले काठमाडौंमा चलाएँ । काठमाडौंमा चलाउन थालेको त बल्ल ८ महिना भयो । 


० सजिलो चलाउन कता हुन्छ नि ? 
–चलाउन सजिलो त बाहिर नै हो ।


० किन नि ? 
–न ट्राफिक प्रहरीको चिन्ता न जामको चिन्ता आनन्द लाग्छ । काठमाडौंभित्र छिरेपछि स्वर्ग छाडेर नर्कमा आएजस्तो लाग्छ । अनि काठमाडौं बाहिर लागेपछि स्वर्ग गएजस्तो हुन्छ । 


० अनि स्वर्ग छाडेर किन नर्कमा बस्नुभयो त ? 
–यस्तै भयो परिस्थितिले पा¥यो । आफ्नै गाडी थियो । पैसा फस्यो । विरक्त लागेजस्तो भयो । अनि काम छाडेर बसेको थिएँ । मेरो किराना पसल पनि छ । तर गाडी चलाउने मान्छे त्यत्तिकै बसेको देखेर आफन्त साथीभाइले काठमाडौंमा गाडी किनेर चलाउन सुझाव दिए । अनि आठ महिनादेखि नेपाल यातायात किनेर चलाइरहेको छु । 


० कस्तो छ प्रतिस्पर्धा ? 
–प्रतिस्पर्धाको कुरै नगर्नुस् नेपाल यातायातमै धेरै गाडी भए । एउटै रुटमा गाडी भएपछि गा¥हो हुन्छ । पहिले ३६ वटा थिए नेपाल यातायातको बल्खु रुटमा अहिले ७५ वटा भए । महिनैपिच्छे गाडी थपिएका छन् । 


० भनेपछि कमाइ घट्यो ? 
–गाडीको लाइन भएपछि कमाइ त घट्ने नै भयो नि । 


० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ? 
–ट्राफिक प्रहरीको त कुनै नगरौं । दुःखमात्रै दिन्छ । गाडी बिसौनी लेखेको ठाउँमा रोक्न दिँदैन । एक सेकेन्ड रोक्यो भने पनि चिट काट्न आइहाल्छन् । यसले त हाम्रो पेशा सुकाउने मात्र हो । आफै नियम कानून तोड्छन् अनि त्यसको दोष हामीलाई लगाउँछन् । 


० यो लाइन कस्तो छ नि ? 
–रिस्की छ । 


० के रै’छ त ड्राइभरको जिन्दगी ? 
–यो क्षेत्र राम्रो छैन भनौं यही क्षेत्रमा काम गरिराखिएको छ । रोजीरोटी यसैले दिइरहेको छ । राम्रो छ भनौं खर्च धान्न गा¥हो भएको छ । जे भए पनि रमाउनु प¥यो । 


० सन्तुष्ट हुनुहुन्न ? 
–सन्तुष्ट छैन । तर हुनै पर्छ । किनकि अरु केही जानिएको छैन । 


० सन्तान कति छन् ? 
–एक छोरा एक छोरी । 


० सन्तान आउँछन् कि यो लाइनमा ? 
–चलाएर खान सकिँदैन । यो लाइनमा ल्याउने हैन । सकेसम्म पढाउने हो । आफूले भोगेको दुःख छोराछोरीलाई भोगाउने हैन ।

 
० बाहिर पनि जानु भयो कि ? 
–गइन । बाहिर जाने सोच कहिल्यै आएन । जे गर्ने हो यहीं आफ्नै मातृभूमिमा गर्ने हो भन्ने नै लाग्यो । 


० कति पढेर छाड्नु भयो नि ? 
–एसएलसी पास गरियो अनि छाडियो र गाडी लाइनमा आइयो । 


० कसरी आउनु भयो नि गाडीलाइनमा ? 
–साथीभाइ दाजुभाइ यही लाइनमा थिए । अनि म पनि आएँ । आउन सजिलो भयो । 


० नपढेको पछुतो छैन ? 
–छैन । पढेका साथीहरू पनि देख्छु अहिले बेरोजगार भएर बसेको । जे गरियो राम्रै गरियो । कुनै पछुतो छैन । 


० भोलिका दिनमा के गर्ने त ? 
–यही भएको गाडीले जति धान्छ त्यति गर्ने हो । अरु अब केही गर्न सकिएला जस्तो छैन । सरकारले गाडी थोपरेको छ एउटै रुटमा । 


० अनि सिन्डिकेट हटाएपछि त राम्रो भए होला नि ? 
–सरकारको शीर्षकमा घटेको छ सिन्डिकेट । अन्त कतै घटेको छैन । सरकारले किन झुठो कुरो गर्छ त्यसैलाई थाहा होला । 


० किन सरकारले त्यसो ग¥यो ? 
–भनें नि त्यसैलाई थाहा होला । तर, सरकारले हामीलाई हेपेको छ । २०७२ सालदेखिको भाडा बढाएको छैन । महंगी कति बढिसक्यो । फ्युलको पैसा बढ्यो । मेन्टेनेन्स खर्चले आकाश छोयो । हामीलाई त भाडा नबढाएर सरकारले हेप्यो । 


० समस्या के के छ त ? 
–प्रतिस्पर्धा बढिरहेको छ । बाटोमा सुधार भएको छैन । कुनै सेवा सुविधा छैन । सबै आफै गर्नुपर्छ । यो सरकारबाट केही आशा नै रहेन । 


० सम्मान त होला नि ? 
–यो पेशामा सम्मान भनेको छँदै छैन । पहिले पहिले पाइन्थ्यो । अहिले त पटक्कै छैन । कसैले सम्मान गर्दैन । हामीले पनि त समाजका लागि केही गरेका हौंला । गाउँघरमा गुरुजी भन्छन् । यहाँ शब्दसमेत निकाल्दैनन् । देशकै हालत यस्तो छ । हाम्रो के कुरा । 

प्रतिकृया दिनुहोस