• बिहीबार-चैत-१५-२०८०

बाबुराम भट्टराईद्वारा प्रतिनिधिसभा बैठक अवरोधको  भ्रत्सना 


काठमाडौँ, ३ असार  : प्रतिनिधिसभाको २०७६ असार ३ गतेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए ।

 

काङ्ग्रेसले भने सभामुखलाई बिहानै 'आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको' भन्दै विरोध गरेको जनाएको छ । सोही विषयमा निरन्तर अवरोधपछि २०७६ असार ३ गतेको बैठक स्थगन गरिएको थियो ।  

 

    सो विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गरे  ।  

 

नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्न पाउनुपर्छ' भन्ने प्रतिक्रिया दिए   । “सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ”, नेपालले भने  ।

 

    प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ''आज बिहान सभामुखलाई जनताका समसामयिक आवाजका विषयमा प्रतिपक्षी दलका नेताले बोल्नुहुन्छ'' भनी समय उपलब्ध गराउन माग गरिए पनि समय नपाइएको बताए  । 

 

    “सभामुखले जबर्जस्ती प्रधानमन्त्रीलाई बोल्न समय दिनुभयो । हाम्रो दलका नेताले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्दा सुल्टो पनि हुन्थ्यो र उठेका जनआवाजका विषयका जिज्ञासा सम्बोधन पनि हुन्थे”, प्रमुख सचेतक खाँणले भने  । 


    सङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले भने संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे  ।  “प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वाेत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो”, उनले भने  ।  उनले सो घटनाको भत्र्सनासमेत गरे  । 
–––

प्रतिकृया दिनुहोस