• मंगलबार-बैशाख-११-२०८१

एन्फाबाट नवीन पाँडेले किन गरे राजीनामा ? 

साँघु खेलकुद टिप्पणीकार 

 

काठमाडौँ । जहाँ बढी भीड त्यहाँ बढी भीडन्त भन्ने त भनाई नै छ । राष्ट्रिय खेलकुद परिषदपछि संघहरूमा जाँदा सबैभन्दा ठूलो संघ अखिल नेपाल फुटबल एन्फा नै हो । त्यसैले पनि एन्फामा चर्चा परिचर्चा दिनहुँ हुने गर्दछ । पछिल्लो चर्चा नवीन पाँडेको राजीनामाले भएको हो । एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका प्रमुख पाँडेले (२०७६ जेठ २७ गते) एकाएक राजीनामा दिए । त्यो राजीनामा अप्रत्यासित भने पक्कै हैन । २०७५ वैशाख २२ मा भएको निर्वाचनमा कर्माछिरिड्ड शेर्पा नेतृत्वले क्लिनस्वीप गरेपछि उक्त नेतृत्वको पहिलो कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध र सल्लाहकार समिति प्रमुखमा मनोनयन गरेको थियो । 


निर्वाचन लगत्तै फिफा कंग्रेसमा सहभागी हुँदा एन्फाभित्रै उनले चर्को विरोध झेलेका थिए । उनको नागरिकता विवादमा प¥यो । जर्मनीको नागरिकलाई नेपालको प्रतिनिधि बनाएर फिफा कंग्रेसमा पठाउन नहुनेमा धेरैको मत थियो । र, पनि उनी सहभागी भए । उनले कुनै पनि प्रतिक्रिया दिन उचित ठानेनन् । 

 


पाँडे केही महिनायता एन्फाको सातदोबाटोस्थित कार्यालय जान छाडेका थिए । स्वयंसेवकको रुपमा जिम्मेवारी वहन गरेका उनले कर्माछिरि¨को नेतृत्वले एन्फामा पद्धति बसाल्ने कार्य थालनी नगरेको भन्दै २०७५ को कार्तिकमै पदबाट राजीनामा दिएका थिए । तर, एन्फाले उनको राजीनामा स्वीकारेको थिएन । केही योगदान गरोस् भन्ने ठान्यो होला ।
पाँडे र शेर्पाको सहकार्य मिलेको थियो । दुवैको उद्देश्य एउटै थियो –दुई दशक बढी एन्फाको नेतृत्व गरेका गणेश थापालाई फुटबलको सत्ताबाट हटाउने । शेर्पाको लबिइङ नेपालभर राम्रो थियो । उनले संसदीय समितिदेखि सडकसम्म आफ्नो कुरा पु¥याउन भ्याएका थिए । 

 


त्यसैगरी पाँडेले एसियाली फुटबल महासंघ एएफसी र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफामा लबिइङ गर्न मद्दत गरेका थिए । शेर्पाले पनि गणेश थापाको विरोधमा पाँडेलाई साथ दिइरहे । हरेक मानिसका आफ्ना स्वार्थ हुन्छन् । पाँडे पनि स्वयंसेवा गर्नका लागि पक्कै शेर्पासंग जोडिएका थिएनन् । 

 


आठ वर्षसम्म सहकार्य गरेर पाँडेले किन छाडे त ? स्रोतका अनुसार पाँडेले पाउने भनेको त्यही अन्तर्राष्ट्रिय सम्बन्ध नै हो र त्यसमा आफू सुरुआतमै विवादमा परेकाले अब फेरि त्यसको सामना गर्न सक्ने अवस्थामा छैनन् । एन्फाका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँले खोजेको स्वार्थ फेला पार्न सक्नुभएन अनि छाड्नु भयो ।’

 


स्रोत भन्छ, ‘गएको कार्तिकदेखि नै उहाँले एन्फाबाट आफूले केही नपाउने देखेरै छाड्न खोज्नुभएको थियो । नेतृत्वले रोक्यो । पछिल्ला केही महिनादेखि उहाँ नै एन्फा आउनु भएको छैन । रुची नै नभएकालाई कसरी आएर काम गर्नुस् भन्नू ।’

 


अर्का एक सदस्यको विचार भने फरक छ । उनले भने, ‘एन्फाका अहिलेका केन्द्रीय पदाधिकारी धेरैजसो अनुभवी छन् । त्यो अनुभवलाई अवमूल्यन गर्न सक्ने अवस्था रहेन । उहाँले स्वार्थ लुट्न नपाएरै होला एन्फा नआएको भन्ने मेरो बुझाई हो । म गलत पनि हुन सक्छु ।’ 

 


उनले थपे, ‘उनको कुनै क्लबसंग सम्बन्ध पनि छैन । जिल्लासंग पनि सम्बन्धित छैनन् । फुटबलको साइनो नभएका मान्छेलाई धेरै बोक्नु पनि त भएन नि । चेन्ज एन्फा भन्ने अनि त्यस्ता स्वार्थीलाई के आधारमा एन्फामा राखिरहने ? नेपाली नागरिकता त्याग्ने अनि नेपालबाटै फेरि केही खोज्ने ?’

 


पाँडेका कुरा बेग्लै छन् । उनले भने नेपाली फुटबलमा संस्थागत व्यवस्था र व्यवसायिकताका लागि परिवर्तन पक्षधरलाई सहयोग गरे नि नयाँ कार्यसमितिले परिवर्तनका लागि काम गरेको आभाष दिन नसकेकाले राजीनामा दिएको बताएका छन् । उनले २०७६ जेठ २७ गते एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको राजीनामा पत्रमा ‘तपाईहरू सबैलाई नजिकबाट चिन्न पाएँँ’ भनी लेखेका छन् । 

 


उनले एन्फाका पदाधिकारीहरूलाई नजिकबाट चिनें भनेर ब्यङ्ग्य कसे पनि उनलाई भने दुनियाँले चिन्न पाएको छ । नेपाली फुटबल र नेपाललाई मायाँ गर्ने मान्छेले जर्मनी त्यागेर नेपाल आउने हिम्मत गरेको भएपनि त हुने नि । एन्फाका एक सदस्यले साँघु प्रतिनिधिसंग अलि आक्रोशमा भने, ‘जो नेपाली नै हैन उसलाई अहिलेको चेन्ज एन्फाले बोक्ने नीति छैन । केही समय सम्मान गरी हेरौं भनेर मान दिन खोजिएको थियो । 

 


त्यो मानको दुरुपयोग भएको छ । एक दुई वटा पत्रिकामा बद्नाम गर्न खोजिदैमा अहिलेको कार्यसमिति बद्नाम हुँदैन । हामीले राम्रो काम गर्न खोजिरहेका छौं । एकैपटक सबै राम्रो हुन्छ भनेर सोच्नु हुँदैन ।’

 


पाँडेले शेर्पाको नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबमा पनि सहयोग गरेको साइनो जोडेर अहिलेको एन्फा नेतृत्वलाई बद्नाम गर्न खोजेको आरोप छ । हिमालयन शेर्पा क्लबका एक सदस्यले नाम नछाप्ने सर्तमा भने, ‘आउनुस् हाम्रो हरहिसाब र काम कार्वाही हेर्नुस् नवीन पाण्डेको सहयोग कतै देख्नु हुनेछैन । क्लबलाई नै बद्नाम गर्न खोज्नु हामीजस्ता सहयोगी हातहरूको बद्नाम गर्नु हो । क्लब हामीले नै चलाएका छौं । कसैको सहयोग छैन ।’

प्रतिकृया दिनुहोस