• शुक्रबार-बैशाख-७-२०८१

बेलायत घुमाउने दाता पक्राउ पर्दा 

पत्रकार सिग्देल र बिष्ट जिल्लिए  


काठमाडौं । नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल र पत्रकार महासंघका महासचिव रमेश बिष्टसँगै बेलायतबाट नेपाल आउने क्रममा एनआरएन युकेका उपमहासचिव तथा ट्वान्टीफोर न्यूज प्रेस डटकमका प्रकाशक विनय अधिकारी दुवईमा पक्राउ परेको खबर छ । अधिकारीले नै सिग्देल, बिष्ट सहितका पत्रकार नेताहरूलाई अनलाइन उद्घाटनका लागि लण्डनमा बोलाएका थिए । लण्डनबाट फर्किने क्रममा मे ३० ( २०७६जेठ १६)मा उनी दुवई अध्यागमनले अधिकारीलाई पक्राउ गरेको थियो । अधिकारीलाई पक्राउ गर्ने क्रममा उनीसँगै आएका सिग्देल र बिष्टलाई पनि केहीबेर दुवई प्रहरीको सोधपुछ गरेको थियो । र, उनीहरूलाई छाडिदिएको थियो । 

 


अधिकारी १० बर्षअघि दुवईमा रोजगारीका क्रममा गएको र त्यसक्रममा उनले बैंकिङ कसुर वा ठगी गरेकाले उनी अध्यागमनमा देखिएको रेकर्डका आधारमा पक्राउ परेका थिए । यसअघि जहिले पनि अरु देशमै ट्रान्जिट पार्ने अधिकारी १० बर्ष भइसकेकाले पहिलाको केसको रेकर्ड नहुने ठानेर दुवई हुँदैआउँदा पक्राउ परेको बताइएको छ । 

 


सिग्देल, बिष्टसहितका सबै दुवई हुँदैआउने भनेपछि उनी पनि आए । तर १० बर्षअघि गरेको गल्तीका कारण उनी प्रहरीको फन्दामा परेका छन् । युएईलगायतका देशमा नेपालीहरू रोजगारीका लागि जाने गरेका छन् । ती देशमा रोजगारीका लागि जाने वा घुम्न वा ब्यवसाय गर्न जाने विदेशी नागरिकले कुनै अपराध गरेमा त्यो देशको अध्यागमनको रेकर्डका आधारमा पक्राउ पर्ने गर्दछन् । धादिङ घर भएका अधिकारी कुनै बेला दुवईमा रोजगारीमा गएको बेला गरेको गल्तीका कारण बेलायतबाट फर्किने क्रममा पक्राउ परेको स्रोत बताउछ ।

 

उनी पक्राउ परेको कुरा निकै दिनसम्म गुपचुप रह्यो । सिग्देल र बिष्ट नेपालमा पुगेर फोटो सार्वजनिक गर्दा पनि विनय अधिकारीको उपस्थिति नदेखेपछि खोजीनीति सुरु गर्न थालियो । युकेबाट नेपाल आएका उनका बारेमा लण्डनबाटै चासो प्रकट गर्न थालियो । जहाँ गए पनि फेसबुकमा फोटो हालिहाल्ने उनी एकाएक गायब भएपछि युकेका उनका साथीभाइ र परिवारले खोजीनीति सुरु गरेका थिए ।

 

खोजीनीति गर्ने क्रममा अध्यक्ष सिग्देलसँग सम्पर्क गर्दा उनले पक्राउ परेको कुरा सीधै नभनी दुवईको विमानस्थलबाट बाहिर निस्किएको तर जहाज छुट्न लाग्दा पनि नआएको जवाफ दिएका थिए । उनीसँगै आएका सिग्देल र बिष्टले १० दिनसम्म लुकाएर राखे पनि अन्ततः उनी पक्राउ परेको कुरा युकेको एनआरएन नेतृत्व तहले थाहा पायो । एनआरएनका उपाध्यक्ष कुल आचार्यले दुवई एनआरनको नेतृत्वसँग बुझेपछि अधिकारी पक्राउ परेको पुष्टि भएको थियो ।

 

अहिले पनि सिग्देल र बिष्ट आफूलाई बेलायतमा बोलाउने, आतिथ्यता प्रकट गर्ने अधिकारी पक्राउ परेको कुरा सार्वजनिक नहोस् र आफ्नो बेइज्जती नहोस् भनेर लागिरहेका छन् । सिग्देल र बिष्ट डेढ महिनाअघि पनि अधिकारीकै निम्तोमा बेलायत घुम्न गएका थिए । अधिकारी युकेको एनआरएन उपमहासचिव हुन् । र, अब हुने एनआरएन ग्लोबलको केन्द्रीय सदस्यको उम्मेदवारी लिने तयारीमा थिए । 

 


डेढ महिनाको बीचमा दुईपटक बेलायत घुमाउने र प्रेस युनियन अध्यक्ष उम्मेदवार पुनः बन्नका लागि ४० लाख रुपैयाँसम्म चन्दाको जोहो बेलायतमा गरिदिने आश्वासन दिएका अधिकारी पक्राउ परेपछि जिल्लिएका छन् । निकट मित्र पक्राउ पर्दा उनका परिवारलाई जानकारी नदिनुलाई सिग्देलको कृतघ्नताका रुपमा युकेको एनआरएन र उनको परिवारजनले लिएको स्रोतले बतायो । स्रोतका अनुसार दुवईमा पक्राउ परेका अधिकारीका परिवारलाई सामान्य सहानुभूतिसम्म सिग्देल र बिष्टले दिएनन् । विनय अधिकारी हाल दुवई प्रहरीको कष्टडीमा रहेको स्रोत बताउछ ।  
 

प्रतिकृया दिनुहोस