• बिहीबार-चैत-१५-२०८०

पचास वर्ष नाघेका किसानलाई सरकारले गर्यो अन्याय  

तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता



डोटी, ३१ जेठ  : कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन्  । 

 

    डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गरेका हुन् । 

 

    राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताए  । उनले भने, “निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भयो, परिवार र पेट पाल्नकै लागि भए पनि तरकारी खेती शुरु गरेँ ।” उनको बारी अहिले मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ भएको छ । तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेको नेता पुनमगरले बताए  । 

 

    तरकारी खेतीबाट मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताउँदै उहाँले तरकारी खेती गरेर आठ जनाको परिवारलाई राम्रैसँग पाल्दै आएका छन्। 

 

    राजनीतिसँगसँगै आफ्नो उद्यम पनि गर्नुपर्ने बताउँदै नेता पुनमगरले भने, “जिन्दगीभरि अर्काकै लागि झोला बोकेर पेट पालिँदैन, मिहिनेत र परिश्रम पनि गर्नुपर्छ ।” रु एक लाख ऋण लिएर तरकारी खेतीको शुरुआत गरेका नेता पुनमगरले अहिले ऋण चुक्ता गरिसकेका छन्  ।

 

सरकारले दिने अनुदानको ऋणमा ५० वर्षभन्दा माथि उमेरकालाई नदिने भन्ने प्रावधानप्रति उनले खरो शब्दमा भने, “के ५० वर्षमाथिको व्यक्ति नेपाली नागरिक हो कि होइन, उसको भोट चल्छ कि चल्दैन, काम गर्छुभन्दा त पैसो देउ ।” उनको बारीमा अहिले तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । उनको बारीमा अहिले भिण्डी, काउली, बन्दागोभी, टमाटर, धनियाँ, आलु, मूला, काँक्रा, सिम्लालगायतका विभिन्न तरकारीले भरिभराउ भएको छ ।

 

दैनिकजसो बारीमा खटिँदासमेत बजारमा तरकारीको पूर्ति गर्न नसकिएको बताउँदै नेता पुनमगरले भने, “बजारमा तरकारीको निकै ठूलो माग छ, जति भए पनि आपूर्ति गर्नै सकिँदैन ।” बाथ, चर्म, हर्नियालगायतका रोगले पीडित भएका नेता पुनमगर भन्छन, “म रोगी बुढोले त मिहिनेत गरेर पैसा कमाउन सकेको छु भने स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्,मिहिनेत गर्नुहोस् घरैमा सुन फल्छ, विदेश जानु पर्दैन् ।” दीपायलमा पानी अभावका कारण बारीमा लगाएको तरकारी सुक्ने र कुहिने गरेको उनको गुनासो छ । 
–––

प्रतिकृया दिनुहोस